कोहलपुर, माघ १६ नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई निर्वाचित गराउने उद्देश्यसहित निर्वाचन परिचालन समिति गठन गरेको छ । प्रदेशभर एकीकृत र प्रभावकारी चुनावी रणनीति लागू गर्ने लक्ष्यका साथ कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको नेतृत्वमा उक्त समिति निर्माण गरिएको हो ।
निर्वाचन परिचालन समितिले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका २६ निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुको पक्षमा सकारात्मक चुनावी माहोल सिर्जना गर्ने जिम्मेवारी पाएको छ । समितिले प्रत्येक निर्वाचन क्षेत्रमा पार्टीको संगठनात्मक अवस्था, जनमतको प्रवृत्ति, स्थानीय मुद्दा र प्रतिस्पर्धी दलको गतिविधिबारे जानकारी संकलन गर्ने तथा आवश्यक समन्वय गरेर जनसमर्थन विस्तार गर्ने कार्य गर्ने जनाइएको छ ।
खनाल नेतृत्वको समितिले जिल्लास्तरका पार्टी संरचना, भ्रातृ संगठन, शुभेच्छुक संस्था तथा स्थानीय नेताहरुसँग समन्वय गर्दै चुनावी अभियानलाई थप सशक्त बनाउने रणनीति बनाएको छ । घरदैलो, कोणसभा, आमसभा तथा मतदाता लक्षित कार्यक्रममार्फत कांग्रेसको नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा जनमत निर्माण गर्ने समितिको लक्ष्य रहेको छ ।
निर्वाचन परिचालन समिति गठनसम्बन्धी निर्णय नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा बाँकेको कोहलपुरमा सम्पन्न प्रदेश समिति बैठकबाट गरिएको हो । बैठकमा सभापति पुनले प्रदेशका १२ जिल्लाका सबै २६ निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुको जित सुनिश्चित हुने गरी संगठन र अभियानलाई परिचालन गर्न निर्देशन दिएका थिए ।

सभापति पुनले कांग्रेस लोकतान्त्रिक मूल्य, संविधानको रक्षा र जनताको हितमा निरन्तर उभिँदै आएको पार्टी भएको उल्लेख गर्दै आगामी निर्वाचनमा जनताले कांग्रेसलाई विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले पार्टीका सबै नेता–कार्यकर्ता अनुशासित र एकताबद्ध भएर मैदानमा उत्रिनुपर्ने बताए ।
बैठकमा सहभागी नेताहरुले निर्वाचन परिचालन समितिको भूमिकाले प्रदेशभर कांग्रेसको चुनावी अभियानलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरेका छन् । उनीहरुले स्थानीय तहदेखि प्रदेश र संघीय तहसम्म पार्टीको संगठन मजबुत बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद बढाउने आवश्यकता औंल्याएका छन् ।कांग्रेस लुम्बिनी प्रदेशले निर्वाचनलाई लक्षित गर्दै आगामी दिनमा थप कार्यक्रम र अभियान सार्वजनिक गर्ने तयारी गरेको छ । पार्टी नेतृत्वले जनताको विश्वास जित्दै लोकतान्त्रिक शक्तिको रूपमा कांग्रेसलाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।














