सल्यान, बैशाख १८ गते गर्मी मौसम सुरु भएसँगै सल्यानका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्ने क्रम तीव्र बनेको छ । चैत र वैशाख महिनामा मात्रै जिल्लाका एक सयभन्दा बढी वनमा डढेलो लाग्दा ६ हजार हेक्टरभन्दा बढी वन क्षेत्र प्रभावित भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बन्गाड कुपिण्डे नगरपालिकामा सबैभन्दा धेरै ३४ वनमा डढेलो लागेको छ भने शारदा नगरपालिकामा १७, कालिमाटी गाउँपालिकामा १७, छत्रेश्वरीमा १६, त्रिवेणीमा १६ र कपुरकोटमा ६ वन प्रभावित भएका छन् । केही दिनअघि परेको वर्षाले आगो नियन्त्रणमा आएजस्तो देखिए पनि पुनः डढेलो फैलिन थालेको छ । डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालन हुँदै आए पनि प्रभावकारी हुन नसक्दा यस वर्ष बस्तीसमेत प्रभावित भएका छन् ।
आगलागीबाट आधा दर्जन घर जलेका छन् भने दर्जनभन्दा बढी खानेपानी आयोजनाका पाइप नष्ट भएका छन् । सयौं साना बिरुवा नष्ट हुँदा वन्यजन्तुको बासस्थान समेत उजाडिएको छ । कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालका अनुसार डढेलोका कारण बस्ती नजिकैका घर उच्च जोखिममा परेका छन् ।
धुलेमा एक घर र खानेपानी पाइप जलेर नष्ट भएको उनले बताए । यस्तै छत्रेश्वरी–५ मा सात सय मिटर पाइप जलेपछि स्थानीयले गाग्रीमा पानी बोकेर ल्याउन बाध्य भएका छन् । डढेलोबाट निस्किएको धुवाँका कारण जिल्लामा आँखा र दमका बिरामी बढ्न थालेका छन् । शारदा नगरपालिका–४ मा लागेको आगो पाँच घन्टापछि मात्र नियन्त्रणमा आएको थियो ।
प्रहरी निरीक्षक पूर्ण केसीले मानवीय लापरबाही नै डढेलोको मुख्य कारण भएको बताए । पर्याप्त उपकरण अभावमा जोखिम मोलेर आगो निभाउनुपरेको उनको भनाइ छ । डिभिजन वन कार्यालय प्रमुख टेकबहादुर रावलले चेतनामूलक कार्यक्रम भइरहे पनि लापरबाही नघटे समस्या समाधान नहुने बताए ।













