२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

ब्रान्डिङ’ र ‘मार्केटिङ’ नहुँदा बाँके राष्ट्रिय निकुञ्जमा ६ जनामात्रै विदेशी पर्यटक

निकुञ्जका अधिकृतहरू भन्छन्, ‘हामीमा कमजोरी छैन, संरचनामा कमी छ । र प्रचारमा कमजोरी छ ।’ यति धेरै सम्भावना हुँदाहुँदै विदेशी पर्यटक किन रोकिँदैनन् ? यसको उत्तर धेरै गहिरो छैन, ‘ब्रान्डिङ’ र ‘मार्केटिङ’को अभाव ।’ एउटा पर्यटनस्थलले विश्वमै चिनिनका लागि वास्तविक सुन्दरता मात्र पर्याप्त हुँदैन, त्यस सुन्दरतालाई सही ढंगले ‘प्रस्तुत गर्ने’ तरिका चाहिन्छ ।

कोहलपुर, मंसिर ३, बाँके राष्ट्रिय निकुञ्जको नाम सुनिँदा धेरैलाई जंगली बाघ, घना वन, दुर्लभ चराचुरंगी र नेपालकै विशिष्ट जैविक मार्गको सम्झना आउनुपर्छ । तर वास्तविकता त्यसको ठीक उल्टो छ, ‘जहाँ बाघ, हात्ती, चराचुरंगी र ८ वटा फरकफरक इकोसिस्टमको धनी यो विशाल निकुञ्ज वर्षैभरि पर्यटकको प्रतीक्षामा खालीजस्तै छ ।’

चालु आर्थिक वर्ष अर्थात चार महिनामा यहाँ आएका विदेशी पर्यटकको संख्या मात्र ६ । त्यो पनि चारजना सार्कभित्र र दुईजना सार्कभन्दा बाहिरका । नेपाली मिलाएर २ सय ५० जना मात्र पर्यटक भित्रिएको तथ्यांक निकुञ्जको पर्यटन सम्भावनालाई होइन, बरु यसको उपयोग नहुँदो अवस्थालाई देखाउने सूचक बनेको छ । यति धनी वन, यति विविध जनावर तर यति कम पर्यटक ? किन ?

बाँके राष्ट्रिय निकुञ्जको जंगलमा बिहानै घाम छिर्नुअघि चराचुरंगीको आवाज एकैसाथ घन्किन्छ । कतै हरियो घाँसेमैदानमा बाघको पदचाप देखिन्छ, त कतै दलदली क्षेत्रमा चराहरू भिजेको पातमा खेलिरहेका हुन्छन् । वातावरण यस्तो छ कि प्रकृतिसँग नजिकिन चाहने कसैलाई पनि बाँधेर राखिदिन्छ । तर असल वातावरण मात्र पुर भलयगनजी हुने भए बाँके राष्ट्रिय निकुञ्ज अहिले पर्यटकले खचाखच भरिएको हुन्थ्यो । वास्तविकता उल्टो छ, ‘निकुञ्जका प्रवेशद्वार वर्षैभरि शून्यताले ढाकिन्छन् ।’ विदेशी पर्यटक त झन् नगण्य । पछिल्ला चार महिनामा जम्मा ६ जना मात्र । नेपालीसहित कूल २५० जना मात्रले भित्र प्रवेश गरेका छन् ।

नेपाल सरकारद्वारा २०६७ असार २८ गते स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज बाघ संरक्षणका लागि राष्ट्रको महŒवपूर्ण प्रतिबद्धताको परिणाम हो । बाघको बासस्थान र जैविक मार्ग जोगाउनका लागि बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर स्थापना गरिएको यो निकुञ्ज नेपालकै दसौँ राष्ट्रिय निकुञ्ज हो । भूगोल हेर्दा निकुञ्ज निकै अनुकूल स्थितिमा छ, ‘पूर्वमा शिवखोला, पश्चिममा कोहलपुर–सुर्खेत सडक, दक्षिणमा पूर्व–पश्चिम राजमार्ग र उत्तरमा चुरे पर्वत ।’ यो अवस्थाले यसलाई स्वाभाविक रूपमा सहज पहुँचयोग्य बनाउँछ । तर सहज पहुँचले पर्यटक तान्दैन, जबसम्म गन्तव्य आफैं बोल्दैन । बाँकेको गुनासो पनि यही हो, ‘हामीसँग देखाउन धेरै छ, तर भन्न कोही छैन ।’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल भन्छन्, ‘पर्यटकीय गतिविधिमा बाँके राष्ट्रिय निकुञ्ज सक्षम छ, धेरै सम्भावना छ । तर प्रचारप्रसार नहुँदा विदेशी पर्यटक आउन सकेका छैनन् ।’ कँडेलका अनुसार निकुञ्जले पर्यटनका चारवटा मोडेल अवलम्बन गरेको छ, ‘पर्यापर्यटन, साहसिक पर्यटन, धार्मिक पर्यटन र कृषि–वन (एग्रो–फरेस्ट) पर्यटन ।’ यी चारै मोडेलले निकुञ्जलाई बहुआयामिक पर्यटनस्थल बनाउन सक्थे । तर सम्भावना कागजमै रह्यो, पर्यटक आएनन् ।

पर्यटनका लागि सम्भावना जति छ, समस्या त्यति नै छन् । सबैभन्दा ठूलो चुनौती हो, ‘बर्दिया राष्ट्रिय निकुञ्जको छायाँमा परिरहेको बाँके ।’ विदेशी पर्यटकको ठूलो हिस्सा बाँके भएरै बर्दिया प्रवेश गर्छन् । उनीहरू यतैबाट जंगलको गन्ध सूँघ्दै बर्दिया जान्छन् तर बीचमै बाँके ओर्लिएर हेर्न चाहँदैनन् । यात्रा गर्ने पर्यटकहरूको नजरमा बाँके राष्ट्रिय निकुञ्ज गन्तव्य होइन, ‘पास–थ्रु रुट’ मात्र बनेको छ । बर्दिया ख्यातिप्राप्त भयो, बाँके प्रवेशद्वार मात्र । यसले बाँके राष्ट्रिय निकुञ्जलाई शून्यतिर धकेलिदिएको छ ।

तर प्राकृतिक दृष्टिले बाँके कुनै पनि निकुञ्जभन्दा कम छैन । यो निकुञ्ज जैविक विविधताको खजाना हो ८ वटा इकोसिस्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी चराहरू, ५८ माछा, २२ सरीसृप तथा ६ उभयचर प्रजाति । यति धेरै प्रजाति एउटै क्षेत्रमा पाइने अवस्था नेपालमै दुर्लभ हो । सन् २०१८ को बाघ गणनाले निकुञ्जमा २१ वटा पाटेबाघ रहेको पुष्टि गरेको छ । यति महŒवपूर्ण बाघको बासस्थान भएको ठाउँ अझै पनि धेरैको नजरमा बाधारहित जंगल मात्र देखिनु विडम्बनापूर्ण छ ।

निकुञ्ज भित्रकै कर्मचारिहरू भन्छन्, ‘हामीसँग बाघ छ, जंगल छ, चराचुरंगी छ । तर आउने मान्छे छैन ।’ पर्याप्त सफारी सेवा छैन, व्याख्या केन्द्र कम छन्, आवास–सुविधा सीमित छन् । बर्दिया जाने पर्यटकलाई बाँकेमै रोक्न सक्ने आकर्षक प्याकेज, स्पष्ट मार्गदर्शन र डिजिटल प्रमोशनको अभाव छ । विदेशबाट आउने पर्यटकले नेपालबारे जानकारी लिन खोज्दा बर्दिया, चितवन, कञ्चनपुरका बर्दिया र शुक्लाफाँटा पहिलो सूचीमा देखिन्छन् । बाँके भने त्यो सूचीको पछिल्लो लाइनमा कतै छ । जब सम्म गन्तव्यको पहिचान निर्माण हुँदैन, पर्यटकको पाइला रोकिँदैन ।

बाँके राष्ट्रिय निकुञ्ज र आसपासको समुदायबीच पनि विशेष सम्बन्ध छ । बफर जोनमा ४३ हजारभन्दा बढी मानिस बस्छन्, जसको दैनिकी जंगलसँग गाँसिएको छ घाँसदाउरा, चरन, दाउरा, काठ, माछामारी । उनीहरूका गतिविधिले कहिलेकाहीँ निकुञ्जभित्रका वन्यजन्तुमा दबाब सिर्जना गरिरहेको छ भने निकुञ्जले उनीहरूका दैनिक आवश्यकतामा रोकावट पुर्‍याइरहेको अनुभव पनि उनीहरूले गर्छन् । निकुञ्ज विस्तार भएको केही गाउँमा मानिसले घाँस–दाउरा लिन टाढासम्म जानुपर्ने बाध्यता छ । तर संरक्षणसँगै सामुदायिक पर्यटन विकास भए स्थानीयको रोजगारी र आयआर्जन दुवै बढ्न सक्थ्यो । बर्ड–वाचिङ ट्रेल, होमस्टे, फोटोग्राफी सफारी, सांस्कृतिक पर्यटन, समुदाय–आधारित क्याम्पिङ यी सबै कार्यक्रम सहजै विस्तार गर्न सकिने विषय हो । तर योजनाको कमी र प्राथमिकता नदिँदा यी सम्भावनाहरू लामो समयदेखि लत्रिएको छ ।

निकुञ्जका अधिकृतहरू भन्छन्, ‘हामीमा कमजोरी छैन, संरचनामा कमी छ । र प्रचारमा कमजोरी छ ।’ यति धेरै सम्भावना हुँदाहुँदै विदेशी पर्यटक किन रोकिँदैनन् ? यसको उत्तर धेरै गहिरो छैन, ‘ब्रान्डिङ’ र ‘मार्केटिङ’को अभाव ।’ एउटा पर्यटनस्थलले विश्वमै चिनिनका लागि वास्तविक सुन्दरता मात्र पर्याप्त हुँदैन, त्यस सुन्दरतालाई सही ढंगले ‘प्रस्तुत गर्ने’ तरिका चाहिन्छ ।

बर्दिया र चितवन पर्यटकले छान्ने दोस्रो कारण सोही हो सुगठित प्रचार, व्यवस्थित प्याकेज, प्रशिक्षित गाइड र विश्वव्यापी डिजिटल उपस्थिति । बाँके राष्ट्रिय निकुञ्जसँग यीमध्ये धेरै छैनन् । कहिलेकाहिँ पर्यटकले बाँके पुगेरै पनि निकुञ्जबारे स्पष्ट जानकारी नपाई फर्किएको उदाहरणहरू छन् । प्रवेशद्वार नजिकै स्पष्ट सूचना केन्द्र नहुँदा, अनलाइनमा उपलब्ध सामग्री सीमित हुँदा, र सफारी सुविधा विविध नहुँदा अन्तर्राष्ट्रिय पर्यटकका लागि बाँके ‘विजिट–फर–अनावर’ गन्तव्य बन्न सकेको छैन ।

तर बाँके राष्ट्रिय निकुञ्जको भविष्य निराशाजनक भने होइन । यो निकुञ्ज ऐन–थपिदिएको पाटो होइन, नेपालको संरक्षण सफलताको एउटा आधार स्तम्भ हो । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको जैविक मार्गका कारण यो क्षेत्रमा दुर्लभ वन्यजन्तुको सुरक्षित बसाइँ सुनिश्चित हुन्छ । बाघ संरक्षणका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न बाँकेले महŒवपूर्ण भूमिका खेलेको छ साथै जैविक विविधताको अध्ययन, अनुसन्धान र संरक्षणका लागि यो एक खुला कक्षा हो ।
आवश्यकता भनेको अब संरक्षण मात्रै होइन, पर्यटनलाई पनि समान महŒव दिनु हो । राज्य, निकुञ्ज प्रशासन र स्थानीय समुदाय एउटै योजनामा उभिए, बाँके राष्ट्रिय निकुञ्जलाई बर्दियाको छायाँबाट निकालेर स्वाधीन पर्यटन गन्तव्य बनाउन सकिन्छ ।
– सुगठित ‘टाइगर टुरिजम’
– बर्ड–वाचिङ र फोटोग्राफी प्याकेज
– एडभेन्चर ट्रेल
– धार्मिक–सांस्कृतिक मार्ग
– कृषि–वन सामुदायिक अनुभव
यी सबैलाई एकीकृत अभियान बनाएर प्रस्तुत गरियो भने बाँके राष्ट्रिय निकुञ्ज पर्यटकलाई रोक्ने मात्रै होइन, आकर्षित गर्न पनि सक्षम हुनेछ । आज बाँके राष्ट्रिय निकुञ्ज सुनसान छ । प्रवेशद्वार शान्त छ, सडक खाली छन्, बाघको पदचाप त भेटिन्छ तर ती नियाल्न आउने पर्यटकको नजर दुर्लभ छ । तर शून्यता स्थायी हुनु हुँदैन । बाँकेको मौनता प्रचार–प्रसार, संरचना विकास र समन्वयित प्रयासले तोडिएको खण्डमा यो निकुञ्ज नेपालकै प्रमुख वाइल्डलाइफ पर्यटनस्थल बन्न सक्ने क्षमता राख्छ ।
वास्तविक प्रश्न के हो भने, ‘सबै सम्भावना र स्रोत हुँदाहुँदै पनि बाँके राष्ट्रिय निकुञ्जले पर्यटक किन पायन ?’ उत्तर स्पष्ट छ, ‘संसारले बाँकेलाई अझै चिनेन ।’ अब काम भनेको यही, ‘बाँके राष्ट्रिय निकुञ्जलाई देखिने बनाउने, सुगम बनाउने र प्रस्तुत गर्ने ।’ एक दिन पर्यटक आएर यही जंगलमा उभिएर भन्न सकुँन्, ‘बर्दिया मात्र होइन, बाँके पनि हेर्नैपर्छ ।’ त्यो दिन नजिकै छ, यदि आजैबाट बाँकेले आफ्नै आवाज संसारसम्म पुर्‍याउन सक्यो भने ।

‘बाघ छ, तर बाघ हेर्न मान्छे छैनन्‌’

२०६७ असार २८ मा सरकारको बाघ संरक्षण प्रतिबद्धता अनुसार ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज प्रारम्भदेखि नै पाटेबाघ र एशियाली हात्तीको महŒवपूर्ण बासस्थान मानिन्छ ।
सन् २०१८ को बाघ गणना अनुसार यहाँ २१ वटा पाटेबाघ छन् । यो संख्या बढेको हुन सक्ने अनुमान गरिएको छ । बाघ हेर्न सकिने, नजिकैबाट चराचुरंगीका दर्जनौँ प्रजाति सुन्न र देख्न सकिने सम्भावना भएकै कारण यो निकुञ्ज ‘वाइल्डलाइफ टुरिजम’ को एक आकर्षक गन्तव्य बन्नुपर्ने थियो । तर यो ‘गन्तव्य’ आजपनि धेरैको लागि अपरिचित छ ।
स्थानीय गाइडहरू भन्छन्, ‘बाघ छ, जंगल छ, चराचुरंगी छ । तर बाघ हेर्न मान्छे नै आएनन् भने भन्ने काम छैन ।’

 

किन जाने निकुञ्जमा
१. जंगल सफारीः
– स्वदेशी तथा विदेशी पर्यटकले जिपमार्फत निकुञ्जभित्र सफारी गर्ने ।
– जंगलमा पाटेबाघ, चितुवा, चित्तल, बँदेल, चौकालगायत वन्यजन्तु अवलोकन गर्ने अवसर ।
– विभिन्न जंगल पथ र मचानहरूमा बसेर वन्यजन्तु प्रत्यक्ष अवलोकन ।
२. पदयात्रा (ट्रेकिङ/हाइकिङ)ः
– निकुञ्जभित्र पूर्वनिर्मित वन पथमार्गमा पदयात्रा गर्ने ।
– पर्यटकले जंगलको प्राकृतिक वातावरण अनुभव गर्ने ।
३. जंगल ‘नाइट स्टे’ (रातभर जंगलमा बस्ने)ः
– होमस्टे र कम्युनिटी मचानमा रातभर बस्ने सुविधा ।
– विदेशी पर्यटक प्रायः नाइट स्टे अनुभव गर्न मन पराउँछन् ।
४. पर्यटन पूर्वाधार उपयोगः
– करिब १ दर्जन मचान, २५ सोलार जडित ताल, चार सय ५० हेक्टर घाँसे मैदान, चार ठुला जलाशय ।
– २०० किलोमिटरभन्दा बढी वन पथ र मचानको उपयोग गरेर पर्यटकलाई घुमाउने ।
५. स्थानीय पर्यटन व्यवसायीहरूको संलग्नताः
– होटल, होमस्टे र रिसोर्टले निकुञ्जसँग जोडिएर सफारी, नाइट स्टे र अन्य क्रियाकलाप सञ्चालन ।
६. नेचर गाइड तालिम र पर्यटक सेवाः
– व्यवसायीहरूले नेचर गाइड तालिम लिएका छन् ।
– चार घण्टा र आठ घण्टाको जिप सफारी प्याकेज, साथै खाना र बस्ने व्यवस्था ।
७. जैविक अवलोकन र अनुसन्धानः
– वन्यजन्तु र चराचुरुङीको प्रत्यक्ष अवलोकन ।
– जैविक विविधता (८ इकोसिस्टम, १२४ वनस्पति प्रजाति, ३२ स्तनधारी, ३ सयभन्दा बढी चराका प्रजाति) अध्ययन गर्ने अवसर ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।