२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

बर्दियामा बाघ जोगाउन आहाराको अवस्था बुझिँदै

बर्दिया, जेठ २०  बाघ संरक्षणलाई अझ प्रभावकारी र दिगो बनाउने उद्देश्यले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघका प्रमुख आहारा प्रजातिका वन्यजन्तुको गणना सुरु गरिएको छ । बाघको संख्या मात्र होइन, उसले खाने जनावरको उपलब्धता पनि संरक्षणको महŒवपूर्ण आधार भएकाले निकुञ्जले आहारा प्रजातिको अवस्था अध्ययन गर्न विशेष अभियान थालेको हो ।

निकुञ्ज क्षेत्रमा चितल, बारसिंगा, जरायो, बदेललगायत बाघका प्रमुख आहारा प्रजातिको संख्या, वितरण र अवस्थाबारे तथ्यांक संकलन भइरहेको छ । प्राप्त तथ्यांकले आगामी दिनमा बाघ संरक्षणसम्बन्धी योजना निर्माण तथा व्यवस्थापनमा महŒवपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्बा हाम्फेले बाघको दीर्घकालीन संरक्षणका लागि पर्याप्त आहारा प्रजातिको उपलब्धता अनिवार्य हुने भएकाले गणना कार्य सुरु गरिएको जानकारी दिए । उनका अनुसार बाघको बासस्थान सुरक्षित भए पनि आहारा अभाव भए संरक्षण प्रयास प्रभावकारी हुन सक्दैन ।

संरक्षणविद्हरूका अनुसार एउटा वयस्क बाघलाई नियमित रूपमा पर्याप्त मात्रामा मासु आवश्यक पर्ने भएकाले वन क्षेत्रमा आहारा प्रजातिको घनत्व उच्च रहनु आवश्यक छ । यही कारण बाघको अवस्थासँगै उसले खाने जनावरको अवस्थालाई पनि संरक्षण कार्यक्रमको महŒवपूर्ण सूचकका रूपमा हेरिन्छ । नेपालमा सन् २०२२ मा गरिएको अध्ययनले बाघका लागि आवश्यक आहारा प्रजातिको उपलब्धता सन्तोषजनक रहेको देखाएको थियो । उक्त अध्ययनअनुसार एक वर्ग किलोमिटर क्षेत्रमा औसत ९० वटा आहारा प्रजातिका वन्यजन्तु भेटिएका थिए । यसले नेपालका संरक्षित क्षेत्रहरूमा बाघ संरक्षणका लागि अपेक्षाकृत अनुकूल वातावरण रहेको संकेत गरेको थियो ।

हाल बर्दियामा भइरहेको गणनामा बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा चोरी–सिकारी नियन्त्रणमा सक्रिय युवा परिचालन समूहको संयुक्त सहभागिता रहेको छ । गणना कार्यका लागि पाँच वटा हात्ती, चार वटा मोटरसाइकल र ३१ जना जनशक्ति परिचालन गरिएको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज नेपालमा बाघ संरक्षणका दृष्टिले महŒवपूर्ण क्षेत्र मानिन्छ । यहाँ प्रत्येक चार वर्षमा बाघ गणना गरिने परम्परा छ । सन् २०२२ मा सम्पन्न राष्ट्रिय बाघ गणनाले बर्दियामा १२५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक गरेको थियो, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो ।

संरक्षणकर्मीहरूका अनुसार बाघका लागि पर्याप्त आहारा उपलब्ध हुँदा बाघको प्रजनन दर बढ्ने, नयाँ क्षेत्र विस्तार हुने तथा मानव–वन्यजन्तु द्वन्द्वसमेत न्यूनीकरण गर्न सहयोग पुग्छ । साथै शीर्ष शिकारीका रूपमा रहेको बाघको संरक्षणले सम्पूर्ण वन पारिस्थितिकीय प्रणालीलाई सन्तुलित राख्न भूमिका खेल्ने विश्वास गरिएको छ । निकुञ्ज प्रशासनले आहारा प्रजातिको गणनाबाट प्राप्त नतिजाले बाघ संरक्षणका आगामी कार्यक्रम, वन व्यवस्थापन रणनीति तथा जैविक विविधता संरक्षणका योजनालाई थप वैज्ञानिक र प्रभावकारी बनाउन आधार प्रदान गर्ने जनाएको छ । बर्दियामा सुरु भएको यो अभियानलाई बाघ संरक्षणको अर्को महŒवपूर्ण कडीका रूपमा हेरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।