नुवाकोट — त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि पहिरोले पुरिएको घरबाट ११ दिनपछि एक महिलाको जीवितै उद्धार गरिएको छ। बिदुर नगरपालिका–१० की चन्डिका श्रेष्ठलाई शनिबार बेत्रावतीस्थित पहिरोले आधा पुरिएको घरभित्रबाट प्रहरीले जीवितै उद्धार गरेको हो।
बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरमा चन्डिका पुरिएको अवस्थामा रहेको सूचना पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। घरभित्रबाट मानिसले आवाज दिएको जानकारी पाएलगत्तै प्रहरीले पहिरो हटाएर खोजी गर्दा चन्डिकालाई जीवित अवस्थामा फेला पारेको हो।
नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार पहिरोले आधा पुरिएको घरभित्र मानिस रहेको सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको थियो। उद्धारका क्रममा महिलालाई जीवितै फेला पारिएको उनले बताए।
११ दिनसम्म पहिरोभित्र पुरिएर पनि जीवित रहन सफल चन्डिकालाई उद्धारपछि तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको छ। लामो समयसम्म पहिरोभित्र रहेर पनि उनको जीवितै उद्धार भएपछि स्थानीय बासिन्दा र उद्धारमा खटिएका सुरक्षाकर्मी आश्चर्यचकित भएका छन्।

भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढी र त्यसपछि गएको पहिरोले बेत्रावती क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढी र पहिरोका कारण घर तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको थियो।
















