यो ककौरा गाउँको पुरान चटिया ताल हो । ककौरा थारु गाउँ आसपास पहिले चारवटा ताल थिए । एउटा दामोदर नेपाल (खरदार) को निजी ताल । एउटा थारु गाउँको दक्षिणमा रहेको ताल जहाँ एउटा ठूलो सिमलको रुख थियो । गाउँभरिका मानिस शौचालय जाने हुँदा गुहुँ चटिया नाम पाएको थियो त्यो तालले । अर्को ताल गाउँदेखि उत्तरतिर थियो त्यहाँको माटो पहेँलो भएकाले पूरै गाउँ घर लिपपोतको लागि आवश्यक माटो लिन त्यही तालमा जान्थ्यो । त्यो ताललाई मट खोदनी भनिन्थ्यो ।

पुरान चटिया ककौरा स्कुल नजिक छ र अहिले यही तालले मात्र आफ्नो अस्तित्व जोगाएको छ । चैत महिना निख्रीन (चैत २८ गते) लाग्दा पूरै गाउँ उल्टिएर तालमा माछा मार्दै थियो । माछा मार्ने जाल जगतियाबाट भाडामा ल्याइएको हो । थारु महिला तालबाट झिकिएको झ्यालकुट कुरकुटमा अल्झिएका सिद्रा माछा संकलन गरिरहेका छन् । तालको अस्तित्व रहनु भनेको हाम्रो भूगोल र परम्परा दुवै जोगिनु हो ।




















