२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

काँक्रेविहार हाफ म्याराथनमा राजन रोकाय च्याम्पियन

सुर्खेत, असार ९  सुर्खेतमा सम्पन्न ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका धावक राजन रोकायले जितेका छन् । २१ किलोमिटर दूरीको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै उनले पहिलो स्थान हासिल गरेका हुन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतको आयोजनामा आइतबार भएको प्रतियोगितामा रोकायले निर्धारित दूरी १ घण्टा ९ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारे । कालिकोटका विनोद रोकाय १ घण्टा ९ मिनेट ३९ सेकेण्डसहित दोस्रो हुँदा एपीएफका गोपीचन्द्र पार्की १ घण्टा १० मिनेट २८ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा रहे । पुरुष हाफ म्याराथनका विजेताले क्रमशः एक लाख ५० हजार, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ ।

महिलातर्फको खुला १० किलोमिटर दौडमा धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भइन् । उनले ३६ मिनेट ४०.६० सेकेण्डमा दूरी पार गरिन् । जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने ३७ मिनेट ३.११ सेकेण्डसहित दोस्रो तथा बाजुराकी सिर्जना पाण्डे ३९ मिनेट २८.८८ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भइन् । उनीहरूले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे । पाँच किलोमिटर छात्रा दौडमा सुर्खेतकी कृष्णा रानाले प्रथम स्थान हासिल गरिन् । उनले २० मिनेट ३४.२ सेकेण्डमा दूरी पूरा गरिन् । जुम्लाकी अन्तिमा बुढा दोस्रो तथा बाँकेकी स्वस्तिका शाही तेस्रो भइन् ।

यस्तै, पाँच किलोमिटर छात्रतर्फ कालिकोटका अनिल शाही विजेता बने । उनले १५ मिनेट ३६.१ सेकेण्डमा दौड पूरा गरे । जुम्लाका युवकराज बुढा दोस्रो र सुर्खेतका भुवन चालिसे तेस्रो भए । छात्र–छात्रा दुवै विधाका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । ‘दौडिन्छ कर्णाली’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा विभिन्न जिल्लाका धावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले कर्णालीमा खेलकुद गतिविधि विस्तार हुँदै गएको र यसले युवालाई खेलतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
मिड वेस्टर्न फिटनेस सेन्टरका पूर्वनिर्देशक प्रमोद हमालले प्रतियोगिताले कर्णालीका प्रतिभावान धावकलाई राष्ट्रियस्तरको प्रतिस्पर्धामा उभिन अवसर प्रदान गर्नुका साथै प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याउँदै आएको बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।