राप्तीसोनारी, वैशाख ३१ राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि गैरसरकारी संघ–संस्थाहरूसँग आयोजना तथा कार्यक्रम प्रस्ताव पेश गर्न आह्वान गरेको छ । गाउँ कार्यपालिकाको कार्यालयले आइतबार एक सूचना जारी गर्दै बजेट तथा कार्यक्रम तर्जुमाको चरणमा रहेको जनाउँदै स्थानीय तहसँग साझेदारी र समन्वयमा सञ्चालन गर्न सकिने आयोजना तथा कार्यक्रमहरू पेश गर्न अनुरोध गरेको हो ।
सूचनामा चालु आर्थिक वर्षमै सुरु भई विभिन्न कारणले लक्ष्यअनुसार सम्पन्न हुन नसकेका बाँकी कार्यक्रम तथा आगामी आर्थिक वर्षमा सञ्चालन गर्न सकिने नयाँ योजना र कार्यक्रमहरू लागत विवरणसहित पेश गर्न भनिएको छ । प्रस्तावित कार्यक्रमहरूको विवरण १५ दिनभित्र गाउँपालिकाको योजना तथा अनुगमन शाखामा वा इमेलमार्फत प्रमाणित हार्डकपी र सफ्टकपी दुवै रूपमा पठाउन आग्रह गरिएको छ ।
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १५ अनुसार उक्त आह्वान गरिएको उल्लेख गरेको छ । सूचनामा सबै संघ–संस्थालाई समयमै प्रस्ताव पेश गरी स्थानीय विकास योजना निर्माण प्रक्रियामा सहयोग गर्न पनि अनुरोध गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालद्वारा जारी सूचनामा योजना छनोट प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्य रहेको जनाइएको छ ।















