सर्वेक्षण कार्य नेपालका २८ हिमाली जिल्लामा सञ्चालन भइरहेको छ । प्रारम्भिक चरणमा ११ प्रमुख जडिबुटी प्रजातिलाई प्राथमिकतामा राखिएको छ । तीमध्ये जटामसी, कुटकी, सेतकचिनी, पाँचऔले, सुगन्धवाल, गुच्ची च्याउ, यार्सागुम्बा, अतिस, सतुवा, पदमचाल र वन लसुन रहेका छन् । पछिल्लो समय वन लसुन लोपोन्मुख अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने देखिएको छ ।
नेपालगन्ज, चैत ४ नेपालमा जडिबुटीको वास्तविक अवस्था पहिचान गर्ने उद्देश्यसहित देशमै पहिलोपटक जडिबुटी स्रोत सर्वेक्षण सुरु गरिएको छ । नेपालको अर्थतन्त्रमा जडिबुटी व्यापारले महत्वपूर्ण योगदान दिँदै आएको भए पनि वन क्षेत्रमा यसको वास्तविक उपलब्धता, वितरण र दिगोपनाबारे यकिन तथ्यांकको अभाव रहँदै आएको थियो । सोही अभाव पूर्ति गर्न यो सर्वेक्षण थालिएको हो । दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साव) नेपालले ‘हिमाली जडिबुटीहरूको संरक्षण र दिगो व्यापार’ परियोजनामार्फत सर्वेक्षण अघि बढाएको हो । यसले जडिबुटीको वास्तविक अवस्था पत्ता लगाएर संरक्षण रणनीति निर्माण र अन्तर्राष्ट्रिय बजारमा व्यापार प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । जडिबुटी विज्ञ डा. दिपेश प्याकुरेलका अनुसार नेपालमा जडिबुटी प्रशस्त मात्रामा रहेको थाहा भए पनि कति परिमाणमा उपलब्ध छ भन्ने यकिन छैन । ‘वैज्ञानिक तथ्यांक संकलन भएपछि मात्रै वार्षिक रूपमा कति संकलन गर्न सकिन्छ भन्ने निर्धारण गर्न सकिन्छ,’ उनले भने, ‘यसले वन स्रोतको दिगो उपयोग सुनिश्चित गर्न मद्दत गर्छ ।’
सर्वेक्षण कार्य नेपालका २८ हिमाली जिल्लामा सञ्चालन भइरहेको छ । प्रारम्भिक चरणमा ११ प्रमुख जडिबुटी प्रजातिलाई प्राथमिकतामा राखिएको छ । तीमध्ये जटामसी, कुटकी, सेतकचिनी, पाँचऔले, सुगन्धवाल, गुच्ची च्याउ, यार्सागुम्बा, अतिस, सतुवा, पदमचाल र वन लसुन रहेका छन् । पछिल्लो समय वन लसुन लोपोन्मुख अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने देखिएको छ ।
कर्णाली प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्णले यस सर्वेक्षणले वनमा रहेका जडिबुटीको वास्तविक ‘स्टक’ थाहा पाउन मद्दत गर्ने बताए । ‘छिटफुट अध्ययन भए पनि देशव्यापी रूपमा एकैपटक गरिएको यो पहिलो प्रयास हो,’ उनले भने, ‘यसका आधारमा भविष्यमा कति संकलन गर्न सकिन्छ र कति निर्यात गर्न सकिन्छ भन्ने स्पष्ट हुनेछ ।’ वैज्ञानिक विधि प्रयोग गरी हिमाली क्षेत्रमा १,१७२ वटा प्लट निर्धारण गरेर सर्वेक्षण भइरहेको छ । हालसम्म २३९ वटा प्लटमा अध्ययन सम्पन्न भइसकेको छ । सर्वेक्षण मुख्यतः २,००० मिटरभन्दा माथिका क्षेत्रमा केन्द्रित छ भने केही स्थानमा ३,००० मिटरभन्दा माथि पनि अध्ययन भइरहेको छ ।
एन्सावका दिगो कृषि तथा जैविक स्रोत विशेषज्ञ दिपराज भुसालका अनुसार कठिन भूगोलका कारण सर्वेक्षण चुनौतीपूर्ण भए पनि हालसम्म करिब २०–२५ प्रतिशत काम सम्पन्न भइसकेको छ । ‘नेपालमा करिब ४४ प्रतिशत भूभाग वनले ढाकेको छ, तर जडिबुटीको यकिन तथ्यांक छैन,’ उनले भने, ‘यो अध्ययनले नीतिगत योजना निर्माण, पञ्चवर्षीय योजना तथा जडिबुटीमा आधारित जीविकोपार्जन गर्ने समुदायलाई सहयोग पुर्याउनेछ ।’ सर्वेक्षण नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको समन्वयमा एन्साव नेपालको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको हो । साथै, लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाबीच संकटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी जानकारी पनि आदानप्रदान गरिएको छ । सरकारले यस सर्वेक्षणलाई आधार बनाएर भविष्यमा जडिबुटीको दिगो उपयोग, संरक्षण र व्यवस्थित निर्यात नीति निर्माण गर्ने तयारी गरेको छ । यसले ग्रामीण तथा हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको आयआर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।





















