वडा कार्यालयका अनुसार यस वर्ष सडक, नाला तथा अन्य भौतिक पूर्वाधार निर्माणका कामलाई विशेष जोड दिइएको छ । अमुवा– भम्का सडकखण्डमा ग्याविन निर्माण तथा बाटो मर्मतको काम सुरु भएको छ भने कुसुम – भवानियापुरसम्मको बाटोमा पीसीसी ढलानको योजना पनि कार्यान्वयनमा छ। त्यस्तै, गौरी बहकरी क्षेत्रको घरछेउमा पीसीसी बाटो निर्माण तथा फुर्क सल्ली टोलमा नाला निर्माणको कामले तीव्रता पाएको छ । स्थानीय बासिन्दाको दैनिक आवागमन सहज बनाउने उद्देश्यले यी योजनाहरू अघि बढाइएको वडा कार्यालयले जनाएको छ ।
राप्तीसोनारी: राप्तीसोनारी गाउँपालिका–१ मा चालु आर्थिक वर्षका लागि विनियोजित ९५ लाख रूपैयाँबाट विभिन्न विकास तथा सामाजिक कार्यक्रम कार्यान्वयनमा आएका छन्। वडाले पूर्वाधार निर्माण, स्वास्थ्य, कृषि, शिक्षा, खेलकुद तथा सामाजिक सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम अगाडि बढाएको जनाएको छ । वडा कार्यालयका अनुसार यस वर्ष सडक, नाला तथा अन्य भौतिक पूर्वाधार निर्माणका कामलाई विशेष जोड दिइएको छ । अमुवा भम्का सडकखण्डमा ग्याविन निर्माण तथा बाटो मर्मतको काम सुरु भएको छ भने कुसुम – भवानियापुरसम्मको बाटोमा पीसीसी ढलानको योजना पनि कार्यान्वयनमा छ।
त्यस्तै, गौरी बहकरी क्षेत्रको घरछेउमा पीसीसी बाटो निर्माण तथा फुर्के सल्ली टोलमा नाला निर्माणको कामले तीव्रता पाएको छ। स्थानीय बासिन्दाको दैनिक आवागमन सहज बनाउने उद्देश्यले यी योजनाहरू अघि बढाइएको वडा कार्यालयले जनाएको छ । वर्षायाममा हिलाम्मे र जोखिमपूर्ण हुने सडकहरूलाई सुधार गर्दै सुरक्षित आवागमन सुनिश्चित गर्न खोजिएको छ । स्वास्थ्य क्षेत्रमा पनि वडाले उल्लेखनीय कार्यक्रम अघि बढाएको छ । खास कुस्मा स्वास्थ्यचौकीको व्यवस्थापन खर्च, मसलन्द तथा कार्यालय सामग्री खरिद, स्वास्थ्य स्वयंसेविका कार्यक्रम सञ्चालन र पोषण कार्यक्रममार्फत समुदायमा स्वास्थ्य सेवा सुदृढ बनाउने प्रयास गरिएको छ ।
साथै, स्वास्थ्यचौकीमा ड्रेसिङ कक्ष निर्माणको काम समेत अगाडि बढाइएको छ, जसले स्थानीयलाई आधारभूत उपचार सेवा सहज बनाउने अपेक्षा गरिएको छ। शिक्षा क्षेत्रमा सिबेश्वर माध्यमिक विद्यालयमा फर्निचर खरिद तथा मर्मत, साथै विद्यालय सञ्चालनका लागि इन्धन खर्च व्यवस्थापन गरिएको छ । कुसुमेश्वर माध्यमिक विद्यालयका लागि पनि इन्धन खर्च छुट्याइएको छ। यसले विद्यालयहरूको दैनिक सञ्चालनमा सहयोग पुग्ने विश्वास लिइएको छ । कृषि तथा पशुपालन क्षेत्रमा किसानलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू ल्याइएको वडाले जनाएको छ ।
किसानसँग ५० प्रतिशत साझेदारीमा किटनाशक तथा झारनाशक विषादी खरिद, सिँचाइ पाइप वितरण, मोटर खरिद तथा म्यानुअल बोरिङ जडानका कार्यक्रम सञ्चालनमा छन्। पशुका लागि औषधि तथा उपकरण खरिद गरी कृषकलाई सहुलियत प्रदान गर्ने योजना पनि अघि बढाइएको छ । सामाजिक तथा सांस्कृतिक क्षेत्रलाई पनि वडाले प्राथमिकतामा राखेको छ । कला तथा संस्कृति संरक्षण कार्यक्रम, लक्षित वर्ग कार्यक्रम, पूर्ण सरसफाइ अभियान र मेलमिलापकर्ताका लागि पोशाक व्यवस्थापन जस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । यसले सामाजिक सद्भाव तथा सामुदायिक विकासमा टेवा पुऱ्याउने अपेक्षा गरिएको छ । त्यस्तै, खेलकुद क्षेत्रको विकासका लागि वडा अध्यक्ष कप खेलकुद कार्यक्रम सञ्चालन गरिँदैछ, जसले युवालाई खेलप्रति आकर्षित गर्ने लक्ष्य राखिएको छ ।
स्थानीय बजार व्यवस्थापनतर्फ कुसुम बजार क्षेत्रमा हाटबजार व्यवस्थापनको काम अगाडि बढाइएको छ । यसले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, चप्परगौरीमा प्रतीक्षालय निर्माण र जय बागेश्वरी असहाय बाल सरंक्षण भवन निर्माण जस्ता सामाजिक पूर्वाधारका काम पनि अघि बढिरहेका छन्। खानेपानी तथा विद्युत सेवा सुधारका लागि मर्मत सम्भार र सञ्चार महसुल व्यवस्थापनमा पनि बजेट खर्च भइरहेको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष यमबहादुर खड्काले सीमित स्रोत साधनका बाबजुद पनि वडाको समग्र विकासलाई सन्तुलित रूपमा अघि बढाइएको बताए ।’
हामीले पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि र सामाजिक क्षेत्रलाई सँगसँगै अगाडि बढाउने प्रयास गरेका छौं,’ उनले भने, ’९५ लाख रूपैयाँको बजेटलाई प्रभावकारी रूपमा उपयोग गर्दै नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने कार्यक्रमहरू छनोट गरेका छौं ।’ उनका अनुसार वडामा कृषि तथा सिँचाइका कार्यक्रमले किसानलाई राहत दिने अपेक्षा गरिएको छ भने सडक तथा नाला निर्माणले आवागमन सहज बनाउनेछ । ’हामीले ५० प्रतिशत साझेदारीका कार्यक्रममार्फत स्थानीयलाई पनि जिम्मेवार बनाएका छौं, जसले योजनाको दिगोपनामा सहयोग पुऱ्याउँछ,’ उनले थपे।
अध्यक्ष खड्काले आगामी दिनमा पनि स्थानीयको आवश्यकता अनुसार योजना छनोट गरी कार्यान्वयनलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । ’विकासका कामलाई पारदर्शी र जनमुखी बनाउने हाम्रो प्राथमिकता हो,’ उनले भने, ’स्थानीयवासीको सुझावलाई आधार मानेर योजनाहरू अघि बढाउँदै जानेछौँ ।’ वडाले चालु आर्थिक वर्षभित्र अधिकांश योजनाहरू सम्पन्न गर्ने लक्ष्य राखेको छ । समयमै काम सम्पन्न भएमा यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।





















