२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

मतदान केन्द्रमा सुरक्षा अधिकारीहरुको अनुगमन

नेपालगन्ज, मंसिर १,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा अधिकारीहरुले जिल्लाका निर्वाचन केन्द्रहरुको स्थलगत रुपमा अनुगमन निरीक्षण गर्ने कार्य सुरु गर्नुभएको छ ।

जिल्लामा कायम गरिएका मतदानस्थल र मतदान केन्द्रहरुको सुरक्षा दृष्टिकोणले समग्र अवस्था बुझ्न तथा सोही बमोजिम स्थानीय सुरक्षा रणनीति तयार पार्न मतदान स्थलहरुको स्थलगत अनुगमन निरीक्षण सुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।

उनले निर्वाचनमा शान्ति सुरक्षा प्रमुख विषय भएको जनाउँदै सुरक्षा अवस्थामा कुनै चुक हुन नदिन स्थलगत रुपमा मतदानस्थलमै पुगेर समग्र अवस्था अध्ययन गरिरहेको बताए । प्रमुख जिल्ला अधिकारी तामाङले निर्वाचन सुरक्षा प्रशासन र प्रहरीको जिम्मेवारी भएकाले निर्वाचनका बेला खटाउनुपर्ने सुरक्षाकर्मीको संख्या र भौतिक पूर्वाधारको अवस्था कस्तो छ भनेर स्थलगत रुपमा अनुगमन गरिरहेको प्रष्ट पारे ।

उनले हालसम्म नरैैनापुर, राप्तीसोनारी, खजुरा र डुडुवा गाउँपालिकाका विभिन्न मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरेर अवस्था बुझ्ने कार्य भएको र सो क्रम जारी रहेको बताए । मतदानस्थल र मतदान केन्द्रको अवस्था तथा संवेदनशीलताका सम्बन्धमा विस्तृत जानकारी अध्ययन गरेर प्रतिवेदन दिन सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक कार्यदल गठन गरिएको प्रजिअ तामाङ्ले बताए ।

कार्यदलको प्रतिवेदनलाई हेरेर सुरक्षा रणनीति र योजना तयार गरिने पनि उनले जनाए । उता, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले पनि निर्वाचन सुरक्षालाई लक्षित गरेर जिल्लाका सुरक्षा प्रमुखहरुले फिल्डमा गएर मतदान केन्द्र र स्थलको अनुगमन गरिरहेको बताए ।

उनले अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्र निश्चित गरेर सोही अनुसार चुनावको बेला सुरक्षाकर्मी परिचालन गरिने बताए । मतदानस्थल र मतदान केन्द्रको स्थलगत अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी तामाङ, प्रहरी प्रमुख जिसीसँगै राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख हरिस बिष्ट र सशस्त्र प्रहरी बाँके बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनालको सहभागिता छ । निर्वाचन आयोगले बाँकेमा १३८ मतदान स्थल र ३८० मतदान केन्द्र निर्धारण गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।