२०८२ चैत्र २९ आईतवार
२०८२ चैत्र २९ आईतवार

मधेसी समुदायमा शौचालयको प्रयोग बढ्दै

अहिले अधिकांश मधेसी बस्तीमा हेर्दा एउटा कुरा प्रस्ट बुझिन्छ, ‘सम्मान, सुरक्षा र स्वाभिमान बिस्तारै गाउँमा फर्कंदै छ ।’ महिलाहरू रातको अन्धेरो पर्खेर बस्नुपर्दैन । बालबच्चा घरमै सुरक्षित छन् । बुढाबुढीले जोखिमपूर्ण बाटो हिँड्नुपर्दैन । शौचालयले गाउँको स्वरूप मात्र बदलेको छैन, मानिसहरूको जीवन नै बदलेको छ ।

 

नेपालगन्ज, मंसिर ५  आजभन्दा दस वर्षअघि कार्यक्रमको क्रममा प्रवेज अलि राप्तीपारिको भगौडा गाउँ पुगेका थिए । बिहानैदेखि व्यस्त कार्यक्रममा दौडधुप भइरहेकै बेला एक दिन उनलाई शौच गर्नुपर्ने भयो । उनीले नजिकैका स्थानीयलाई सोधे, ‘शौचालय छ कि ?’ स्थानीयले जवाफ दिए, ‘लोठा पानी लिएर खेततिर जाऊ ।’ उनी खेततिर लागे, तर बसेनन् । शौच लागिरहे पनि खुला ठाउँमा बस्न नसक्ने असहजता थियो । गाउँमा गोपनीयता थिएन, संरचना थिएन, सहरमा जस्तो सहजता त झन् थिएन । केही दिनसम्म त्यही असहजता दोहोरिइरह्यो, शौच गर्नुपर्ने तर ठाउँ नपाइने विवशता ।
तर अहिले त्यही गाउँ पुग्दा उनी सहजै भन्छन्, ‘अब त शौचालय भेटिन्छ, खुसीसाथ शौच गर्न पाइन्छ । केही वर्षयता मधेसी समुदायका धेरै गाउँमा यस्ता परिवर्तन तीव्र देखिन थालेका छन् । खुलेआम शौच गर्नुपर्ने बाध्यता घट्दै गएको छ, संरचना बढेको छ, चेतना पलाएको छ ।’ नेपालगन्ज उपमहानगरपालिका–१९ फुटाहाका सिताराम रैदासलाई पनि आफ्नो पुरानो जीवन अझै बेरुकीसँग सम्झना आउँछ । करिब १५ वर्षअघि उनले घरमा शौचालय बनाउँदा गाउँमा केही घरमै मात्रै शौचालय थियो । त्यसभन्दा पहिला उनी हजुरबा–हजुरआमाले गरेझैँ खुला ठाउँमै जान्थे । बिहानबेलुका खेततिर जानुपर्ने, बाटोमा मानिस देखिन्छ कि भन्ने त्रास, महिलाले झनै सास्ती भोग्नुपर्ने अवस्था सबै निकै पीडादायी थियो । तराई क्षेत्रमा खुलेआम शौच गर्दा सर्पको जोखिम पनि ठूलो हुन्थ्यो । कहिलेकाहिँ त सर्पको बिगबिगीका कारण रातभरै बस्न नसक्ने अवस्थासमेत थियो । यही डर र लाजले उनले अन्ततः घरमा शौचालय बनाउनुपर्‍यो ।

अर्का स्थानीयले सम्झिन्छन्, ‘पहिले गाउँको सडक र डिलडिलमा दिसाको ढिस्को देखिन्थ्यो, हिँड्नै गाह्रो हुन्थ्यो । अहिले गाउँभर ९० प्रतिशतभन्दा बढी घरमा शौचालय देखिन्छ, बस्ती सफा देखिन्छ, घर–घरमा मर्यादा पुगेको अनुभूति हुन्छ ।’ शौचालयले उनीहरूको जीवनमा सुरक्षा मात्रै होइन, सम्मान पनि थपिदिएको छ । महिलाहरू, गर्भवती, बालबच्चा सबैका लागि यो परिवर्तन राहत बन्यो ।

२०७१ सालमा नेपालगन्ज उपमहानगरपालिका बनेपछि गाउँगाउँमा शौचालय निर्माणको अभियान चलेको थियो । स्थानीय अमृतलाल बर्मा भन्छन्, उपमहानगरको मापदण्डमा पर्नका लागि धेरै घरले त्यतिबेला शौचालय बनाउनैउबच्यो । सरकारबाट केही सामग्री सहयोग पनि आएको थियो । गाउँमा संरचना बन्न थालेपछि बस्तीको स्वरूप नै बदलिन थाल्यो । पहिले मान्छे हिँड्ने बाटोमा नै दिसा देखिन्थ्यो, अहिले त्यस्तो अवस्था छैन । सुन्दर बर्माले खुलेआम शौचको पीडा अझै ताजै छ । खुला ठाउँमा जाँदा कसैले देख्लान् कि भन्ने डर, मन खिन्न बनाउने बेइज्जतको अनुभव, भीडभाड भएका बेला बस्न नसक्ने समस्या यी सबै उनका वर्षौँका अनुभूति हुन् । कतिपय दिन त चहलपहलका कारण राम्रोसँग बस्नै नपाई फर्किनु परेको याद उनको मनमा अझै बाक्लै छ । उनी भन्छन्, पहिले घर–घरमा शौचालय नहुँदा बुढाबुढीदेखि साना बालकसम्म सबैले दुःख पाउँथे । कतिपयले त शौच गर्न जाँदै सर्पले टोक्दा ज्यानसमेत गुमाएका घटनाहरू गाउँलेहरूले देखेका छन् ।

यस्ता घटनाहरूले गाउँमा चेतना बिस्तारै बढ्दै गयो । अहिले धेरै घरमा पक्की शौचालय बन्न थालेका छन् । कच्ची घर बनाउनेले पनि नजिकै शौचालय बनाएका हुन्छन् । महिलाहरू सबैभन्दा बढी सहज भएको अनुभव गर्छन् । बिहानै उज्यालो हुन नपाउँदै खेततिर दौडनुपर्ने बाध्यता अब छैन । बालबालिकाले खुला ठाउँ खोज्दै हिँडनुपर्दैन । गाउँका बुढाबुढीले ‘लाज मर्नु’बाट मुक्ति पाएका छन् ।

फातिमा फाउण्डेसनकी अध्यक्ष मैमुना सिद्दीकी भन्छिन्, ‘पहिलेजस्तो अवस्था अब छैन । पहिले गाउँ–बस्ती सुनसान थिए, मानिसहरू खुलै बस्थे । अहिले बाटो–घाटो बनेपछि आवतजावत बढेको छ । बिहानै खेततिर मानिसहरू निस्कने भएकाले खुला शौच गर्न लाज लाग्न थाल्यो ।’ यही सामाजिक दबाबले पनि मानिसहरूलाई शौचालय बनाउन र प्रयोग गर्न प्रेरित गरेको उनले बताइन् । फातिमा फाउण्डेसनले गाउँका केही स्थानमा शौचालय बनाएर सहयोग गरेको अनुभव पनि उनी सुनाउँछिन् । पहिले मर्निङवाक जाँदा कयौँजनालाई ‘यस्तो गर्नु हुँदैन’ भन्दै सचेत बनाउनुपर्ने, तर अहिले बाटोमै खुलेआम शौच गर्ने दृश्य नदेखिने उनी बताउँछिन् ।

पत्रकार सिराज खानका अनुसार मधेसी समुदायले शौचालय प्रयोग नगर्नुको कारण मधेसको पहिचानसँग जोडिएको विषय होइन । यो शिक्षा, चेतना र आर्थिक अवस्था कमजोर भएका कारण हो । मधेसी समुदायभित्र हिन्दु र मुस्लिम दुवै छन्, र दुवै समुदायका केही ग्रामीण बस्तीमा समान समस्या देखिन्छ । तर सहरमा शिक्षित र आर्थिक रूपमा सक्षम परिवारमा शौचालय प्रयोग व्यापक छ । उनले बताउँन्, ‘विकासलाई सडक, पुल र भवनसँग मात्र जोड्ने सरकारी प्रवृत्तिले चेतना र व्यवहार परिवर्तनमा आवश्यक ध्यान दिन सकेन । यही कारण केही गाउँ शौचालयबिहीन छन् ।’

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि भन्छन्, ‘अहिले मधेसी समुदायमा शौचालय प्रयोग बिस्तारै बढ्दै गएको छ । चेतना र संरचना दुबै बढेका छन् । तर अझै करिब २० प्रतिशतजति परिवार खुला शौचमै निर्भर हुन सक्छन् । आर्थिक कमजोरी, शैक्षिक अभाव र पुरानो सोचका कारण केही घरसम्म सुविधा पुगेको छैन । ती घरका साना बालबच्चाले अझै सरसफाइमा जोखिम बोकिरहेका छन् ।’

बाँकेका मधेसी बस्तीले पछिल्ला वर्षमा अनुभव गरेको यो परिवर्तन एकसाथ धेरै कारणहरूको परिणाम हो, सरकारी अभियान, स्थानीय संस्थाहरूको सहयोग, चेतनाको विस्तार, महिलाहरूको सक्रियता, र सामाजिक दबाब । खुलेआम शौच अन्त्य भए पनि सबै घरभित्र सुविधा पुगेको छैन । अभावमा रहेका परिवारलाई संरचना निर्माणदेखि प्रयोगसम्म प्रेरणा र सहयोग पुर्‍याउन अझै धेरै गर्न बाँकी छ । तर आज फुटाहा, भगौडा र आसपासका धेरै गाउँहरू हेर्दा एउटा कुरा प्रस्ट बुझिन्छ, ‘सम्मान, सुरक्षा र स्वाभिमान बिस्तारै गाउँमा फर्कंदै छ ।’ महिलाहरू रातको अन्धेरो पर्खेर बस्नुपर्दैन । बालबच्चा घरमै सुरक्षित छन् । बुढाबुढीले जोखिमपूर्ण बाटो हिँड्नुपर्दैन । शौचालयले गाउँको स्वरूप मात्र बदलेको छैन, मानिसहरूको जीवन नै बदलेको छ ।

दस वर्षअघिको असहजता अहिले सुख र सहजतामा बदलिएको छ । र भविष्यमा शायद सिताराम रैदासजस्तै हजारौँ ग्रामीण भन्लान्, ‘पहिले कति दुःख थियो, अहिले त सहज र सम्मानपूर्ण जीवन पाइन्छ । खुलेआम शौचबाट सुरक्षातर्फ, र असहजताबाट सम्मानतर्फको यो यात्रा मधेसी समुदाय मात्र होइन, बाँकेको समग्र ग्रामीण जीवनका लागि मौन तर गहिरो सामाजिक क्रान्ति हो ।’

शौचालय प्रयोग गर्दासुरक्षित भइन्छ
शौचालय प्रयोग गर्दा मानिसहरू स्वास्थ्य, सुरक्षा र गोपनीयता—तीनै क्षेत्रमा सुरक्षित हुन्छन् । सरल भाषामा यसरी बुझ्न सकिन्छः
१. स्वास्थ्यका दृष्टिले सुरक्षित
– खुला ठाउँमा दिसापिसाब गर्दा फोहोर, मल–मूत्र, कीरा–किरानको सम्पर्कमा आएर रोग फैलिन्छ ।
– हैजा, झाडापखाला, टाइफाइड, आन्तरिक संक्रमणजस्ता रोग खुला दिसाबाट छिट्टै सर्छन् ।
– शौचालय प्रयोग गर्दा यस्ता रोगको जोखिम घट्छ र गाउँमा सरसफाइ राम्रो हुन्छ ।
– बच्चा र गर्भवती महिलाहरू रोगका जोखिमबाट जोगिन्छन् ।
२. सर्प, जनावर र दुर्घटनाबाट सुरक्षा
– तराई क्षेत्रमा खुला ठाउँमा जाँदा सर्प, बिच्छी वा जंगली जनावरको जोखिम उच्च हुन्छ ।
– रातमा खेतबारीतिर जाँदा खाल्डामा खस्ने, लड्ने, चोट लाग्ने घटना धेरै हुन्छ ।
– शौचालय भएकाले यी सबै प्राकृतिक जोखिमहरूबाट बच्न सकिन्छ ।
३. गोपनीयताको सुरक्षा
– खुला ठाउँमा बस्दा मानिसले देख्ला कि भन्ने डर, लाज र सामाजिक असहजता हुन्छ ।
– महिलाहरू, किशोरीहरू र वृद्धहरूले झन् ठूलो समस्या भोग्नुपर्छ ।
– घरमै शौचालय हुँदा लाज, तर्स, बेइज्जत हुनसक्ने डर सकिन्छ ।
४. वातावरणीय सुरक्षा
– खुला दिसाले बाटोघाटो, बस्ती, खोलानालामा प्रदूषण फैलाउँछ ।
– शौचालयले फोहोर नियन्त्रण गर्छ र गाउँ सफा, स्वस्थ र रमणीय देखिन थाल्छ ।
५. समय र ऊर्जा बचत
– रात–बिहान टाढासम्म खुला ठाउँ खोज्दै हिँड्नुपर्दैन ।
– वृद्ध, बालबालिका र महिलाले विशेष सहजता अनुभव गर्छन् ।
६. सामाजिक सुरक्षा तथा सम्मान
– घरमा शौचालय हुनु सामाजिक सम्मानसँग जोडिन्छ ।
– शौचालय प्रयोगले व्यक्तिगत स्वाभिमान र मर्यादा बढाउँछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।