काठमाडौं, वैशाख २४ गते राष्ट्रपति रामचन्द्र पौडेल ले जिम्मेवार र निष्पक्ष पत्रकारिताले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँदै सुशासन, विकास र आर्थिक समृद्धिको अभियानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय पत्रकारिता दिवस २०८३ तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा नेपाली पत्रकारिताको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै पत्रकारलाई निर्भय र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको धारणा राख्नुभयो ।
राष्ट्रपति पौडेलले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म भएको उल्लेख गर्दै नेपाली प्रेस यसप्रति सदैव सजग र उत्तरदायी रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले पत्रकारिता परिवर्तनको वाहक तथा राष्ट्र निर्माणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताविना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पार्नुभयो ।
उहाँले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिँदै सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने सुनिश्चितताका लागि सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो । श्रमजीवी पत्रकारहरूको हकहित, सञ्चार गृहहरूको आर्थिक दिगोपन तथा पत्रकारको पेशागत सुरक्षाका लागि सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको बढ्दो प्रयोगसँगै आधारहीन तथा मिथ्या सूचना फैलिने खतरा बढेको उल्लेख गर्दै यस चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मा लाई सम्मान गर्नुभयो । त्यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट भोला पासवान, उमेश श्रेष्ठ र रुपा गहतराज सम्मानित हुनुभयो । सम्मानित पत्रकारलाई जनही दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले सरकारले प्रेसमाथि कुनै प्रकारको अंकुश लगाउने पक्षमा नरहेको स्पष्ट पार्दै स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व पनि जोडिने धारणा राख्नुभयो ।
मन्त्री तिमिल्सिनाले डिजिटल युगमा प्रविधिमैत्री र जिम्मेवार पत्रकारिता सुशासनको आधार भएको उल्लेख गर्दै फेक न्यूज र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि तथ्य जाँचलाई पत्रकारिताको महत्वपूर्ण अङ्गका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सञ्चारमाध्यमको व्यावसायिकता र दिगोपनका लागि विज्ञापन नीति २०८३ ल्याउने तयारी भइरहेको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य लगायतले लोकतन्त्र, सुशासन र नागरिकको सुसूचित हुने अधिकारको संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।
















