कोहलपुर । कोहलपुर नगरपालिकामा सर्प संरक्षण, उद्दार तथा व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु भएको छ । कोहलपुर नगर प्रहरी तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा सुरु भएको तालिमको उद्घाटन प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गरेका हुन् ।
तालिममा नगर प्रहरी र बाँके राष्ट्रिय निकुञ्जका गरी २१ जनाको सहभागिता रहेको छ । सहभागीहरूलाई सर्पको पहिचान, विषालु तथा विषरहित सर्पबारे जानकारी, सर्पदंशपछि गरिने प्राथमिक उपचार, सर्प उद्दार तथा संरक्षणका विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
तालिमका सहजकर्ता चितवन राष्ट्रिय निकुञ्जका रेञ्जर यामबहादुर रावतले नेपालमा विशेषगरी जेठदेखि असोज महिनासम्म सर्पदंशका घटना बढी हुने भएकाले सचेतना र व्यवहारिक ज्ञान आवश्यक रहेको बताए । उनले सर्पको पहिचान र सुरक्षित उद्दारका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइने जानकारी दिए ।
विपद् व्यवस्थापन शाखा संयोजक पार्वती चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष लालबहादुर राना, नगर प्रहरी प्रमुख वीरबहादुर थापालगायतको सहभागिता रहेको थियो ।

नगर प्रहरी प्रमुख थापाले तालिमबाट नगर प्रहरी कर्मचारीलाई सर्प व्यवस्थापन तथा उद्दार कार्यमा आवश्यक सीप प्राप्त हुने विश्वास व्यक्त गरे । उनले सर्प देखिँदा अनावश्यक डर र हिंसात्मक व्यवहार नगरी सुरक्षित संरक्षण र उद्दारमा ध्यान दिनुपर्ने बताए ।
दुई दिनसम्म सञ्चालन हुने तालिम भोलि सम्पन्न हुने जनाइएको छ ।














