२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

बबईको पानी तुलसीपुर पुग्न अझै ६ महिना लाग्ने

दाङ, जेठ ९  दाङको तुलसीपुरमा दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने उद्देश्यसहित अघि बढाइएको बबई नदी लिफ्टिङ आयोजना निर्धारित समयमै सम्पन्न हुन नसक्दा नगरवासीले अझै कम्तीमा छ महिना प्रतीक्षा गर्नुपर्ने भएको छ । तीन वर्षअघि सुरु गरिएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहलगानी आयोजना अन्तिम चरणमा पुगे पनि विद्युत् जडान, होम कनेक्सन तथा केही प्राविधिक काम बाँकी रहेकाले पानी वितरणमा ढिलाइ हुने भएको हो ।

संस्थाका अध्यक्ष यमकान्त भण्डारी का अनुसार निर्माणको पछिल्लो जिम्मा पाएको कम्पनीले निर्माण सामग्रीको मूल्य बढेको भन्दै केही समय काम रोकेपछि आयोजनामा ढिलाइ भएको हो । उनले निर्माण कम्पनीलाई काममा फर्काउन निरन्तर ताकेता भइरहेको र अब छिट्टै कामले गति लिने बताए । ५६ करोड ८० लाखभन्दा बढी लागतको उक्त आयोजनाअन्तर्गत बबई नदीबाट पानी लिफ्टिङ गरेर तुलसीपुर ल्याइनेछ । आयोजना सम्पन्न भएपछि प्रतिक्षण १०० लिटर पानी आपूर्ति गर्न सकिने संस्थाको दाबी छ । यसबाट नयाँ बसपार्क क्षेत्र, रानीजरुवा, तुलसीपुर उपमहानगरपालिका–६ का विभिन्न बस्ती लगायतका क्षेत्रमा खानेपानीको समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ ।

हालसम्म नयाँ पाइपलाइन विस्तार, विभिन्न स्थानमा एक दर्जनभन्दा बढी ट्यांकी निर्माण तथा पुराना पाइपलाइन मर्मतको काम सम्पन्न भइसकेको छ । तुलसीपुरमा निर्माणाधीन मुख्य भण्डारण ट्यांकीको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । यसैबीच, संस्थाले खानेपानीका मुहान संरक्षणमा पनि ध्यान केन्द्रित गरेको छ । उपाध्यक्ष नारायणप्रसाद शर्मा ले मुलकोट, राम्री, चिसापानी, घेरेनी, बाख्रे, छरछरे र पहरे क्षेत्रमा भइरहेको अनधिकृत उत्खनन रोक्न पहल भइरहेको बताए । उनका अनुसार रक्षाचौरस्थित ट्रिटमेन्ट प्लान्टमा पुरानो बालुवा र गिट्टी प्रतिस्थापन गरी पानी शुद्धीकरण प्रणालीलाई थप प्रभावकारी बनाइएको छ ।

सेडिमेन्टेसन प्रविधिमार्फत पानी प्रशोधन गरिने भएकाले वर्षायाममा देखिने धमिलो पानीको समस्या अब कम हुने संस्थाको विश्वास छ । पानीलाई ठूलो ट्यांकीमा स्थिर राखेर फोहोर कण तल थिग्रिने व्यवस्था गरिएको छ भने त्यसपछि मात्र सफा पानी अर्को चरणमा पठाइने गरिएको छ । संस्थाले करिब १०० वितरण च्याम्बरलाई सुरक्षित बनाइसकेको छ भने जिआइएस प्रविधि र मोबाइल एपमार्फत सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने तयारी पनि अघि बढाएको छ । आगामी दिनमा स्मार्ट मिटर जडान गरी पारदर्शी बिलिङ प्रणाली लागू गर्ने लक्ष्य संस्थाले लिएको छ ।

हाल संस्थाले करिब १२ हजार धारामार्फत ७५ हजारभन्दा बढी नागरिकलाई खानेपानी सेवा दिँदै आएको छ । तर अत्यधिक गर्मीका कारण खानेपानीका मुहान सुक्दै जाँदा तुलसीपुरका केही गाउँमा पानी वितरण प्रभावित भएको छ । कतिपय स्थानमा धारामा पानी आउन छाडेपछि संस्थाले ट्यांकरमार्फत निःशुल्क पानी वितरण गरिरहेको जनाएको छ । यसअघि चालु आर्थिक वर्षभित्रै आयोजना सम्पन्न गरी पानी वितरण सुरु गर्ने लक्ष्य राखिए पनि निर्माण ढिलाइले तुलसीपुरवासीको प्रतिक्षा अझै लम्बिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।