सुर्खेत, पुस २४ सुर्खेतको लेकबेशी नगरपालिका–८ मा डिभिजन वन कार्यालयको टोलीले ठूलो परिमाणमा जडीबुटी बरामद गरेको छ । मंगलबार राति करिब ८ बजे आरनटुडास्थित एक घरमा छापा मार्दा करिब सात टिप्पर जडीबुटी नियन्त्रणमा लिइएको हो । डिभिजन वन कार्यालयका अनुसार उक्त जडीबुटी अवैध रूपमा संकलन तथा भण्डारण गरिएको आशंका गरिएको छ ।यस घटनासँग सम्बन्धित ६५ वर्षीय वीर सिंह नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ ।
बरामद जडीबुटीलाई वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित सशस्त्र वन सुरक्षा पोस्ट काक्रेबिहारमा सुरक्षित राखिएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख राधाकृष्ण दासले जानकारी दिँदै भने, ‘ठुलो परिमाणमा जडीबुटी बरामद भएकाले विषयलाई गम्भीरतापूर्वक लिइएको छ । कानुनी प्रक्रिया अगाडि बढाइएको छ र अनुसन्धान जारी छ ।’ जडीबुटी अवैध रूपमा संकलन तथा व्यापार गरिनु नेपालका लागि चुनौतीपूर्ण विषय हो । प्राकृतिक स्रोतको संरक्षण र जैविक विविधता जोगाउन वन कार्यालयले यस किसिमका गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको बताएको छ । स्थानीय समुदायलाई समेत वन संरक्षणमा संलग्न गराउने अभियान तीव्र पारिएको छ ।
बरामद जडीबुटीको ठुलो परिमाणले यस किसिमको अवैध संकलन र तस्करीको सम्भावित नेटवर्क रहेको संकेत गरेको वन कार्यालयको बुझाइ छ । प्रहरीले वीर सिंह नेपालीसँग सम्बन्धित अन्य व्यक्तिहरूको पहिचान र संलग्नतालाई अनुसन्धानको दायरामा ल्याउने तयारी गरिरहेको छ ।
यस घटनाले सुर्खेतमा जडीबुटीको अवैध संकलन, व्यापार र संरक्षणबारे नयाँ चेतना जगाउने अपेक्षा गरिएको छ । कानुनी कार्यवाही पूरा भएपछि यस किसिमका घटनाले वन संरक्षणको महŒव र प्राकृतिक स्रोतको दुरुपयोगविरुद्धको सन्देश प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।













