सुर्खेत, साउन १० — कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि औपचारिक प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुखको कार्यालयले संविधानको व्यवस्था अनुसार मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेको छ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई साउन १२ गते साँझ ५ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखका सचिव हिरालाल चौधरीले आइतबार उक्त आह्वान जारी भएको जानकारी दिनुभयो।
यससँगै शनिबार मुख्यमन्त्री यामलाल कँडेलले बुझाएको राजीनामा पनि प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ। कँडेलले आफूविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि पदबाट राजीनामा दिनुभएको थियो।
गत असार ३२ गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि प्रदेश सरकार अल्पमतमा परेको निष्कर्षसहित नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।

कँडेल पहिलोपटक २०८० चैत २७ गते नेकपा एमाले र तत्कालीन गठबन्धनको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो। त्यसपछि केन्द्रको राजनीतिक समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेसको समर्थनमा आधाआधा कार्यकालको सहमतिअनुसार २०८१ साउन २१ गते दोस्रोपटक विश्वासको मत प्राप्त गरी मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो।
अब मंगलबार साँझसम्म बहुमतको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यले दाबी पेस गरेपछि प्रदेश प्रमुखले संविधानबमोजिम नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन्।














