बर्दिया, कात्तिक २८, बर्दियाको गुलरिया नगरपालिका–३ निमकोठियामा कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ । सामान्य विवादका क्रममा छिमेकीबीच भएको झगडामा कुटपिटबाट घाइते भएकी ३६ वर्षीया रुपरानी रैदासको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
मिति २०८२ कात्तिक २२ गते राति करिब ८ बजे सुरेश रैदास र उनकी श्रीमती रुपरानी रैदासलाई सोही ठाउँका ४५ वर्षीय बालक राम रैदास, उनका बुहारी २२/२३ वर्षीया जुगुन्ता रैदास र ३६ वर्षीय कुवारे रैदासले सामूहिक रूपमा हात मुक्काले कुटपिट गरेका थिए । कुटपिटबाट रुपरानीको छाती र पेटमा चोट लागेपछि उनलाई स्थानीय मणि मेडिकल, खैरापुरमा उपचारका लागि लगिएको थियो ।
प्राथमिक उपचारपछि उनलाई घर फर्काइएको थियो तर कात्तिक २६ गते राति करिब ११ः३५ बजे अचानक छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि गुलरिया अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा सोही राति १२ः२० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । मृतकका श्रीमान सुरेश रैदासले पनि छाती दुख्ने समस्या देखिएको र औषधि सेवन गरिरहेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी खैरापुर ‘ख’ बर्दियाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको थियो ।
प्रहरीले कुटपिटमा संलग्न बालक राम रैदास, जुगुन्ता रैदास र कुवारे रैदासलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार घटनाको कारण सामान्य घरेलु विवाद रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।















