फर्मले आगामी दिनमा दूध उत्पादन क्षमता विस्तार गर्ने, पशु संख्या बढाउने र प्रशोधित दुग्धजन्य उत्पादनतर्फ पनि विस्तार गर्ने योजना बनाएको छ । दही, घिउ र पनिर उत्पादन गर्ने सम्भावनाबारे समेत अध्ययन भइरहेको छ । स्थानीयस्तरमै उत्पादन, रोजगारी र बजार व्यवस्थापन गर्ने यस्तो मोडेलले ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्ने देखिन्छ । बाहिर पलायन हुने युवालाई गाउँमै रोजगारी दिन सक्नु यस फर्मको अर्को महत्वपूर्ण उपलब्धि हो ।
राप्तीसोनारी, वैशाख १० राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ खोरियाको हरियाली बस्तीबीच बिहान सबेरै गाई–भैँसीको घण्टीसँगै दूध दुहुने व्यस्तताले दिन सुरु हुन्छ । परम्परागत कृषि र सीमित पशुपालनमा निर्भर यस गाउँमा अहिले डेढ करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा आएको ‘जननी पशुपन्छी पालन फर्म’ ले ग्रामीण अर्थतन्त्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ ।
जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित यो फर्मले आधुनिक प्रविधि, व्यवस्थित गोठ र व्यावसायिक सोचलाई आधार बनाउँदै दूध उत्पादनलाई नियमित आम्दानीको स्रोत बनाइरहेको छ । करिब दुई बिघा जग्गामा फैलिएको फर्ममा हाल होलिस्टन फ्रिजन र जर्सी जातका सातवटा गाई, हरियाना जातका दुईवटा भैँसी, एकवटा साँढे तथा करिब १९७ वटा कोरली बाच्छी–बाच्छा र पारापारी छन् ।
फर्मबाट दैनिक करिब ८० लिटर दूध उत्पादन भइरहेको छ । उत्पादित दूधमध्ये अधिकांश भाग कचनापुर साना किसान कृषि सहकारी संस्थाको डेरीमा खपत हुने गरेको छ भने बाँकी दूध स्थानीय गाउँघरसँगै कोहलपुर, नेपालगन्ज, अगैया, शमशेरगन्जलगायतका सहरी तथा बजारी क्षेत्रमा समेत दूध आपूर्ति हुने भएकाले बजार विस्तार क्रमशः बढ्दै गएको फर्मले जनाएको छ । व्यवस्थापक गणेशबहादुर खत्रीका अनुसार अहिलेको उत्पादनले बजारमा राम्रो स्थान बनाइरहेको छ र भविष्यमा आफ्नै डेरी सञ्चालन गर्ने लक्ष्य रहेको छ । ‘अहिले हाम्रो दूध कचनापुर सहकारीको डेरीमा जान्छ, बाँकी स्थानीय बजारमा बिक्री हुन्छ,’ उनले भने, ‘माग बढ्दै गएको छ, त्यसैले भविष्यमा आफ्नै डेरी सञ्चालन गर्ने योजना बनाएका छौं ।’ फर्मले आफ्नै जमिनमा घाँस उत्पादन गर्दै आएको छ, जसले उत्पादन लागत घटाउन ठूलो सहयोग गरेको छ । पशु आहारमा आत्मनिर्भरता बढेसँगै व्यवसायलाई दिगो बनाउने आधार पनि मजबुत भएको व्यवस्थापक खत्री बताउँछन् ।

हाल फर्ममा सातजना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् । ग्रामीण क्षेत्रमा सीमित रोजगारीका अवसरबीच यो फर्मले युवाहरूलाई गाउँमै रोक्न सहयोग गरेको स्थानीयवासीहरूको भनाइ छ । दैनिक कामकाज, पशु स्याहार, गोठ व्यवस्थापन र दूध संकलनमा उनीहरू संलग्न छन् । राप्तीसोनारी गाउँपालिका पशुपालनका लागि उपयुक्त क्षेत्र मानिन्छ । घाँसे मैदान, वन क्षेत्र र अनुकूल मौसमका कारण यहाँका किसानहरू पशुपालनतर्फ आकर्षित हुँदै आएका छन् । जननी फर्मले यही सम्भावनालाई व्यावसायिक रूपमा उपयोग गर्दै उदाहरणीय अभ्यास प्रस्तुत गरेको छ ।
व्यवस्थापक खत्रीका अनुसार पशुपालन व्यवसायमा चुनौतीहरू पनि छन् । रोगव्याधि, बजार मूल्यको उतारचढाव र आहार व्यवस्थापन मुख्य चुनौती भए पनि दीर्घकालीन रूपमा यसमा राम्रो सम्भावना रहेको उनको अनुभव छ । ‘पशुपालनमा जोखिम पनि हुन्छ, तर राम्रो व्यवस्थापन गर्न सकियो भने यो अत्यन्त लाभदायक व्यवसाय हो,’ उनले भने । फर्मले आधुनिक गोठ निर्माण गर्दै पशु व्यवस्थापनलाई अझ वैज्ञानिक बनाउने तयारी पनि गरिरहेको छ । पशुहरूको स्वास्थ्य, सरसफाइ र उत्पादन क्षमता बढाउने उद्देश्यले पूर्वाधार सुधार भइरहेको छ ।
आर्थिक पक्षमा हेर्दा फर्मले सबै खर्च कटाएर मासिक करिब ४० देखि ४५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको व्यवस्थापक खत्री बताउँछन् । ग्रामीण क्षेत्रमा सीमित स्रोत र प्रारम्भिक चरणको लगानी भए पनि यो आम्दानीले भविष्यमा ठूलो सम्भावना देखाएको उनको भनाइ छ । उनका अनुसार, ‘सबै खर्च कटाएर अहिले मासिक ४०/४५ हजार रुपैयाँ जति आम्दानी हुन्छ । उत्पादन बढ्दै गएको छ, पशु संख्या पनि बढ्ने क्रममा छ, त्यसैले भविष्यमा यो आम्दानी अझ वृद्धि हुने अपेक्षा छ ।’
फर्मले आगामी दिनमा दूध उत्पादन क्षमता विस्तार गर्ने, पशु संख्या बढाउने र प्रशोधित दुग्धजन्य उत्पादनतर्फ पनि विस्तार गर्ने योजना बनाएको छ । दही, घिउ र पनिर उत्पादन गर्ने सम्भावनाबारे समेत अध्ययन भइरहेको छ । स्थानीयस्तरमै उत्पादन, रोजगारी र बजार व्यवस्थापन गर्ने यस्तो मोडेलले ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्ने देखिन्छ । बाहिर पलायन हुने युवालाई गाउँमै रोजगारी दिन सक्नु यस फर्मको अर्को महत्वपूर्ण उपलब्धि हो ।
राप्तीसोनारीको खोरियामा सञ्चालनमा आएको जननी पशुपन्छी पालन फर्मले ग्रामीण सम्भावनालाई व्यावसायिक रूपमा उपयोग गर्दै गाउँमै बसेर पनि आम्दानी र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ । डेढ करोडभन्दा बढी लगानीमा सुरु भएको यो फर्म अहिले गाउँकै आर्थिक जीवनलाई चलायमान बनाउने महत्वपूर्ण आधार बन्दै गएको छ ।
















