२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

प्रतिष्ठासँगै राजनीतिक संकट वा शक्ति सञ्चितको परीक्षामा मोहम्मद ईश्तियाक राई हारे जोखिम, जिते सम्भावना

यसरी हेर्दा मोहम्मद ईश्तियाक राईका लागि आगामी चुनाव एक निर्वाचन होइन, ‘प्रतिष्ठाको परीक्षा हो ।’ जितेमा उनी फेरि सत्ताको केन्द्रतिर उक्लन सक्छन्, हारेमा राजनीतिक यात्रा ओरालोतर्फ धकेलिन सक्छ । बाँके–२ को चुनावी मैदानमा यसपटक ‘फलामका चिउरा चपाउनु’ सरह चुनौती छ । परिणामले मात्र उनको राजनीतिक भविष्यको दिशा स्पष्ट पार्नेछ ।

 

नेपालगन्ज, फागुन ०१ बाँके क्षेत्र नम्बर २ का चर्चित नेता मोहम्मद ईश्तियाक राई यतिबेला आफ्नो राजनीतिक यात्राकै सबैभन्दा संवेदनशील मोडमा उभिएका छन् । २०६४ सालदेखि निरन्तर चुनावी मैदानमा रहँदै आएका राईका लागि आगामी निर्वाचन प्रतिनिधित्वको प्रतिस्पर्धा मात्र होइन, शक्ति सञ्चित र राजनीतिक भविष्यको निर्णायक परीक्षा बनेको छ । पाँचौंपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका राईले यसअघि दुई जित र दुई हारको अनुभव बटुलिसकेका छन् । यसपटकको परिणामले भने उनको राजनीतिक उकालो–ओरालोको दिशा तय गर्ने धेरैको विश्लेषण छ ।

२०३६ कात्तिकमा बाँकेमा जन्मिएका राई राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका नेता हुन् । २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीति सुरु गरेका उनी २०६२/६३ को जनआन्दोलनपछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (मजफो)मा प्रवेश गरे । मधेस आन्दोलनको उभारसँगै उनले छोटो समयमै पार्टीभित्र प्रभाव बढाए । केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य र केन्द्रीय सचिवको जिम्मेवारी सम्हालेका राई आन्दोलनका क्रममा पटकपटक पक्राउ परे, हिरासत बसे । त्यसले उनलाई मधेस मुद्दाका ‘संघर्षशील’ नेताको छवि बनाइदियो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन बाँके क्षेत्र नम्बर २ बाट मजफोका उम्मेदवार बनेका राईले एमालेका दिनेशचन्द्र यादवलाई ठूलो मतान्तरले पराजित गर्दै जित हात पारे । मधेस आन्दोलनको लहर र नयाँ राजनीतिक शक्तिको उदयले उनलाई उचाइमा पुर्‍यायो । त्यसको दुई वर्षपछि उनी श्रम तथा यातायात व्यवस्थामन्त्री बने । मधेस केन्द्रित राजनीतिबाट संघीय सत्तासम्मको यात्रा उनको लागि ठूलो उपलब्धि थियो ।

तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनले पुरानै प्रतिस्पर्धी यादवसँग पराजय भोगे । मधेस आन्दोलनको ऊर्जा कमजोर बन्दै जाँदा र राष्ट्रिय राजनीतिक समीकरण फेरिँदा राईको आधार खस्किएको विश्लेषण गरियो । २०७४ सालमा भने उनी पुनः उभिए । संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका उनले नेकपा एमालेका पशुपति दयाल मिश्रालाई पराजित गर्दै संघीय संसद्मा पुनरागमन गरे । त्यसपछि केपी ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्री बने । संसद् विघटनपछि सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापना भई बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा समेत उनी केही समय भौतिक पूर्वाधार विकास मन्त्री भए । यसरी फरकफरक राजनीतिक समीकरणमा मन्त्री बन्ने अवसर पाएका उनी लचकदार र सत्तासँग निकट रहने नेताका रूपमा चिनिए ।

२०७९ सालको निर्वाचन भने उनका लागि धक्का सावित भयो । जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका राई राप्रपाका धवलशम्शेर जंगबहादुर राणासँग पराजित भए । अंकगणितीय हिसाबले हार भए पनि त्यसबेला उनको व्यक्तिगत छवि पूर्णरूपमा धुमिल भएको थिएन । तर पराजयले शक्ति सन्तुलनमा असर पार्ने संकेत देखिन थालेका छन् ।

यतिबेला उनी नेकपा एमालेको सूर्य चिन्हबाट चुनावी मैदानमा छन् । उनी औपचारिकरुपमा एमालेको सदस्यता लिएको विषय सार्वजनिक भएको छैन । उनले पनि आफू नेकपा एमालेको सदस्य भएको घोषणा गरेका छैनन् । उनी आफ्‌नो पुरानै राजनीतिक आस्था भए पनि चुनावमा भने सूर्य चिन्हबाट मैदानमा छन् । बाँके–२ क्षेत्रमा मुस्लिम समुदायको उल्लेख्य जनसंख्या छ, जहाँ उनी प्रभावशाली मानिन्छन् । तर पछिल्ला चुनावहरूले देखाएको छ, ‘समुदायगत आधार पर्याप्त हुँदैन, राष्ट्रिय राजनीतिक लहर, दलगत संगठन र स्थानीय समीकरण निर्णायक बन्छन् ।’

यसपटक उनको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका सुधान्सु कोइरालासँग देखिन्छ । कांग्रेसको परम्परागत संगठन, स्थानीय सञ्जाल र गठबन्धन रणनीतिले चुनावी समीकरण जटिल बनाएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि क्षेत्रमा सक्रियरूपमा चुनावी गतिविधिमा जुटेको छ । वैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपाले युवा र असन्तुष्ट मतदाता तान्न सक्ने आकलन छ, जसले परम्परागत दलका उम्मेदवारहरूलाई दबाबमा पार्न सक्छ । मत विभाजनको सम्भावनाले राईको जितको बाटो झनै कठिन देखिन्छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो चुनाव राईका लागि प्रतिष्ठाको प्रश्न बनेको छ । यदि उनले जित हात पारे भने उनले आफू अझै पनि बाँके २ मा प्रभावशाली र अपरिहार्य नेता रहेको सन्देश दिन सक्ने छन् । मन्त्री पद सम्हालेको अनुभव, विकास निर्माणमा योगदानको दाबी, धार्मिक–सांस्कृतिक सद्भावको अभियानजस्ता एजेन्डा लिएर उनी मतदातासमक्ष गएका छन् । नेपालगन्जको सहरी विकास र बाँके जिल्लाको भौतिक पूर्वाधारमा आफ्नो भूमिका उल्लेखनीय रहेको उनी दाबी गर्छन् । यदि मतदाताले त्यो दाबी स्वीकारे भने उनी राजनीतिक रूपमा पुनः सशक्त हुने सम्भावना रहन्छ ।

तर पराजयको अवस्था फरक हुनेछ । दुई जित र दुई हारपछि पाँचौं प्रतिस्पर्धामा फेरि हार बेहोर्नु उनको राजनीतिक यात्रामा ठूलो झट्का हुन सक्छ । पार्टीभित्रै उनको प्रभाव घट्ने, राष्ट्रिय राजनीतिमा भूमिका सीमित हुने र भविष्यका अवसरहरू संकूचित हुने जोखिम छ । मधेस केन्द्रित राजनीति राष्ट्रिय प्रतिस्पर्धामा कमजोर हुँदै गएको सन्दर्भमा उनको हारले त्यो प्रवृत्तिलाई झनै पुष्टि गर्नेछ ।

यसरी हेर्दा मोहम्मद ईश्तियाक राईका लागि आगामी चुनाव एक निर्वाचन होइन, ‘प्रतिष्ठाको परीक्षा हो ।’ जितेमा उनी फेरि सत्ताको केन्द्रतिर उक्लन सक्छन्, हारेमा राजनीतिक यात्रा ओरालोतर्फ धकेलिन सक्छ । बाँके–२ को चुनावी मैदानमा यसपटक ‘फलामका चिउरा चपाउनु’ सरह चुनौती छ । परिणामले मात्र उनको राजनीतिक भविष्यको दिशा स्पष्ट पार्नेछ ।

पाँच चुनावको यात्रा : हार–जितको चक्र

२०६४ सालदेखि निरन्तर चुनावी प्रतिस्पर्धामा रहेका मोहम्मद ईश्तियाक राईका लागि आगामी निर्वाचन पाँचौं अनुभव हुनेछ । पहिलो संविधानसभा निर्वाचन (२०६४) मा मधेसी जनअधिकार फोरमबाट बाँके–२ मा विजयी हुँदै राष्ट्रिय राजनीतिमा उदाएका राई २०७० मा पराजित भए ।
२०७४ मा पुनः संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर जित हात पारेका उनले २०७९ मा भने राप्रपाका धवलशम्शेर राणासँग हार बेहोरे । दुई जित र दुई हारको अनुभव बोकेका राईका लागि यसपटकको चुनाव ‘निर्णायक चक्र’ का रूपमा हेरिएको छ । परिणामले उनको राजनीतिक उकालो वा ओरालोको दिशा तय गर्ने विश्लेषण भइरहेको छ ।

मन्त्री पददेखि मैदानसम्म : सत्ता अनुभवको पूँजी

राईले आफ्नो राजनीतिक यात्रामा पटकपटक मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । २०६४ पछि उनी श्रम तथा यातायात व्यवस्थामन्त्री बने । २०७४ को निर्वाचनपछि केपी ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्री बनेका उनले संसद पुनर्स्थापनापछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा केही समय भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पनि सम्हाले ।

नेपालगन्जको सहरी विकास, सडक पूर्वाधार र धार्मिक–सांस्कृतिक सद्भावका क्षेत्रमा आफूले योगदान दिएको दाबी राईले गर्दै आएका छन् । यही अनुभव र विकास एजेन्डालाई उनले चुनावी पूँजीका रूपमा प्रयोग गर्ने संकेत देखिन्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।