नेपालगन्ज, वैशाख २१ निर्माणाधीन हुलाकी राजमार्गअन्तर्गत खजुरा बजार क्षेत्रमा सडक साँघुरो बनाइँदै गएको भन्दै स्थानीयबासीले सडक फराकिलो बनाउन दबाब सिर्जना गर्न हस्ताक्षर अभियान सुरु गरेका छन् । बजार क्षेत्रको बढ्दो सवारी चाप र अव्यवस्थित संरचनालाई मध्यनजर गर्दै कम्तीमा थप दुई मिटर सडक विस्तार गर्नुपर्ने मागसहित स्थानीयले संगठित रूपमा अभियान अघि बढाएका हुन् ।
खजुरा बजारको करिब एक हजार ८०० मिटर सडक खण्डमा हाल भइरहेको स्तरोन्नति कार्यले भविष्यमा थप समस्या निम्त्याउने चिन्ता व्यक्त गर्दै स्थानीयबासीले समयमै सुधार गर्नुपर्ने बताएका छन् । उनीहरूले सडक किनारमा निर्माण गरिएका फुटपाथलाई ढलभन्दा पछाडि सारेर दुवैतर्फ कम्तीमा एक–एक मिटर थप सडक चौडाइ कायम गरी कालोपत्रे गर्न माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेताको अगुवाइमा सुरु गरिएको हस्ताक्षर अभियानमार्फत हुलाकी राजमार्ग निर्देशनालयलाई औपचारिक रूपमा ध्यानाकर्षण गराउने तयारी गरिएको छ । रास्वपाका खजुरा गाउँ समितिका नेता विजय गुरुङका अनुसार स्थानीयको सक्रिय सहभागितामा हस्ताक्षर संकलन भइरहेको छ र संकलित हस्ताक्षरसहित चाँडै सम्बन्धित निकायमा डेलिगेसन जाने योजना बनाइएको छ ।
स्थानीय अगुवा सुशील भट्टराईले बजार क्षेत्रको सडक निर्माण मापदण्डअनुसार हुन नसकेको गुनासो गर्दै दीर्घकालीन समाधानका लागि फराकिलो सडक अपरिहार्य भएको बताए । ‘अहिले जस्तो साँघुरो सडक बनेमा केही वर्षमै पुनः विस्तार गर्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘त्यसैले अहिले नै सुधार गरेर व्यवस्थित चार लेन सडक बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ खजुरा बजार क्षेत्र दुवैतर्फ व्यावसायिक गतिविधि बढ्दो क्रममा रहेको हुँदा सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढ्ने स्थानीयको भनाइ छ । पैदलयात्रीका लागि सुरक्षित फुटपाथ र सवारी साधनका लागि पर्याप्त स्थान नभएपछि बजार क्षेत्रमा दैनिक जाम र अव्यवस्था बढ्दै गएको उनीहरूले बताएका छन् ।
उक्त सडक खण्डको निर्माण इतिहास हेर्दा २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो । सम्झौताअनुसार २०७७ चैतभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि पटक–पटक म्याद थप हुँदा पनि काम सन्तोषजनक रूपमा अघि बढ्न सकेन । अन्ततः पाँच पटकसम्म म्याद थप्दा पनि प्रगति नभएपछि ठेक्का सम्झौता खारेज गरिएको थियो । हाल उक्त सडक खण्डको जिम्मेवारी हुलाकी राजमार्ग निर्देशनालयले सम्हालेर स्तरोन्नतिको काम अघि बढाइरहेको छ । सडकसँगै पेडारी नाला र किरण नालामा पुल निर्माणको काम पनि समानान्तर रूपमा भइरहेको जनाइएको छ ।

हुलाकी राजमार्ग निर्माणसँगै नेपालगन्जदेखि धनगढी, टीकापुर र महेन्द्रनगरसम्म यात्रा गर्ने यात्रुहरूको रोजाइ यो मार्ग बन्दै गएको छ । साबिक पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्दा निकुञ्ज क्षेत्रमा समयसीमा (टाइम कार्ड) को झन्झट, वन्यजन्तुको जोखिम र लामो दूरीका कारण यात्रुहरू वैकल्पिक रूपमा हुलाकी राजमार्गतर्फ आकर्षित भएका हुन् । यातायातका हिसाबले महत्व बढ्दै गएको यस मार्गको खजुरा बजार खण्डमै साँघुरो सडक निर्माण भइरहेकाले भविष्यमा ठूलो समस्या निम्तिन सक्ने भन्दै स्थानीयले तत्काल ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।












