नेपालगञ्ज ,मंसिर २३ भ्रष्टाचार बिरुद्ध पाँचौं नेपालगञ्ज वाकाथन सम्पन्न भएको छ । भ्रष्टाचार बिरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज नेपालगञ्जमा वाकाथन सम्पन्न भएको हो । बिगत चार बर्षदेखि भइरहेको वाकाथनको पाँचौं संस्करण भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको सहकार्यमा सम्पन्न भएको हो ।

नेपालगञ्जको गणेशमान चौकबाट शुरु भएको वाकाथन बिपी चौक, त्रिभुवन चौक, सदरलाइन, जिल्ला प्रशासन कार्यालय हुँदै रामलिला मैदानमा पुगेर समापन भएको थियो । ‘भ्रष्टाचार बिरुद्ध सँगै हिँडौं’ भन्ने नाराका साथ भएको वाकाथनमा भ्रष्टाचार बिरुद्धका नाराहरु, गीतहरुमार्फत सडकबाट नागरिक समाजका प्रतिनिधिहरुले भ्रष्टाचार बिरुद्ध नागरिक ऐक्यबद्धता जनाएका थिए ।
रामलिला मैदानमा भएको समापन समारोहलाई नेपाल सरकारका पूर्ब सचिव एवम् राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, राप्तीसोनारी गाउपालिकाका उपप्रमुख मनिषासिंह थारु, डा. किशोर खत्री, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, जेनजी समूहका जीवन माझी लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्ब सचिव बास्कोटाले देशमा सुशासन र सदाचार बाहालीका लागि सरकार गम्भीर बन्नु पर्ने बताउनुभयो । उहाँले सबैले मिलेर सुशासनलाई बढावा दिनुपर्नेमा जोड दिएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले नेपालगञ्ज वाकाथन सुशासनको अभियानमा सकारात्मक पहलकदमी भएको बताए । उनले सुशासन प्रवद्र्धनका कार्यक्रमहरुमा जिल्ला प्रशासनले सहकार्य गर्ने बताए । वाकाथनको सञ्चालन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने वाकाथनको सहजीकरण बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।
कार्यक्रममा खुला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो । प्रतियोगितामा बिजयी हुन सफल २० जना प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । वाकाथनमा विभिन्न संघसंस्था, शैक्षिक निकायले ऐक्यबद्धता जनाएका थिए । पश्चिम नेपालमा हुने एक मात्र वाकाथनको मूख्य उद्देश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने रहेको बास नेपालका सूचना अधिकारी हेमराज भट्टले बताए ।









