नेपालगन्ज, वैशाख २७ पवित्र हज यात्राका लागि साउदी अरबको मक्का–मदिनातर्फ प्रस्थान गर्ने बाँकेका १२१ जना हजयात्रीलाई शुक्रबार साँझ नेपालगन्जमा विशेष सम्मानसहित बिदाइ गरिएको छ । धार्मिक उत्साह र श्रद्धाले भरिएको कार्यक्रममा मुस्लिम समुदायका अगुवा, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए ।
नेपालगन्जस्थित बिपी चोकमा आयोजित कार्यक्रममा हजयात्रीहरूलाई माला, खादा, गम्छा र टोपी ओढाएर सम्मानपूर्वक बिदाइ गरिएको थियो । कार्यक्रममा सहभागीहरूले हजयात्रीको सफल यात्रा, स्वास्थ्य र सुरक्षित फिर्तीको कामना गरेका थिए । दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका पूर्वअध्यक्ष हाजी अब्दुल रहमान मियाँले यस वर्ष बाँके जिल्लाबाट १२१ जना मुस्लिम महिला तथा पुरुष हज यात्रामा सहभागी हुन लागेको जानकारी दिए । उनले हज इस्लाम धर्मावलम्बीहरूको अत्यन्त महत्वपूर्ण धार्मिक कर्तव्य भएकाले श्रद्धा र सम्मानका साथ बिदाइ गरिएको बताए ।
बिदाइ कार्यक्रममा सामाजिक तथा धार्मिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सामाजिक अगुवा जुबेर राई, मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष मोहम्मद हारुन हल्वाई, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँलगायतले हजयात्रीलाई शुभकामना व्यक्त गरेका थिए ।
उनीहरूले पछिल्लो समय हज यात्रा अत्यधिक खर्चिलो बन्दै गएको उल्लेख गर्दै सरकारले मुस्लिम समुदायको पहुँच सहज बनाउन विशेष पहल गर्नुपर्ने धारणा राखे । हज यात्राको खर्च घटाउन र व्यवस्थापन थप प्रभावकारी बनाउन राज्यले ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो । मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीका अनुसार हज इस्लाम धर्मका पाँच आधारभूत स्तम्भमध्ये एक महत्वपूर्ण धार्मिक अनुष्ठान हो । आर्थिक रूपमा सक्षम प्रत्येक मुसलमानले जीवनमा कम्तीमा एक पटक हज गर्नुपर्ने धार्मिक मान्यता रहेको उनले बताए । हज यात्राका क्रममा मुस्लिम तीर्थयात्रीहरूले मक्का सहरस्थित पवित्र काबाको तवाफ गर्ने, सफा र मरवाहबीच सई गर्ने, अराफातको मैदानमा बसाइ बस्ने तथा शैतानलाई प्रतीकात्मक रूपमा ढुंगा हान्ने लगायतका धार्मिक विधि पूरा गर्ने गर्छन् ।

त्यसैगरी मदिना पुगेर इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मदको पवित्र समाधिस्थलको जियारत गरी सलाम प्रस्तुत गर्ने परम्परा पनि रहेको छ । हरेक वर्ष विश्वभरका लाखौँ मुस्लिम धर्मावलम्बी हजका धार्मिक विधि सम्पन्न गर्न मक्का र मदिनामा भेला हुने गर्दछन् । नेपालबाट पनि हरेक वर्ष सयौँ मुस्लिम समुदायका श्रद्धालु हज यात्रामा सहभागी हुँदै आएका छन् ।















