२०८३ श्रावण १८ सोमबार
२०८३ श्रावण १८ सोमबार

ग्यासको लाइनमै बित्न थालेका दिन

दाङ, साउन १५  बिहानको घाम राम्रोसँग नउदाउँदै घोराही, तुलसीपुर र लमहीका ग्यास डिपोअगाडि मानिसहरूको लामो लाइन देखिन थालेको छ । कसैको हातमा खाली सिलिन्डर छ, कोही पालो कुर्दै सडकछेउमा बसेका छन् । कसैले बिहानैदेखि नम्बर टिपाएका छन् भने कतिपय दिनभरि कुर्दासमेत रित्तो हात घर फर्किन बाध्य छन् । पछिल्ला केही सातायता दाङमा खाना पकाउने एलपी ग्यासको अभाव यति चर्किएको छ कि उपभोक्ताको दैनिकी नै प्रभावित हुन थालेको छ ।

केही महिनाअघि सरकारले उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउने व्यवस्था गरेको थियो । त्यसबेला पनि आवश्यकताअनुसार ग्यास नपाए पनि कम्तीमा चुलो निभ्न नदिने आशा उपभोक्तामा थियो । अहिले भने आधा सिलिन्डर वितरणसमेत बन्द भएको छ । पूरा सिलिन्डर वितरण गर्ने निर्णय भए पनि बजारमा पर्याप्त आपूर्ति हुन नसक्दा उपभोक्ताले झन् ठूलो सास्ती बेहोर्नुपरेको छ । घोराहीकी उपभोक्ता गृष्मा शर्माले अहिलेको अवस्था विगतका कठिन समयभन्दा पनि चुनौतीपूर्ण बनेको बताइन् । उनका अनुसार पहिले आधा सिलिन्डर भए पनि पाइन्थ्यो, अहिले त्यो सम्भावना पनि समाप्त भएको छ । ग्यास कहिले आउँछ भन्ने निश्चित नहुँदा दैनिक घरधन्दा सञ्चालन गर्न कठिन भइरहेको उनको अनुभव छ ।

ग्यास व्यवसायीहरू पनि समस्या समाधान गर्न नसकेको बताउँछन् । उनीहरूका अनुसार अहिले हप्तामा एकपटक मात्रै सीमित संख्यामा सिलिन्डर आइपुग्छ । तर, दैनिक माग त्यसको दोब्बरभन्दा बढी हुने भएकाले सबै उपभोक्तालाई ग्यास उपलब्ध गराउन असम्भवजस्तै बनेको छ । एउटा डिपोमा ४०–५० वटा सिलिन्डर आउँदा सयभन्दा बढी उपभोक्ता लाइनमा बस्ने अवस्था रहेको उनीहरूको भनाइ छ । तुलसीपुरका एक विक्रेताका अनुसार अहिले आपूर्ति प्रणाली नै अनियमित बनेको छ । कुनै दिन ग्यास बोकेको गाडी आएपछि फेरि एक सातासम्म नआउने अवस्था छ । माग अत्यधिक भएकाले उपभोक्ताको दबाब पनि उस्तै छ । तर, आफूहरूसँग वितरण गर्न पर्याप्त ग्यास नभएकाले सबैलाई सन्तुष्ट पार्न सकिने अवस्था नरहेको उनी बताउँछन् ।

ग्यास अभावले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर परेको छ । बिहानदेखि लाइनमा बस्दा मजदुरी गर्नेले आफ्नो रोजगारी गुमाइरहेका छन् भने कार्यालय जानेहरू समय मिलाउन सकिरहेका छैनन् । गृहिणीहरूलाई खाना पकाउने चिन्ता थपिएको छ भने वैकल्पिक इन्धनको खोजी पनि सहज छैन । तुलसीपुरका स्थानीय इन्द्र चौधरीले एक सातादेखि लगातार ग्यासको खोजी गरिरहे पनि अझै सिलिन्डर भर्न नपाएको बताए । विक्रेताले पालो आउन अझै धेरै समय लाग्न सक्ने बताएपछि उनी थप चिन्तित बनेका छन् । घरमा खाना पकाउने सबैभन्दा आधारभूत आवश्यकता नै पूरा गर्न नसक्ने अवस्था आएको उनको गुनासो छ ।

ग्यासको अभावसँगै कालोबजारीको आशंका पनि बढेको छ । बजारमा पर्याप्त ग्यास नहुँदा कतिपयले महँगो मूल्यमा बिक्री भइरहेको गुनासो गरेका छन् । यद्यपि यसको आधिकारिक पुष्टि भने भएको छैन । बढ्दो गुनासोपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्र बनाएको छ । तर, अनुगमन मात्रले समस्या समाधान नभएको उपभोक्ताको भनाइ छ । उनीहरू बजारमा नियमित र पर्याप्त आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने माग गरिरहेका छन् । अहिले ग्यास आएका बेला भिड व्यवस्थापन गर्न प्रहरीको सहयोगसमेत लिनुपर्ने अवस्था सिर्जना भएको छ । सीमित सिलिन्डर र अत्यधिक मागका कारण वितरण प्रक्रिया नियन्त्रणबाहिर जान सक्ने जोखिम भएपछि सुरक्षाकर्मी परिचालन गरेर वितरण गर्नुपर्ने अवस्था आएको विक्रेताहरू बताउँछन् ।

दाङजस्तो ठूलो उपभोक्ता बजारमा एलपी ग्यासको आपूर्ति असन्तुलित हुँदा यसको असर केवल भान्सासम्म सीमित छैन । सर्वसाधारणको समय, श्रम र दैनिक जीवनमा प्रत्यक्ष प्रभाव परेको छ । सरकारले पूरा सिलिन्डर वितरणको निर्णय गरे पनि त्यसअनुसार आपूर्ति प्रणाली सुदृढ हुन नसक्दा नीति र व्यवहारबीचको अन्तर स्पष्ट देखिएको छ । उपभोक्ताको एउटै अपेक्षा छ—ग्यास लिन दिनौंसम्म लाइन बस्नुपर्ने बाध्यता अन्त्य होस् । नियमित र पर्याप्त आपूर्ति भए मात्रै अहिले देखिएको अन्योल, भीड र सास्ती हट्ने विश्वास उनीहरूको छ । जबसम्म आपूर्ति प्रणाली व्यवस्थित हुँदैन, दाङका धेरै घरका भान्सामा चुलो बाल्नुभन्दा पहिले ग्यासको लाइनमा उभिनुपर्ने अवस्था भने कायमै रहने देखिन्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।