नेपालगन्ज, माघ २३ नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यरत निर्वाचन परिचालन समितिले पार्टीको चुनावी तयारी र अवस्था बुझ्नका लागि केन्द्रीय सदस्यलाई विभिन्न प्रदेशमा प्रतिनिधिका रूपमा परिचालन गरेको हो । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, खटाइएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित जिल्लामा पार्टीको संगठनात्मक अवस्था, चुनावी परिचालन स्थिति र आवश्यक समन्वयका काम गर्नेछन् ।
लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा. गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह खटिएका छन् भने कपिलवस्तु, अर्घाखाँची, रूकुम पूर्व, प्युठान र रोल्पाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मीकि, छन्दबहादुर पहराई र केशव आचार्य जिम्मेवारीमा छन् । दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रंगमती शाही नियुक्त गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बैतडी, दार्चुला र बझाङमा हिमबहादुर रावल, निपा चोख्पाल र विद्यादेवी तिमिल्सिनालाई खटाइएको छ भने कैलाली र डडेल्धुरामा जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड जिम्मेवार छन् । डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्टलाई परिचालन गरिएको छ ।
कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापामा डा. डिला संग्रौलासहित भीष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बा खटिएका छन् । संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीका लागि अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी जिम्मेवार छन् ।बागमती, गण्डकी र लुम्बिनीका विभिन्न जिल्लामा समेत केन्द्रीय नेताहरू खटाइएका छन्, जसले पार्टीको संगठनात्मक सुदृढीकरण र निर्वाचन तयारी सुनिश्चित गर्नेछन् । कांग्रेसको यो कदमले निर्वाचन रणनीति सुदृढ गर्ने र स्थानीय तहमा प्रभावकारी परिचालनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।





















