कोहलपुर, जेठ १० बाँकेको कोहलपुर क्षेत्रमा मण्टेश्वरी शिक्षासम्बन्धी तालिम पूरा गरेका ३२ जना महिलालाई दीक्षित गरिएको छ । कोहलपुर क्षेत्रमा बसोबास गर्दै मण्टेश्वरी शिक्षातर्फ आकर्षित भएका ती महिलाहरूलाई तालिम अवधि पूरा भएपछि आइतबार आयोजित दिक्षान्त समारोहमा दीक्षित गरिएको हो ।
सिटिएफ नेपालले प्रशिक्षक तथा सहजकर्ता तयार गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको मण्टेश्वरीसम्बन्धी तालिमपछि सहभागी महिलाहरूलाई दीक्षित गर्दै आएको छ । कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाअन्तर्गतको शिक्षा शाखा प्रमुख रविलाल मिजारले तालिमले व्यक्तिमा नयाँ सीप, ज्ञान र उर्जा विकास गर्ने भएकाले यसको महत्त्वपुर्ण भूमिका रहने बताए । उनले दीक्षित भएका महिला सहजकर्ताहरूलाई शुभकामना दिँदै जिम्मेवारी निर्वाह गर्दा कर्तव्यप्रति सचेत रहन आग्रह गरे ।
उनले मण्टेश्वरी शिक्षा बालबालिकाको आधारभूत शिक्षाको जग निर्माण गर्ने भएकाले यस क्षेत्रमा अझै थप ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा अधिकृत डिल्ली आचार्यको उपस्थिति थियो ।
कार्यक्रम सिटिएफ नेपालका व्यवस्थापक अशोक सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो भने सहभागी तथा सिटिएफका सहकर्मीहरूले स्वागत गीत प्रस्तुत गरेका थिए । प्रशिक्षक हिरा केसीले सहभागीहरूलाई स्वागत गरेकी थिइन् ।















