तपाईं पनि कुनै प्रकारका नशा प्रयोग गर्नुहुन्छ ? यदी हुन्छ भने ख्याल गर्नूस् है । एकछिनको आनन्दले जीवननै समाप्त हुन सक्छ ! जिन्दगी बर्बादी त अवश्य नै हुन्छ । यस्ता उदाहरण समाजमा ‘फ्रन्ट लाइन’ मा छन् ।



नेपालगन्ज, मंसिर २१ नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस छेउमा भीड सामान्य थियो । तर त्यही भीडबीच एक युवती मृत फेला परेको खबरले सहरभरि बेचैनी फैलायो । ती युवती थिइन्, ‘राप्तीसोनारीकी २२ वर्षीया मिना ।’ केही समयदेखि ‘ब्राउन सुगर’ को चपेटामा परेकी उनी त्यही नशाको दलदलमै जीवन हार्दै गइन् । घरको आर्थिक अभाव, साथीहरूको प्रभाव र बेरोजगारीको निराशा यी सबैले मिलेर एक युवतीलाई एकछिनको आनन्दका नाममा अन्तिम मोडसम्म पुर्याइदियो । उनका आँखामा पनि भविष्यका सपनाहरू थिए, तर लतको तिर्सनाले अन्ततः ती सपनाहरू निल्यो ।
यति असामयिक मृत्यु, केवल घटनाको विवरण जस्तो सुनिए पनि यसले बाँकेको वास्तविकता नांगैै पारिदिन्छ । बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसी भन्छन्, ‘मृत्युमा थुप्रै कारण हुन्छन्, तर दुर्व्यसन एउटा महŒवपूर्ण कारण अवश्य हो ।’ यही कथन स्थानीय अवस्था बुझ्न पर्याप्त छ लागुपदार्थले बाँकेको समाजभित्र नयाँ नर्क निर्माण गरिरहेछ ।
भारतसँगको खुला सीमा र असहज निगरानीले बाँके अहिले लागुपदार्थको मुख्य प्रवेशविन्दु बनेको छ । खुला सीमा त नशाका कारोबारीका लागि खुला ढोका नै बनेको छ । रोजगारीको खोजी, व्यापार, उपचार वा भेटघाटका नाममा भारत जानेआउने सहजता दुर्भावनाका लागि उत्तिकै उपयोग भएको छ । आर्थिक वर्ष ०८१/०८२ मा मात्र २१३ वटा लागु पदार्थसम्बन्धी मुद्दा दर्ता भएका छन् भने ३१९ जना पक्राउ परेका छन् । चालु वर्षको साउनदेखि कार्तिकसम्मको अवधिमा ६१ मुद्दा दर्ता र ८७ पक्राउ—यो आँकडाले नशाको प्रवाह रोकिएको छैन, अझै तीव्र गतिमा फैलिँदैछ भन्ने संकेत दिन्छ । बाँकेका हिरासत कक्ष, अदालतको फाइल, कारागारका ओछ्यान जताततै ‘नशा’ नामको एकै अपराध च्यापिएको देखिन्छ ।
उत्तम उप्रेती वर्षौंदेखि दुर्व्यसनविरुद्ध अभियान चलाउँदै आएका व्यक्ति हुन् । उनका अनुसार यो समस्या कुनै सहर, कुनै परिवार वा कुनै परिस्थितिमा मात्र सीमित छैन । साथीभाइको लहलही, प्रेममा पाएको चोट, पढाइमा असफलता, आत्मविश्वासको कमी, बेरोजगारीले ल्याएको आन्तरिक तनाव यी सबै एकसाथ मिसिँदा युवा पुस्तालाई नशातिर धकेल्छ । अहिले त विद्यालयमा अध्ययनरत बालबालिकासमेत जोखिममा छन् । ‘रमाइलो’ भनेर सुरु हुने चुरोटको धुवाले कति जीवनको दिशा बदलिदिन्छ, यसका उदाहरण गाउँ–टोलमा सजिलै भेटिन्छन् ।
त्यस्तै एक उदाहरण हुन्, दिलराम । स्कुलमै चुरोट तान्न सिकेका उनलाई त्यो चुरोटको धुवाले १४ वर्षसम्म नशाको नर्कमा थामेर राख्यो । सुरुमा साथीहरूको उक्साहटमा चुरोट, पछि कोरेक्स र अन्य पदार्थ । परिवारलाई सुरुमा केही थाहा भएन । पढाइ खस्कियो, खर्च बढ्यो, व्यवहार बिग्रिन थाल्यो । १६ वर्ष पुग्दापुग्दा त उनी चोरी गर्नेसम्मको अवस्थासम्म पुगे । अन्ततः परिवारले कठिन निर्णय गर्दै उनलाई सुधारगृह पुर्यायो । एक वर्षको उपचार, मनोसामाजिक परामर्श र कडा आत्मसंयमपछि मात्र दिलराम पुरानो जीवन फर्काउन सफल भए । उनी अहिले आफैं जस्तै लतमा फसेकाहरूलाई उद्धार गर्न सक्रिय छन्, मुक्ति सम्भव छ भन्ने जिवन्त उदाहरण बनेर ।
यस्ता कथाले सतहमा एउटा कुरा प्रस्ट पार्छ नशा केवल शरीर बिगार्ने पदार्थ होइन, यो मानसिक उत्पीडन, सामाजिक विखण्डन र पारिवारिक विनाशको गलैँचा हो । तर यस समस्या समाधानका लागि प्रहरी मात्रै पर्याप्त हुँदैन । एसपी जिसी भन्छन्, ‘प्रहरी कडा हुन्छ–हुँदैन भन्ने बहस भन्दा ठूलो कुरा परिवार र समाजले कति जिम्मेवारी निर्वाह गर्छन् भन्ने हो ।’ उनी भन्छन्, ‘अभिभावकले आफ्नो बच्चाको समय, खर्च, साथी, व्यवहार यी सबै निगरानी गर्नुपर्छ । बच्चा विद्यालय गए कि गएन, घरमा को–कति भेट्न आउँछन्, हातमा कति पैसा छ । यी सामान्य जस्तै लाग्ने प्रश्नहरू नै धेरै युवालाई दुर्व्यसनबाट जोगाउन सक्षम हुन्छन् ।’
उनका अनुसार, दुर्व्यसनलाई ‘बदमासी’ बुझ्ने दृष्टिकोण नै गलत हो । यो रोग हो, उपचार आवश्यक छ, समयमै परामर्श र सुधारगृहमा पुर्याउन सके ज्यान जोगिन्छ । उनले जयसपुर, खजुराखुर्द जस्ता उच्च जोखिम क्षेत्रहरूमा कडाइ बढाएको बताउँछन् । स्थानीयले वर्षौंदेखि उजागर गर्दै आएका अवैध गतिविधि अहिले धेरै हदसम्म थामिएको दाबी पनि गर्छन् । तर उनी स्वयम् मान्छन्, ‘प्रहरी मात्रले यो समस्या उखेलिन्न । परिवार, विद्यालय, समाज र स्वयं युवाहरूको सहभागिता अनिवार्य छ ।’
मिनाको मृत्युले बाँकेको सामाजिक संरचना कति कमजोर बन्दैछ भन्ने प्रश्न उठाउँछ । नशाले ज्यान मात्रै लिंदैन भविष्य चुस्छ, परिवार तोड्छ, समाजलाई अविश्वासले भरिदिन्छ । एकछिनको आनन्दको खोजीमा युवाहरूले आफ्नो भोलि बेचिरहेका छन्, र हामी समाजका रूपमा मौन दर्शक बन्दै हिँडिरहेका छौँ । अन्त्यमा कुरा एउटैमा आएर अडिन्छ नशा फैलिएको छ, लत बढ्दैछ, मृत्युका घटनाहरू डर लाग्दो भइरहेका छन् । तर युवालाई फस्नै नदिने वातावरण निर्माण गर्ने जिम्मा भने परिवार, विद्यालय र समाजकै कन्धामा छ । उपचार, परामर्श, पुनर्स्थापना यी सबै सहायक उपाय हुन्, तर रोकथाम नै दीर्घकालीन समाधान हो ।
मिना र देविसरा अब फर्केर आउँदैनन्, तर उनीहरूको जीवनले दिएको चेतावनी भने बाँकेका सयौँ युवाहरूलाई बचाउन अझै उपयोगी हुन सक्छ । ‘एकछिनको आनन्द’ ले फेरि अर्को घरको उज्यालो चुस्ने अगाडि समाजले आंखा खोल्न जरुरी छ ।
मानिस किन लागुऔषध प्रयोग गर्न तानिन्छन् ?
– साथीभाइको प्रभाव
समूहमा फिट हुने चाहना, साथीले उक्साउने, ‘एकपटक तान कि के हुन्छ र’ भन्ने दबाब ।
– जिज्ञासा र नयाँ अनुभवको चाहना
थोरै ‘ट्राइ’ गर्छु भन्ने सोचले सुरु हुन्छ, तर विस्तारै लतमा बदलिन्छ ।
– मानसिक तनाव, अवसाद वा आघात
दुःख, दुःखद घटना, पारिवारिक कलह, प्रेममा धोका, आत्मग्लानी जस्ता अवस्थाबाट भाग्न खोज्दा नशातिर पुगिन्छ ।
– बेरोजगारी र भविष्यप्रतिको निराशा
लक्ष्यहीनता, आर्थिक अभावले आउने मानसिक दबाबले गलत बाटो रोज्न प्रेरित गर्छ ।
– परिवारिक निगरानीको कमी
बच्चाले कहाँ जान्छ, के गर्छ, कोसँग घुम्छ—थाहा नपाउँदा जोखिम बढ्छ ।
– सहज उपलब्धता
खुला सीमा, कमजोर निगरानी, बजारमै सजिलै पाइने वातावरणले पनि प्रयोगकर्ता बढाउँछ ।
– बाल्यकालमै अभिभावकीय वातावरण कमजोर हुनु
हिंसा, झगडा, उपेक्षा, असुरक्षित बाल्यकाल भएका व्यक्तिमा नशा प्रयोगको जोखिम बढी हुन्छ ।
– प्रेममा धोका वा सम्बन्ध विफलता
भावनात्मक पीडा कम गर्न खोज्दा नशातिर मोडिन सक्छन् ।
– कम आत्मविश्वास
आफूलाई कमजोर वा असफल ठान्ने युवाहरू ‘आफुलाई बलियो, ह्याप्पी, रिल्याक्स’ महसुस गराउन नसा प्रयोग गर्न सक्छन् ।
– रमाइलोको नाममा सुरु हुने सानो प्रयोग
चुरोट–सुरु, मदिरा–सुरु गर्दै जाँदा ‘रमाइलो’ को नाममा कठोर पदार्थसम्म पुग्न सकिन्छ ।
– परिवारमै नशा प्रयोग गर्ने सदस्य हुनु
घरमै यस्तो व्यवहार हेर्दा त्यसलाई सामान्य ठानिन्छ र जोखिम झनै बढ्छ ।
– सामाजिक–सांस्कृतिक कारण
केही समूहमा नशालाई ‘फेशन’, ‘स्टाइल’ वा ‘साहस’को रूपमा देखाइने पनि हुन्छ ।
– मनोवैज्ञानिक समस्या
यस्तो समस्या भएका व्यक्तिले आत्मशान्तिका लागि नसा प्रयोग गर्दा झनै लतमा फस्छन् ।
– आर्थिक लोभ
‘सस्तोमा ल्याएर साथीलाई महँगोमा बेचेर पैसा बनाउँछु’ भन्ने सोचले पनि युवालाई प्रयोगतर्फ तान्छ ।
कसरी कूलतबाट बच्ने
– गलत साथीसँग समय नबिताउने, दबाबमा कुनै पदार्थ नअंगाल्ने ।
– तनाव, पीडा वा एक्लोपनालाई सम्हाल्न स्वस्थ उपाय अपनाउने । जस्तै खेलकुद, ध्यान, संगीत, लेखन वा परामर्श ।
– परिवारसँग खुला संवाद राख्ने, आफ्ना समस्या र भावनाहरू साझा गर्ने ।
– जोखिमपूर्ण स्थान, परिवेश वा गतिविधिबाट टाढा रहने ।
– सामाजिक संजाल वा बाह्य प्रभावले गलत दिशामा नलैजाओस् भनी आफ्नो प्राथमिकता र लक्ष्य स्पष्ट राख्ने ।
– आफ्नो दैनिकी व्यवस्थित गर्ने—पढाइ, काम, समय व्यवस्थापन, आराम र दिमागलाई व्यस्त राख्ने सकारात्मक गतिविधि ।
– सुरुमै कुनै पदार्थ ‘सिर्फ एक पटक’ भनेर प्रयोग गर्न नखोज्ने, किनकि धेरै कूलत त्यहीबाट सुरु हुन्छ ।
– लागुऔषध वा अन्य कूलतका गलत प्रभावबारे विश्वसनीय जानकारी राख्ने र भ्रमबाट बच्ने ।
– मानसिक स्वास्थ्यमा समस्या छ भने लुकाएर होइन, तुरुन्तै विश्वासिलो व्यक्तिसँग वा विशेषज्ञसँग सहयोग लिने ।
– लक्ष्य–उन्मुख जीवनशैली बनाउने—भविष्यका योजना, सपना र जिम्मेवारीलाई हेरचाह गर्ने ।
कुतलमा फसेको कसरी थाहा पाउने
– कुनै पदार्थ वा व्यवहार (लागुऔषध, जुवा, मदिरा, मोबाइल, जुवा–तास आदि) नेपालको दैनिकीको केन्द्र बन्न थाल्नु ।
– “आज नगरूँ” भनेर ठाने पनि रोक्न नसक्ने अवस्था आउनु ।
– सुरुमा थोरैले काम चल्थ्यो, पछि त्यो मात्रा वा समय लगातार बढ्दै जानु ।
– पैसा, समय र ऊर्जा अत्यधिक खर्चिनु, तर नियन्त्रण गर्न नसक्नु ।
– परिवार, साथी वा सहकर्मीले बारम्बार सचेत गराइरहनु, तर आफैंले स्वीकार्न नसक्नु ।
– पढाइ, काम, सम्बन्ध, स्वास्थ्य वा व्यवहारमा नकारात्मक असर देखिन थाल्नु ।
– लत लागेको वस्तु/व्यवहार नपाउँदा रिस, चिन्ता, उदासी, हातखुट्टा काँपनु, निद्रा नलाग्ने जस्ता संकेत देखिनु ।
– आफूले लुकाउने, बहाना बनाउने, झूट बोल्ने, चोरीजस्ता समस्याग्रस्त व्यवहार देखिनु ।
– नियमित जीवनशैली बिग्रनु—निद्रा गडबड, भोक नलाग्ने/धेरै लाग्ने, स्वच्छतामा कमी ।
– एक्लै बस्न खोज्ने, सामाजिक गतिविधिबाट टाढा हुने, घर–परिवारसँग दूरी बढ्न थालेको महसुस हुनु ।










