२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

सरस्वती माविमा निःशुल्क स्वास्थ्य शिविर

राप्तीसोनारी, जेठ १२   राप्तीसोनारी गाउँपालिका–३ सरस्वती माध्यमिक विद्यालयमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालय लक्षित आँखा, नाक, कान, घाँटी तथा दन्त रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिएको शिविरमा १ सय ७४ जनाले सेवा लिएका छन् ।

राप्तीसोनारी गाउँपालिका र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर, बाँकेको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो । शिविरमार्फत आँखासम्बन्धी समस्या, कानका रोग, नाक–घाँटीका जटिलता तथा दन्त स्वास्थ्यसम्बन्धी प्रारम्भिक परीक्षणदेखि आवश्यक परामर्श तथा औषधि वितरणसम्मका सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।

स्वास्थ्यकर्मी सुमन चौधरीका अनुसार शिविरमा कुल १७४ जनाले स्वास्थ्य परीक्षण तथा सेवा लिएका छन् । जसमध्ये २७ जनाले आँखासम्बन्धी समस्या परीक्षण गराएका छन् भने ४० जनाले कानसम्बन्धी समस्या लिएर सेवा लिएका छन् । त्यसैगरी १०७ जनाले दन्त रोगसम्बन्धी उपचार तथा परामर्श लिएका छन् । उनले धेरैजसोमा सामान्य संक्रमण, दृष्टि कमजोरी, कानको फोहोर जम्ने समस्या तथा दाँतमा कीरा लाग्ने समस्या देखिएको जानकारी दिए ।

शिविरमा सहभागी स्थानीय बासिन्दाहरूले गाउँमै विशेषज्ञ सेवा पाउँदा सहज भएको बताएका छन् । टाढा अस्पताल धाउनुपर्ने बाध्यता हटेर समय र खर्च दुवै बचत भएको उनीहरूको भनाइ छ । विद्यार्थीहरूका लागि समेत यस्तो स्वास्थ्य परीक्षण उपयोगी भएको विद्यालय प्रशासनले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिइने जनाएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित विभिन्न विद्यालय तथा समुदायस्तरमा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका प्रतिनिधिहरूले बताएका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले पनि ग्रामीण स्वास्थ्य सेवामा सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ । नियमित स्वास्थ्य परीक्षण र सचेतनाले दीर्घकालीन रूपमा समुदायको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

शिविर सफलतापूर्वक सम्पन्न भएसँगै स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्यले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउन महत्वपूर्ण योगदान पुगेको सरोकारवालाहरूले बताएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।