२०८३ मंसिर ६ शनिबार
२०८३ मंसिर ६ शनिबार

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा


कोहलपुर, मंसिर ५।  लुम्बिनी प्रदेशका १० जिल्ला कुष्ठरोगको जोखिममा रहेको तथ्य सार्वजनिक भएको छ । मधेस प्रदेशपछि लुम्बिनी कुष्ठरोगको उच्च जोखिममा रहेको दोस्रो प्रदेश बनेको छ । अझ चिन्ताजनक पक्ष, प्रदेशमा बालबालिकासमेत कुष्ठरोगबाट सङ्क्रमित भइरहेका छन् ।

नेपालमा कुष्ठरोग देखिएका १८ जिल्लामध्ये १० जिल्ला बाँकेको जानकी गाउँपालिका–मानपुरस्थित साइनिङ अस्पतालको सेवाक्षेत्रभित्र पर्छन् । यसले पश्चिम नेपालमा कुष्ठरोग नियन्त्रण र उपचार सेवालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ । आइएनएफ नेपालका मेडिकल सर्भिसेज निर्देशक डा. अरुणकुमार बुढाका अनुसार रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्ला कुष्ठरोगको जोखिममा छन् । प्रदेशमा बालबालिकामा समेत सङ्क्रमण देखिनु रोग नियन्त्रणको प्रयासमा चुनौतीका रूपमा देखिएको उनले बताए ।

नेपाल सरकारको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा देशभर करिब दुई हजार पाँच सय नयाँ कुष्ठरोगी पहिचान भएका छन् । तीमध्ये करिब २५ प्रतिशत लुम्बिनी प्रदेशका रहेको आइएनएफ नेपाल, साइनिङ अस्पताल बाँकेले जनाएको छ । कुष्ठरोगको सङ्क्रमण पहिचानमा ढिलाइ हुनुमा गरिबी, स्वास्थ्य सेवामा पहुँचको अभाव, सामाजिक भेदभाव र लाञ्छना प्रमुख कारण रहेको डा. बुढाको भनाइ छ । समयमै रोग पहिचान हुन नसक्दा उपचारमा ढिलाइ हुने र बिरामीमा अपाङ्गताको जोखिम बढ्ने समस्या रहेको उनले बताए ।

पश्चिम नेपालमा कुष्ठरोगको जोखिम बढ्दै गएको अवस्थामा बाँकेको साइनिङ अस्पताललाई क्षेत्रीय उपचार केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ । लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका बिरामीलाई लक्षित गरी अस्पतालको सेवा विस्तार गर्न लागिएको हो । हाल क्षेत्रीय प्रेषण केन्द्रका रूपमा सञ्चालन भइरहेको अस्पताललाई कुष्ठरोग तथा उष्ण उपेक्षित रोगसम्बन्धी उपचारको प्रमुख केन्द्र बनाउने लक्ष्य राखिएको डा. बुढाले जानकारी दिए ।

अस्पतालको अन्तरङ्ग सेवा विस्तारका लागि करिब दुई करोड ३५ लाख रुपैयाँ लागतमा भवन निर्माण भइरहेको छ । पाँचवटा वार्ड रहने भवनमा एकैपटक २५ जना बिरामी राख्न सकिनेछ । भवनमा ह्विलचेयरमैत्री शौचालय, नर्सिङ स्टेसन, उपचार कक्ष र औषधि भण्डारण कक्षलगायत सुविधा रहनेछन् । हालसम्म आइएनएफका पोखरास्थित हरियोखर्क अस्पताल, सुर्खेतस्थित साइनिङ अस्पताल र बाँकेको साइनिङ अस्पतालबाट छ हजार ७९ जनाले निःशुल्क उपचार सेवा लिइसकेका छन् ।

तर, अस्पतालको सेवा विस्तारसँगै दक्ष जनशक्ति व्यवस्थापन मुख्य चुनौतीका रूपमा रहेको छ । छाला रोग विशेषज्ञ, थेरापिस्ट, कृत्रिम अङ्ग तथा जुत्ता प्रविधिसम्बन्धी जनशक्ति र अन्य दक्ष कर्मचारीको आवश्यकता रहेको डा. बुढाले बताए । कुष्ठरोगका कारण हुने अपाङ्गताको पुनःस्थापना तथा नसर्ने रोगबाट उत्पन्न अपाङ्गताको व्यवस्थापन पनि चुनौतीपूर्ण रहेको उनले उल्लेख गरे ।

अस्पतालको सेवा विस्तार र निरन्तर सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । आइएनएफका अन्तर्राष्ट्रिय कार्यकारी प्रमुख रिचर्ड रिभले नेपालमा कुष्ठरोग नियन्त्रणका लागि ठूलो धनराशि खर्च भइरहेको र त्यसबाट आशातीत उपलब्धि हासिल भएको बताए । उनले नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले प्रदेश सरकार अस्पतालसँग सहकार्य गर्न तयार रहेको बताए । नेपाल सरकारले सन् २०३० सम्म कुष्ठरोगलाई शून्यमा झार्ने लक्ष्यसहित रणनीति अघि सारेको छ ।

कुष्ठरोग उपचारबाट निको हुने रोग भए पनि समयमै पहिचान र उपचार नहुँदा अपाङ्गता तथा सामाजिक बहिष्करणको समस्या निम्तिन सक्छ । त्यसैले जोखिममा रहेका जिल्लामा परीक्षण, जनचेतना, सहज उपचार पहुँच र सामाजिक लाञ्छना अन्त्य गर्ने अभियानलाई प्रभावकारी बनाउनु चुनौतीपूर्ण देखिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।