२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

हुलाकी सडकको बाटो खुल्यो राप्तीसोनारी–३ नारायणपुरदेखि दाङको राजपुर जोडिँदै

हुलाकी सडक निर्देशनालय आयोजना कार्यालय नेपालगन्जका अनुसार तीन जिल्लामा बाँकी रहेका सडक निर्माण तथा स्तरोन्नतिका लागि करिब साढे तीन अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरिएको छ । यससँगै वर्षौँदेखि प्रतीक्षामा रहेको बाँकेको राप्तीपारि क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजनाले पनि नयाँ गति पाएको छ ।

राप्तीसोनारी,जेठ २४  लामो समयदेखि अलपत्र रहेको हुलाकी सडक आयोजनाअन्तर्गत बाँके, दाङ र बर्दियाका विभिन्न खण्डको निर्माण अघि बढ्ने भएको छ । अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्काका लागि आवश्यक बजेट स्रोत सुनिश्चित गरेपछि रोकिएका काम पुनः सञ्चालन हुने अपेक्षा बढेको छ ।

हुलाकी सडक निर्देशनालय आयोजना कार्यालय नेपालगन्जका अनुसार तीन जिल्लामा बाँकी रहेका सडक निर्माण तथा स्तरोन्नतिका लागि करिब साढे तीन अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरिएको छ । यससँगै वर्षौँदेखि प्रतीक्षामा रहेको बाँकेको राप्तीपारि क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजनाले पनि नयाँ गति पाएको छ । आयोजना कार्यालयका प्रमुख लिलाबहादुर भण्डारीले स्रोत सुनिश्चित भएसँगै बहुवर्षीय ठेक्का प्रक्रियामा जान सकिने अवस्था बनेको बताए । उनका अनुसार असार मसान्तभित्र ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ । उनले देशभरका अधुरा हुलाकी सडक आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अर्थ मन्त्रालयले २९ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको जानकारी दिए ।

यस निर्णयबाट विशेषगरी बाँकेको राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरदेखि दाङको राजपुर गाउँपालिकासम्मको करिब ३५ किलोमिटर सडक खण्ड निर्माणको प्रक्रिया अघि बढ्नेछ । पश्चिमतर्फ नेपालगन्ज हुँदै नारायणपुरसम्म र पूर्वतर्फ दाङको राजपुरसम्म सडक संरचना निर्माण भए पनि बीचको खण्ड वर्षौँदेखि अधुरो छ । यसअघि उक्त सडक निर्माणका क्रममा ठूलो संख्यामा रुख कटान गर्नुपर्ने विषयलाई लिएर कानुनी विवाद उत्पन्न भएपछि काम रोकिएको थियो । पछि वातावरणीय तथा कानुनी प्रक्रिया टुंगिए पनि बजेट अभावका कारण ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको थिएन । आयोजना कार्यालयले वातावरणीय प्रभाव मूल्यांकन तथा गुरुयोजना तयार गरिसकेको जनाएको छ ।

गुरुयोजना अनुसार बाँके–दाङ खण्ड सम्पन्न गर्न करिब ६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सडकको झण्डै १८ किलोमिटर भाग वन क्षेत्रभित्र पर्ने भएकाले निर्माण प्रक्रिया केही जटिल मानिएको छ । यद्यपि निर्देशनालयले तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । हुलाकी सडक निर्माणको प्रतिक्षामा रहेका राप्तीपारिका बासिन्दाले भने यसलाई आफ्नो जीवनस्तर परिवर्तनसँग जोडेर हेरेका छन् । सडक पहुँच नहुँदा भम्का, अमुवा, तितिनघारी, भवानीयापुर, खुटी, चुनाहा, सुनखरे र खोकरीजस्ता गाउँका नागरिकले वर्षौँदेखि आवागमन, शिक्षा, स्वास्थ्य र बजार पहुँचमा कठिनाइ भोग्दै आएका छन् ।

स्थानीय नरेन्द्र लामिछानेले सडक निर्माणले राप्तीपारिका गाउँहरूको विकासमा नयाँ सम्भावना सिर्जना गर्ने बताए । उनका अनुसार सडक नहुँदा धेरै नागरिक अझै पनि पैदल यात्रा र झोलुंगे पुलको भरमा दैनिक कामकाज गर्न बाध्य छन् । स्थानीय अगुवा पोषण केसीले हुलाकी सडकलाई राप्तीपारि क्षेत्रको विकासको मेरुदण्डका रूपमा व्याख्या गर्दै अब थप ढिलाइ नगरी निर्माण कार्य अघि बढाउनुपर्ने बताए । उनका अनुसार वर्षौँदेखि चुनावी प्रतिबद्धतामा सीमित रहेको यो आयोजना कार्यान्वयनमा जानु स्थानीयका लागि राहतको विषय हो ।

स्रोत सुनिश्चित भएसँगै अब ठेक्का प्रक्रिया र निर्माण कार्य समयमै अघि बढे राप्तीपारि क्षेत्रको सडक पहुँच विस्तार हुने मात्र होइन, बाँके र दाङबीचको यातायात सम्पर्कसमेत थप सहज हुने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।