काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायका भवनभित्र कार्यालय सञ्चालन गर्दै आएका गैरसरकारी प्रकृतिका संघ–संस्थालाई सात दिनभित्र स्थानान्तरण गर्न निर्देशन दिएको छ।
कार्यालयले सोमबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै संस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएका काठमाडौं जिल्लाभित्रका विभिन्न प्राविधिक, पेशागत तथा गैरसरकारी संघ–संगठनहरू सरकारी भवन तथा संरचनाभित्र सञ्चालन भइरहेको पाइएको भन्दै त्यस्ता कार्यालय हटाउन निर्देशन दिएको हो।
सूचनाअनुसार सम्बन्धित संघ–संस्थाले सात दिनभित्र सरकारी भवन छाडेर निजी वा भाडाको भवनमा कार्यालय सार्नुपर्नेछ। साथै स्थानान्तरण सम्पन्न गरेपछि त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
प्रशासनले सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूलाई पनि आफ्नो परिसरभित्र रहेका यस्ता संघ–संस्थाका कार्यालय, बोर्ड, साइनबोर्ड वा अन्य संरचना हटाई कार्यालय खाली गराउन निर्देशन दिएको छ।

सरकारी सम्पत्ति र संरचनाको उचित उपयोग तथा कानुनी व्यवस्थाको कार्यान्वयनका लागि यस्तो कदम चालिएको प्रशासनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको बेवास्ता गर्दै सरकारी भवन वा संरचनाभित्र गैरसरकारी संस्थाका कार्यालय सञ्चालन गरेको पाइएमा प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।












