नेपालगन्ज, साउन २१ नेपालमा जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान गराउने र पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने अभ्यास अझै अपेक्षित स्तरमा पुग्न नसकेको अवस्थामा भेरी अस्पतालले प्रभावकारी स्तनपान प्रवद्र्धनका लागि जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । विश्व स्तनपान सप्ताह–२०८३ को अवसरमा ‘दिगो जीवनको स्वास्थ्य सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा स्वास्थ्यकर्मी र सुत्केरी आमाहरूलाई स्तनपानको महत्व तथा सही अभ्यासबारे जानकारी दिइएको हो ।
कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट, नर्सिङ प्रमुख, विभागीय प्रमुख, चिकित्सक, नर्सिङकर्मीसहित हालै शिशु जन्माएका आमाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्ने, शिशुलाई पहिलो ६ महिनासम्म आमाको दूधबाहेक अन्य कुनै खानेकुरा वा पेय पदार्थ नदिनुपर्ने तथा ६ महिनापछि उपयुक्त पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने विषयमा जानकारी प्रदान गरिएको थियो ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ अनुसार नेपालमा ० देखि ५ महिनासम्मका शिशुमध्ये ५६ प्रतिशतले मात्र पूर्ण स्तनपान प्राप्त गर्ने गरेका छन् । त्यस्तै, ० देखि २३ महिनासम्मका ५५ प्रतिशत शिशुलाई मात्र जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान गराइने गरेको तथ्यांक छ । यद्यपि करिब ९९ प्रतिशत बालबालिकाले जीवनको कुनै न कुनै समयमा आमाको दूध पाउने गरेका छन् । अस्पतालका अनुसार यी तथ्यांकले समयमै स्तनपान सुरु गर्ने र पहिलो ६ महिनासम्म पूर्ण रूपमा आमाको दूध मात्र खुवाउने अभ्यासलाई अझ प्रभावकारी बनाउन समुदायस्तरसम्म व्यापक जनचेतना आवश्यक रहेको देखाउँछ ।

कार्यक्रमका क्रममा स्तनपान गराउने सही तरिका, आमाको दूधमा हुने पोषण तथा रोग प्रतिरोधात्मक क्षमता, शिशुको शारीरिक, मानसिक र बौद्धिक विकासमा स्तनपानले पुर्याउने योगदान तथा आमाको स्वास्थ्य संरक्षणमा यसको भूमिकाबारे सहभागीलाई जानकारी दिइएको थियो । सुत्केरी आमाहरूका जिज्ञासाको समेत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले समाधान गरेका थिए । भेरी अस्पतालले सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य तथा स्तनपान प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । अस्पतालले प्रभावकारी स्तनपानको अभ्यासलाई परिवार र समुदायस्तरमै स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको पनि जनाएको छ ।
















