२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

नेकपा एमालेको घोषणापत्र आर्थिक रुपान्तरण र विकास लक्षित

समग्रमा एमालेको घोषणापत्रले राजनीतिक स्थायित्व, आर्थिक रूपान्तरण र सुशासनलाई केन्द्रमा राख्दै विस्तृत कार्यदिशा प्रस्तुत गरेको छ । अब निर्वाचनमार्फत मतदाताले दिएको जनादेशले यी प्रतिबद्धता व्यवहारमा कत्तिको कार्यान्वयन हुन्छ भन्ने निर्धारण गर्नेछ । निर्वाचन–२०८२ लाई एमालेले विकास र विघटनबीचको छनोटका रूपमा व्याख्या गरेको छ । 

 

कोहलपुर, फागुन ८ आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो विस्तृत चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षालाई केन्द्रमा राखेर तयार पारिएको घोषणापत्रमा एमालेले राजनीतिक स्थायित्व, आर्थिक रूपान्तरण र सुशासनलाई मुख्य आधारस्तम्भ बनाएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयबाट सार्वजनिक गरिएको घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले देशलाई अस्थिरता, अविश्वास र विघटनकारी प्रवृत्तिबाट मुक्त गर्दै विकासको स्पष्ट दिशातर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले हालको राजनीतिक परिस्थितिलाई संवेदनशील मोडका रूपमा चित्रण गर्दै संविधान, लोकतन्त्र र राष्ट्रिय सार्वभौमसत्तामाथि चुनौती देखिएको उल्लेख गरेका छन् । यस्तो अवस्थामा स्थिर, स्पष्ट दृष्टिकोण भएको र निर्णय क्षमता सम्पन्न नेतृत्व आवश्यक रहेको दाबी गर्दै एमालेले आफूलाई त्यसको विकल्पका रूपमा प्रस्तुत गरेको छ ।

घोषणापत्रमा एमालेले ‘देश पहिले’ नीति अघि सार्दै राष्ट्रिय हितलाई सर्वोपरि राख्ने स्पष्ट सन्देश दिएको छ । पार्टीले राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको पूर्वशर्त मानेको छ । विगतमा सरकार गठन र विघटनको चक्रले विकास प्रक्रिया प्रभावित भएको उल्लेख गर्दै यसपटक स्थिर सरकार गठन गरी पाँच वर्षको कार्यकाल पूरा गर्ने लक्ष्य अघि सारिएको छ । राष्ट्रिय सहमति, विधिको शासन र संस्थागत सुदृढीकरणलाई एमालेले प्राथमिकता दिएको छ ।

आर्थिक क्षेत्रमा एमालेले महत्वाकांक्षी लक्ष्य प्रस्तुत गरेको छ । आधा दशकभित्र अर्थतन्त्रलाई सय खर्बको आकारमा पुर्‍याउने र एक दशकमा दुई सय खर्बमा विस्तार गर्ने लक्ष्य घोषणापत्रमा उल्लेख गरिएको छ । उत्पादनमुखी अर्थतन्त्र निर्माण, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्ने योजना अघि सारिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै सिँचाइ विस्तार, भण्डारण र बजारीकरण प्रणाली सुदृढ गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । कृषिलाई रोजगारी र आयको प्रमुख स्रोत बनाउने एमालेको दाबी छ ।

उद्योग क्षेत्र विस्तारलाई राष्ट्रिय समृद्धिको आधार मानिएको छ । औद्योगिक उत्पादनमा वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा २० प्रतिशत योगदान पुर्‍याउने लक्ष्य घोषणापत्रमा उल्लेख छ । ऊर्जा उत्पादन वृद्धि, स्वदेशी खपत र निर्यात विस्तारमार्फत हरित विकासको मार्ग अवलम्बन गर्ने नीति पार्टीले लिएको छ ।पूर्वाधार विकासलाई पनि एमालेले प्राथमिकतामा राखेको छ । विगतमा आफू नेतृत्वमा रहेको सरकारका पालामा सम्पन्न वा अघि बढाइएका नारायणगढ–बुटवल सडक विस्तार, मुग्लिन–पोखरा सडक, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, धरहरा पुनर्निर्माणजस्ता परियोजनालाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ । आगामी दिनमा काठमाडौं–तराई मधेश द्रुतमार्गलगायत रणनीतिक पूर्वाधार परियोजनालाई तीव्रता दिने उल्लेख गरिएको छ ।

सामाजिक क्षेत्रमा एमालेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई थप सुदृढ गर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने घोषणा गरेको छ । गुणस्तरीय शिक्षा, प्रविधिमैत्री पाठ्यक्रम र डिजिटल पूर्वाधार विस्तारमार्फत ज्ञानमा आधारित समाज निर्माण गर्ने योजना प्रस्तुत गरिएको छ । ‘सफा हात, स्वच्छ प्रशासन’ नारासहित भ्रष्टाचार नियन्त्रण र पारदर्शिता प्रवद्र्धनमा विशेष जोड दिइएको छ ।

विदेश नीतिका सन्दर्भमा एमालेले सन्तुलित र स्वाभिमानी कूटनीति अवलम्बन गर्ने उल्लेख गरेको छ । ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने सिद्धान्तलाई निरन्तरता दिँदै राष्ट्रिय स्वाधीनता र हितको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । गैरआवासीय नेपालीलाई लगानी र विकासमा सहभागी गराउने नीति पनि अघि सारिएको छ ।
युवा, प्रविधि र नवप्रवर्तनलाई भविष्यको आधारका रूपमा चित्रित गर्दै आईटी क्षेत्र, स्टार्टअप र डिजिटल अर्थतन्त्र विस्तार गर्ने योजना घोषणापत्रमा समेटिएको छ । स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई विदेश पलायन हुनुपर्ने बाध्यता अन्त्य गर्ने दाबी एमालेले गरेको छ ।

समग्रमा एमालेको घोषणापत्रले राजनीतिक स्थायित्व, आर्थिक रूपान्तरण र सुशासनलाई केन्द्रमा राख्दै विस्तृत कार्यदिशा प्रस्तुत गरेको छ । अब निर्वाचनमार्फत मतदाताले दिएको जनादेशले यी प्रतिबद्धता व्यवहारमा कत्तिको कार्यान्वयन हुन्छ भन्ने निर्धारण गर्नेछ । निर्वाचन–२०८२ लाई एमालेले विकास र विघटनबीचको छनोटका रूपमा व्याख्या गरेको छ । जनताको निर्णयले नै आगामी राजनीतिक दिशा तय गर्नेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।