यसअघि भारतीय बजारबाट सस्तो मूल्यमा आउने तरकारीका कारण स्थानीय किसानले उत्पादन गरेको तरकारी बिक्री गर्न समस्या हुने गरेको थियो । लागतअनुसार मूल्य नपाउँदा धेरै किसान खेतीबाट निराशसमेत बन्दै गएका थिए । तर पछिल्लो समय नाकामा निगरानी बढाइएपछि स्थानीय उत्पादनको माग बढेको किसानहरू बताउँछन् ।
कोहलपुर, जेठ ११ भारतबाट अवैधरूपमा भित्रिने तरकारीमा भन्सार कार्यालय र सुरक्षा निकायले कडाइ गर्न थालेपछि बाँकेका स्थानीय कृषकले उत्पादन गरेको तरकारीले बजार र उचित मूल्य पाउन थालेको छ । यसले किसान उत्साहित बनेका छन् भने उपभोक्ताले पनि ताजा तथा अर्गानिक तरकारी उपभोग गर्न पाएका छन् ।यसअघि भारतीय बजारबाट सस्तो मूल्यमा आउने तरकारीका कारण स्थानीय किसानले उत्पादन गरेको तरकारी बिक्री गर्न समस्या हुने गरेको थियो । लागतअनुसार मूल्य नपाउँदा धेरै किसान खेतीबाट निराशसमेत बन्दै गएका थिए । तर पछिल्लो समय नाकामा निगरानी बढाइएपछि स्थानीय उत्पादनको माग बढेको किसानहरू बताउँछन् । राप्तीसोनारी गाउँपालिका–३ का किसान रामलखन थारुले यस वर्ष आफूले उत्पादन गरेको भिन्डी, करेला, लौका र बोडी सहजै बिक्री भएको बताए । ‘पहिला भारतीय तरकारी सस्तोमा आउँदा हाम्रो तरकारी खेतमै कुहिन्थ्यो । अहिले व्यापारी आफैं खेतसम्म आउन थालेका छन्,’ उनले भने, ‘लागतभन्दा राम्रो मूल्य पाइएकाले मेहनतको फल मिलेको महसुस भएको छ ।’
खजुरा गाउँपालिकाका कृषक माया चौधरीले पनि स्थानीय उत्पादनप्रति उपभोक्ताको विश्वास बढेको बताइन् । ‘हामीले विषादी कम प्रयोग गरेर तरकारी उत्पादन गर्छौं । अहिले बजारमा हाम्रो तरकारी खोजी–खोजी किन्ने ग्राहक बढेका छन्,’ उनले भनिन् । नेपालगन्जको तरकारी बजारमा अहिले स्थानीय काँक्रो, टमाटर, बोडी, करेला, घिरौंला, भिन्डी लगायतका तरकारीको आपूर्ति बढेको व्यापारीहरू बताउँछन् । स्थानीय उत्पादन भएकाले तरकारी ताजा हुने र स्वाद पनि फरक हुने उपभोक्ताको अनुभव छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१८ की गृहिणी सरिता शर्मा स्थानीय तरकारीप्रति आकर्षण बढेको बताउँछिन् । ‘पहिला बजारमा कुन तरकारी कहाँको हो भन्ने थाहा हुँदैनथ्यो । अहिले स्थानीय किसानले ल्याएको ताजा तरकारी पाइन्छ,’ उनले भनिन्, ‘स्वाद पनि राम्रो हुन्छ र स्वास्थ्यका हिसाबले पनि सुरक्षित लाग्छ ।’ अर्का उपभोक्ता दीपक वलीले भारतीय तरकारीको तुलनामा स्थानीय उत्पादन केही महँगो भए पनि गुणस्तरीय भएकाले किन्ने गरेको बताए । ‘ताजा र अर्गानिक तरकारी खान पाइरहेका छौं । किसानले पनि फाइदा पाइरहेका छन् भने हामीले राम्रो खानेकुरा पाएका छौं,’ उनले भने ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा व्यावसायिक तरकारी खेती गर्ने किसानको संख्या पछिल्लो समय बढ्दै गएको छ । स्थानीय उत्पादनले बजार पाएपछि युवाहरू समेत कृषि पेशातर्फ आकर्षित हुन थालेका छन् । कृषि विज्ञहरूका अनुसार सीमामा कडाइसँगै स्थानीय उत्पादनको संरक्षण, बजार व्यवस्थापन र किसानलाई प्रोत्साहन गर्ने नीति निरन्तर भए कृषिमा आत्मनिर्भर बन्न सहयोग पुग्नेछ । उनीहरूले स्थानीय तहले किसानलाई बीउ, सिँचाइ, मल तथा बजारीकरणमा थप सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । भन्सार कडाइको प्रभावले अहिले किसान र उपभोक्ता दुवै लाभान्वित बनेका छन् । स्थानीय उत्पादनले बजार पाउँदा किसानमा उत्साह थपिएको छ भने उपभोक्ताले स्वस्थ र ताजा तरकारी खान पाएका छन् ।















