हेटौंडा। मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङ माझगाउँमा पाँच सय वर्ष पुरानो कार्तिके नाच सुरु भएको छ। स्थानीय मौलिक संस्कृति र सामुदायिक पहिचानसँग जोडिएको नाचमा यस वर्ष कृष्ण, अनिरुद्ध, उषा, चित्रलेखा र वाणासुरसँग सम्बन्धित पौराणिक कथालाई नाटकीय रूपमा प्रस्तुत गरिएको छ।
कोजाग्रत पूर्णिमाको भोलिपल्ट सोमबार रातिदेखि सुरु भएको कार्तिके नाच लगातार तीन दिनसम्म सञ्चालन हुनेछ। माझगाउँको ऐतिहासिक डबलीमा प्रदर्शन भइरहेको नाच हेर्न स्थानीयवासीको सहभागिता रहेको छ।
नाच सुरु हुनुअघि आइतबार राति गाउँमा रहेको ऐतिहासिक अशोक चैत्यअगाडि देवताका रथ बोकेर जात्राको सुरुवात गरिएको थियो। परम्परागत विधिअनुसार रथयात्रा निकालेपछि सोमबार रातिदेखि डबलीमा कार्तिके नाच प्रदर्शन थालिएको हो।
चित्लाङका बलामी समुदायसहित स्थानीय समुदायले वर्षभरि विभिन्न पर्व, जात्रा र सांस्कृतिक परम्परा मनाउँदै आएका छन्। तीमध्ये कार्तिके नाच र स्वच्छन्द भैरवनाथको जात्रालाई यहाँका प्रमुख सांस्कृतिक पर्वका रूपमा लिइन्छ।

करिब पाँच सय वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको कार्तिके नाच चित्लाङको ऐतिहासिक र सांस्कृतिक सम्पदाका रूपमा परिचित छ। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यस परम्पराले स्थानीय समुदायको मौलिक पहिचान जोगाउनुका साथै नयाँ पुस्तालाई पुराना सांस्कृतिक मान्यता र पौराणिक कथासँग जोड्दै आएको छ।

















