पाल्पा, जेठ ८ पाल्पामा विषालु जंगली च्याउ सेवनका कारण दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी व्यक्ति बिरामी परेका छन् । जंगली च्याउको पहिचान नगरी पकाएर खाँदा यस्तो घटना भएको स्वास्थ्य तथा सुरक्षा निकायले जनाएको छ ।
रम्भा गाउँपालिका–५ ताहुँ ओमभन्ज्याङ क्षेत्रमा ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको विषालु च्याउ सेवनपछि उपचारका क्रममा मृत्यु भएको हो । उनीहरू दुवैले गत जेठ १ गते जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरूलाई सुरुमा स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको भए पनि अवस्था गम्भीर बनेपछि तानसेनस्थित मिसन अस्पताल तानसेन मा रिफर गरिएको थियो । उपचारकै क्रममा कामुमगरको जेठ ४ गते र खाम्चाको जेठ ५ गते मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
सोही घटनामा रम्भा गाउँपालिकाकै ५० वर्षीया यानुमाया जर्घा गम्भीर अवस्थामा सोही अस्पतालमा उपचाररत छन् । ताहुँ क्षेत्रका एकै परिवारका चार जना समेत बिरामी परेका छन्, जसको उपचार जारी रहेको छ । यसैबीच, तानसेन नगरपालिका–८ मदनपोखरा कोकलका दुई जना बिरामीहरू उपचारपछि लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल बाट डिस्चार्ज भई घर फर्किएका छन् । उनीहरू पनि विषालु च्याउ सेवनका कारण बिरामी परेका थिए ।
त्यस्तै, माथागढी गाउँपालिका–३ कसेनी भैंसीकट्टाका चार जना उपचारपछि निको भई घर फर्किएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
निस्दी गाउँपालिका–४ मित्यालका दुई जना भने अझै गम्भीर अवस्थामा रहेकाले थप उपचारका लागि चितवनको भरतपुर अस्पताल मा रिफर गरिएको छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधु भट्टराईका अनुसार जंगली च्याउ पहिचान नगरी सेवन गर्दा यस्तो जोखिम दोहोरिन सक्ने भएकाले अत्यन्त सावधानी अपनाउन आग्रह गरिएको छ । स्थानीय तहहरूले पनि वनबाट ल्याइने च्याउ सेवन नगर्न र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान सुझाव दिएका छन् । यस घटनाले ग्रामीण क्षेत्रमा जंगली खाद्यवस्तु पहिचानको कमी र सचेतनाको अभावका कारण हुने स्वास्थ्य जोखिम पुनः उजागर गरेको छ ।















