२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

कर्णालीमाथिको पुलले बदलेको बिहान

कालीकोट, फागुन २८  बिहानको चिसो हावा कर्णाली नदीको किनारमा बिस्तारै फैलिएको हुन्छ । नदीमाथि तन्किएको झोलुंगे पुल हल्का हावासँगै बिस्तारै हल्लिरहेको देखिन्छ । यही पुलमाथि हिँड्दै केही बालबालिका हातमा कापीकिताब बोकेर विद्यालयतिर लागिरहेका छन् । उनीहरूका पछिपछि दूधका भाँडा बोकेका किसान पनि बजारतर्फ जाँदै गरेका देखिन्छन् । केही समयअघिसम्म यही नदी पार गर्न घण्टौँ घुमाउरो बाटो हिँड्नुपर्ने स्थानीय अहिले भने केही मिनेटमै गन्तव्यमा पुगिरहेका छन् । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ रेगिल र खाँडाचक्र नगरपालिका–३ रास्कोट जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुल निर्माण भएपछि यहाँका बासिन्दाको जीवनशैलीमा उल्लेखनीय परिवर्तन आएको छ । वर्षौँदेखि कठिनाइ भोग्दै आएका स्थानीय अहिले पुलका कारण सहज आवतजावतको अनुभव गरिरहेका छन् ।

खाँडाचक्र नगरपालिका–३ ताडी आसपासका बासिन्दाको मुख्य पेशा पशुपालन हो । रास्कोट क्षेत्र घाँसका लागि निकै उपयुक्त भएकाले यहाँका धेरै किसानले त्यहाँ गोठ बनाएर भैँसी र अन्य चौपाया पाल्दै आएका छन् । तर कर्णाली नदीबीच पुल नहुँदा त्यहाँ पुग्न र उत्पादन बजारसम्म पुर्‍याउन निकै कठिन हुन्थ्यो । स्थानीय मनिराज पाण्डेका अनुसार पहिले यो क्षेत्र बाक्लो बस्ती भएको ठाउँ थियो । समयसँगै सडक विस्तार र बसाइँसराइका कारण धेरै परिवार अन्यत्र सरे, जसले गर्दा बस्ती पातलो बन्दै गयो । त्यसपछि पनि पशुपालन गर्ने किसानका लागि रास्कोट क्षेत्र उत्तिकै महŒवपूर्ण रह्यो । उनले भने, ‘रास्कोटमा घाँस प्रशस्त पाइन्छ, त्यसैले धेरैले त्यहाँ गोठ बनाएका छन् । तर पुल नहुँदा आउजाउ गर्न निकै गाह्रो हुन्थ्यो । अहिले पुल बनेपछि यहाँका किसानलाई धेरै सजिलो भएको छ ।’

झोलुंगे पुल निर्माण भएपछि रास्कोट, बाढीच्युरा, लामाखर्क, सिम, धनाडी र कुना लगायतका बस्तीका करिब ३० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । यी बस्तीका अधिकांश परिवार कृषि र पशुपालनमा निर्भर छन् । पुल बनेपछि उनीहरूको दैनिक कामकाज सहज बनेको छ । विशेषगरी दूध उत्पादन गर्ने किसानलाई यसको ठूलो फाइदा पुगेको छ । स्थानीय माधवप्रसाद पाण्डेका अनुसार पहिले दूध बिक्री गर्न बजार पुग्न झण्डै दुई घण्टा पैदल हिँड्नुपर्थ्यो । घुमाउरो बाटो हुँदै नदी पार गरेर बजार पुग्दा निकै समय लाग्थ्यो ।

अहिले भने पुल बनेपछि त्यो समस्या हटेको छ । उनी भन्छन्, ‘पहिले दूध लिएर बजार पुग्न निकै समय लाग्थ्यो । अहिले घरबाट निस्किएको १०–१५ मिनेटमै रेगिल पुग्न सकिन्छ ।’ रेगिल क्षेत्र नजिकै निर्माण भइरहेको फुकोट कर्णाली अर्धजलाशययुक्त आयोजना क्षेत्रमा कार्यरत कर्मचारी र मजदुरका लागि पनि यही दूध पुर्‍याउने गरिएको छ । यसले स्थानीय किसानको आम्दानीमा समेत सकारात्मक प्रभाव पारेको छ ।

पुलको अर्को महŒवपूर्ण प्रभाव विद्यार्थीको जीवनमा देखिएको छ । सान्नी त्रिवेणी गाउँपालिका–१ स्थित शंकर माध्यमिक विद्यालयमा अध्ययन गर्ने रास्कोट, लामाखर्क, सिम र धनाडीका बालबालिकालाई विद्यालय जान अहिले निकै सहज भएको छ । पहिले उनीहरूलाई विद्यालय पुग्न लामो दूरी हिँड्नुपर्ने र नदी पार गर्दा जोखिमसमेत हुने गर्थ्यो । अहिले भने विद्यार्थीहरू यही पुल प्रयोग गरेर सजिलै विद्यालय आउजाउ गरिरहेका छन् ।

विद्यालय जाँदा वा फर्कँदा केही बालबालिकाले दूध बजारसम्म पुर्‍याउने काम पनि सँगसँगै गरिरहेका छन् । यसले उनीहरूलाई परिवारको आर्थिक गतिविधिमा सानो सहयोग गर्ने अवसरसमेत दिएको छ । स्थानीयका अनुसार यो झोलुंगे पुल केवल नदी पार गर्ने संरचना मात्र होइन, गाउँको जीवनमा आएको परिवर्तनको प्रतीक पनि हो । सानो देखिने यो पुलले किसानको श्रम बचत गरेको छ, विद्यार्थीको यात्रा सहज बनाएको छ र गाउँलाई बजारसँग नजिक बनाएको छ । कर्णाली नदीमाथि तन्किएको यो पुल अहिले स्थानीयका लागि केवल बाटो होइन, उनीहरूको दैनिक जीवनलाई जोड्ने आशाको डोरी बनेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।