कैलाली ,मंसिर १६ सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा बैठकमा सहभागी हुनका लागि गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च सुरक्षा अधिकारी धनगढी आइपुगेका छन् । धनगढीमा भोलि प्रदेश सुरक्षा बैठक हुँदै छ ।

सशस्त्र प्रहरी प्रमुख प्रहरी महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा सहसचिव आनन्द काफ्ले धनगढी आइपुगेका छन् । धनगढी पुगेलगत्तै गृहमन्त्री अर्यालले त्रिनगर भन्सार नाकाको निरीक्षण गरेका छन् । त्यस क्रममा उनले नाकास्थित शान्ति पुनर्स्थापना गृहका कर्मचारीसँग कुराकानी गरेका थिए । नाकामा उनले नेपाली सुरक्षाकर्मी र भारतीय सीमा सुरक्षा अधिकारीहरूसँग संयुक्त तस्बिर खिचाए ।
सुरक्षा गोष्ठीमा सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौतीहरू, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।









