२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

खखडेहरा पर्व हर्षोल्लासका साथ मनाइयो

राना थारू समुदायका अगुवाहरूका अनुसार यो पर्वले समुदायको एकता, संस्कार र परम्परालाई बलियो बनाउने काम गर्दै आएको छ । सदियौँदेखि निरन्तर रूपमा मनाइँदै आएको खखडेहरा पर्वले राना थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनलाई आजसम्म जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ छ ।

कञ्चनपुर, फागुन २७  सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने राना थारू समुदायले परम्परागत ‘खखडेहरा पर्व’ मंगलबार हर्षोल्लासका साथ मनाएका छन् । यो पर्वसँगै राना थारू समुदायमा झन्डै एक महिनासम्म मनाइने होली पर्व औपचारिक रूपमा समाप्त भएको छ । राना थारू समुदायमा होली केवल रङ खेल्ने पर्व मात्र होइन, सामाजिक, धार्मिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको उत्सवका रूपमा मनाइन्छ । समुदायका लागि वर्षको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाडका रूपमा लिइने यो पर्वले सामूहिक एकता, सांस्कृतिक निरन्तरता र धार्मिक आस्थालाई बलियो बनाउने विश्वास गरिन्छ ।

राना थारू समुदायमा माघ शुक्ल पूर्णिमाका दिनदेखि होली पर्व सुरु हुन्छ । त्यस दिन गाउँमा ‘होरी’ राखेर पर्वको शुरुआत गरिन्छ । त्यसपछि करिब एक महिनासम्म रातको समयमा मात्र होली खेल्ने चलन छ । यस अवधिलाई समुदायमा ‘जिउँदो होली’ भनेर चिनिन्छ । जिउँदो होलीका दिनहरूमा गाउँका महिला तथा पुरुष रातभरि भेला भएर पारम्परिक होली गीत गाउने, नाचगान गर्ने र धार्मिक कथाहरू गीतमार्फत प्रस्तुत गर्ने गर्छन् । यसले समुदायमा मनोरञ्जनका साथै धार्मिक आस्था र सांस्कृतिक चेतनालाई पनि सुदृढ बनाउने विश्वास गरिएको छ ।

फागुन पूर्णिमाका दिन गाउँको दक्षिणपूर्व दिशामा स्थापना गरिएको होलिकालाई विधिपूर्वक दहन गरिन्छ । होलिका दहनपछि अर्को दिनलाई ‘टीका’ भनिन्छ । यस दिन गाउँका सबैले होली जलेपछि बाँकी रहेको खरानीको टीका लगाउने चलन छ । समुदायमा रहेको विश्वासअनुसार होलीको खरानीको टीका लगाउँदा रोगव्याधि नलाग्ने, स्वास्थ्य राम्रो हुने तथा दीर्घायु प्राप्त हुने मान्यता छ ।

टीकाको दिनदेखि आठ दिनसम्म ‘मरी होरी’ अर्थात् ‘मरेको होली’ खेल्ने चलन छ । यस अवधिमा दिन र रात दुवै समयमा होली खेलिन्छ । मरेको होलीको आठौँ दिनमा खखडेहरा पर्व मनाइन्छ जसलाई होलीको औपचारिक समापनका रूपमा लिइन्छ । खखडेहरा पर्वका दिन बिहानैदेखि गाउँमा विशेष तयारी सुरु हुन्छ । गाउँका अगुवा, भलमन्सा, चाकर तथा अन्य जिम्मेवार व्यक्तिहरूले घरघरमा पुगेर पूजा सामग्री सङ्कलन गर्छन् । पूजा सामग्रीका रूपमा सात प्रकारका अन्न, माटोका भाँडाकुँडा, खप्टाका टुक्रा, गाग्रो, लोटा, सुकेको गोबरबाट बनाइने कन्डी, दियो, माटोको घोडाको मूर्ति तथा शुद्ध पानी संकलन गरिन्छ । यी सामग्रीलाई सामूहिक रूपमा ‘सत्ना’ भनिन्छ ।
सङ्कलित सामग्रीलाई गाउँको चौबाटो वा निश्चित स्थानमा लगेर परम्परागत विधिअनुसार पूजा गरिन्छ । पूजा सम्पन्न भएपछि माटोका भाँडाकुँडा, घोडाको मूर्ति, दियोलगायत सामग्री फुटाउने चलन छ । यसलाई गाउँबाट नकारात्मक शक्ति हटाउने प्रतीकात्मक संस्कारका रूपमा लिइन्छ ।

खखडेहरा फुटाइसकेपछि सहभागीहरू गाउँ फर्किन्छन् । फर्किने क्रममा पछाडि फर्केर हेर्नु हुँदैन भन्ने विश्वास पनि समुदायमा प्रचलित छ । यदि कसैले पछाडि फर्केर हेरेमा अनिष्ट निम्तिन सक्ने मान्यता रहेको स्थानीय बूढापाकाहरू बताउँछन् । पर्वको अर्को महŒवपूर्ण पक्ष ‘फगुवा’ माग्ने चलन हो । पूजा सम्पन्न भएपछि गाउँका युवा तथा अगुवाहरू घरघरमा पुगेर फगुवा माग्छन् । फगुवाका रूपमा घरधनीले नगद रकम, अन्न वा अन्य सामग्री दिने गर्छन् । यसरी सङ्कलित सामग्रीबाट सामूहिक भोज, नाचगान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ ।

साँझपख गाउँमा उत्सवमय वातावरण देखिन्छ । महिला र पुरुष दुवै पारम्परिक पहिरन र शृंगारमा सजिएर होली खेल्ने, गीत गाउने र नृत्य गर्ने गर्छन् । समुदायमा रहेको विश्वासअनुसार खखडेहरा पर्वमा गरिने पूजा तथा अनुष्ठानले अन्नबाली राम्रो हुने, रोगव्याधि हट्ने र गाउँमा समृद्धि आउने विश्वास गरिएको छ । राना थारू समुदायका अगुवाहरूका अनुसार यो पर्वले समुदायको एकता, संस्कार र परम्परालाई बलियो बनाउने काम गर्दै आएको छ । सदियौँदेखि निरन्तर रूपमा मनाइँदै आएको खखडेहरा पर्वले राना थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनलाई आजसम्म जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ छ ।
खखडेहरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा पनि दिएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।