सुर्खेत । सम्भावित भारी वर्षासँगै बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भन्दै वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै असोज ९ गते नगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द रहने जनाएको हो।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सम्बन्धित निकायबाट प्राप्त मौसमसम्बन्धी प्रारम्भिक अनुमानअनुसार अत्यधिक वर्षा हुन सक्ने र त्यसबाट विपद्को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ७ गते जारी गरेको सूचनालाई आधार बनाएर विद्यालयमा एक दिन पठनपाठन स्थगन गरिएको हो।

अत्यधिक वर्षाका कारण विद्यार्थीको आवतजावतमा जोखिम हुन सक्ने तथा विद्यालय आसपासका क्षेत्रमा बाढी, डुबान र अन्य विपद् निम्तिन सक्ने भएकाले सावधानीस्वरूप विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले विद्यालय प्रशासन, शिक्षक तथा सम्बन्धित पक्षलाई सम्भावित विपद्को पूर्वतयारीमा जुट्न, आवश्यक समन्वय गर्न तथा विपद्को अवस्थामा आवश्यक सहजीकरणका लागि सक्रिय रहनसमेत आग्रह गरेको छ।














