२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

राप्तीसोनारी–६ मा सिक्टा सिँचाइ आयोजनाको अनुगमन


राप्तीसोनारी, जेठ १०    राप्तीसोनारी गाउँपालिका–६ मा सिक्टा सिँचाइ आयोजनाअन्तर्गत रहेका शाखा तथा उपशाखा नहरहरूको अनुगमन गरिएको छ । सिँचाइ प्रणालीलाई अझ व्यवस्थित, दिगो र प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको अनुगमन गरिएको हो ।

सिक्टा सिँचाइ आयोजनाबाट यस क्षेत्रका किसानहरूले केही हदसम्म सिँचाइ सुविधा प्राप्त गर्दै आएका छन् । तर वर्षभरि पर्याप्त पानी उपलब्ध नहुँदा तथा नहर संरचनामा देखिने समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको अनुगमनका क्रममा औंल्याइएको छ । राप्तीसोनारी–६ का वडाध्यक्ष लवराज खरेलका अनुसार सिक्टाबाट आएको पानी सिजनमा मात्र उपलब्ध हुने गरेको छ भने अन्य समयमा कुलोहरू प्रायः सुख्खा हुने गरेका छन् । उनका अनुसार सुख्खा मौसममा नहर सुक्खा हुँदा मुसालगायतका जीवजन्तुले कुलो खोतल्ने र संरचना कमजोर बनाउने समस्या बढ्दै गएको छ, जसका कारण नहर भत्किने जोखिम पनि देखिएको छ ।

वडाध्यक्ष खरेलले अनुगमनका क्रममा निकास व्यवस्थापनलाई सुधार गरी पानीलाई राप्ती नदीमा व्यवस्थित रूपमा निकाल्ने विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार यदि निकासलाई व्यवस्थितरूपमा राप्ती नदीतर्फ मोड्न सकिएमा वर्षभरि नै कुलोमा पानी बगिरहने अवस्था सिर्जना हुन सक्छ । यसले सिँचाइ सुविधा निरन्तर रहने मात्र नभई नहर संरचना पनि मजबुत हुने अपेक्षा गरिएको छ ।

उनले भने, ‘सिक्टाको कुलो यहाँसम्म आउँछ, सिजनमा पानी आउँछ, अरु बेला कुलोहरू सुख्खा हुन्छन् । सुख्खा समयमा मुसाले खन्दा कुलो कमजोर भएर भत्किने समस्या छ । यदि निकासलाई व्यवस्थित रूपमा राप्ती नदीमा निकाल्न सकियो भने बाह्रै महिना कुलोमा पानी बग्ने र सिँचाइ सुविधा पनि निरन्तर हुने सम्भावना छ ।’ त्यसैगरी सिक्टा सिँचाइ आयोजनाका आयोजना निर्देशक राजु आचार्यले यस क्षेत्रका किसानहरू आयोजनाबाट लाभान्वित भइरहेका बताएका छन् । उनले सिँचाइ प्रणालीलाई थप प्रभावकारी बनाउनका लागि स्थानीयस्तरमै अनुगमन गरिएको र समस्या पहिचान गरी समाधानका उपायहरू खोजिएको जानकारी दिए ।

उनका अनुसार नहरको नियमित मर्मतसम्भार, संरचनागत सुधार र पानी वितरण प्रणालीलाई व्यवस्थित बनाउने विषयमा विशेष ध्यान दिइएको बताए । अनुगमन टोलीले नहरको वर्तमान अवस्था, पानी प्रवाहको स्थिति तथा समस्या देखिएका स्थानहरूको अवलोकन गरेको थियो । टोलीले आगामी दिनमा आवश्यक प्राविधिक सुधार र समन्वयमार्फत सिँचाइ प्रणालीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । स्थानीय किसानहरूले पनि सिँचाइ प्रणाली सुधार भए उत्पादन बढ्ने र खेतीपातीमा सहजता आउने अपेक्षा व्यक्त गरेका छन् । उनीहरूले दीर्घकालीन समाधानका लागि नियमित अनुगमन र प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।