नेपालगञ्ज, मंसिर २६ नेपालगञ्जस्थित मंगल प्रसाद नमुना माविमा विज्ञान प्रविधि प्रर्दशनी गरिएको छ । प्रदर्शनीको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । विद्यालय प्रांगणमा आज आयोजना गरिएको विज्ञान प्रविधि प्रदर्शनीमा विद्यार्थीहरुले विभिन्न सामग्री बनाएर प्रदर्शनीका लागि राखेका थिए । त्यस अवसरमा बोल्दै नगर प्रमुख विष्टले विद्यार्थीहरुलाई सिजर्नशील र जिज्ञासु बनाउन यस्ता प्रदर्शनी आवश्यक रहेको बताए । यसले विद्यार्थीहरुको क्षमता विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बार्षिक स्वीकृत कार्यक्रम अनुसार विद्यार्थीहरुमा खोज, अनुसन्धान र निर्माणको भावना जागृत गर्न विज्ञान प्रदर्शनी गरिएको विद्यालयकी प्रधानाध्यापक सन्ध्या गुप्ताले बताइन् । उनले विज्ञान प्रदर्शनका लागि देशभरका ४२ विद्यालय छनौट भएकोमा बाँकेको मंगल मावि एक मात्र विद्यालय रहेको जानकारी दिइन् । गुप्ताले विद्यालय र विद्यार्थीको उज्यालो भविष्यको लागि आफ्नो टिम लागिपर्ने बताउँदै साथ, सहयोग र सहकार्यका लागि स्थानीय सरकार, समुदाय र अभिभावकलाई आग्रह गरिन् । प्रदर्शनीमा उत्कृष्टताका आधारमा विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयकेश सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न सरोकारवाला ब्यक्तिहरुको उपस्थिति थियो । यसैबीच गत आइतबारदेखि सुरु भएको खेलकुद सप्ताहको पनि आजै समापन गरिएको छ । त्यस अवसरमा विभिन्न विधाका विजेताहरुलाई शिल्ड र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा नेपालगञ्जका पूर्व मेयर विजय गुप्ता, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दामोदर घिमिरेले गरेका थिए ।









