२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कोहलपुरमा जेन–जी आन्दोलनपछि अवरुद्ध राहदानी सेवा अझै ठप्प

राहदानी सेवा अवरुद्ध भएसँगै यस क्षेत्रका नागरिकलाई जिल्ला सदरमुकाम नेपालगन्ज पुगेर सेवा लिनुपर्ने बाध्यता सिर्जना भएको छ । दैनिक कामकाज र आर्थिक बोझ बढेको भन्दै सेवाग्राहीहरूले छिटो सेवा सुचारु गर्न माग गरिरहेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख अन्तिम सिँजालीले आन्दोलनका क्रममा भएको क्षतिले सेवा पुनःस्थापनामा ढिलाइ भएको बताइन् ।

कोहलपुर, चैत ९  ईलाका प्रशासन कार्यालय कोहलपुरमा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि अवरुद्ध भएको राहदानी सेवा अझै सञ्चालनमा आउन सकेको छैन । प्रदर्शनका क्रममा ईलाका प्रशासन कार्यालय कोहलपुरको भवनमा आगजनी भएपछि आवश्यक कागजात, कम्प्युटर उपकरण तथा अन्य सामग्री पूर्णरूपमा नष्ट भएका थिए । त्यसयता सेवा पुनःस्थापना हुन नसक्दा स्थानीय सेवाग्राहीहरू समस्यामा परेका छन् । राहदानी सेवा अवरुद्ध भएसँगै यस क्षेत्रका नागरिकलाई जिल्ला सदरमुकाम नेपालगन्ज पुगेर सेवा लिनुपर्ने बाध्यता सिर्जना भएको छ । दैनिक कामकाज र आर्थिक बोझ बढेको भन्दै सेवाग्राहीहरूले छिटो सेवा सुचारु गर्न माग गरिरहेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख अन्तिम सिँजालीले आन्दोलनका क्रममा भएको क्षतिले सेवा पुनःस्थापनामा ढिलाइ भएको बताइन् । ‘आन्दोलनका बेला आगजनी हुँदा कार्यालयका महŒवपूर्ण उपकरण र कागजात नष्ट भए । अहिले नयाँ उपकरण अभावमा सेवा सञ्चालन गर्न सकिएको छैन,’ उनले भनिन् ।

स्थानीय प्रशासनले गृह मन्त्रालयसँग आवश्यक उपकरण उपलब्ध गराउन पटकपटक अनुरोध गरेको जनाएको छ । तर हालसम्म राहदानीका लागि आवश्यक डिभाइस नआएको गुनासो गरिएको छ । ‘डिभाइस नआएसम्म सेवा सञ्चालन गर्न सम्भव छैन,’ उनले भनिन्, ‘स्थानीय स्तरबाटै खरिद गरेर ल्याए पनि त्यसमा आवश्यक सिस्टम जडान गृह मन्त्रालयबाटै हुनुपर्ने भएकाले काम अघि बढ्न सकेको छैन ।’
यसअघि ईलाका प्रशासन कार्यालय कोहलपुरबाट दैनिक ५० देखि ६० जनासम्म सेवाग्राहीले राहदानीका लागि आवेदन दिने तथा नवीकरण गर्ने गरेका थिए । सेवा बन्द भएपछि ती सबै सेवाग्राही प्रभावित भएका छन् । विशेषगरी वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवायुवती तथा विद्यार्थीहरू बढी समस्यामा परेका छन् । कोहलपुर–१० का एक सेवाग्राहीले राहदानी बनाउन नेपालगन्ज धाउनुपर्दा समय र खर्च दुवै बढेको बताए । ‘पहिले यहीँ सजिलै काम हुन्थ्यो, अहिले नेपालगन्ज जानु परिरहेको छ । गाडी भाडा, समय सबै खर्चिलो भयो,’ उनले गुनासो गरे ।

अर्का सेवाग्राहीले पनि लामो दूरी पार गरेर सेवा लिनुपर्दा झन्झट भएको बताए । ‘एकै कामका लागि दुई/तीन पटक नेपालगन्ज धाउनुपर्छ । स्थानीय स्तरमै सेवा पुनः सुरु भए ठूलो राहत हुने थियो,’ उनले भने । राहदानी सेवा सञ्चालनका लागि आवश्यक कम्प्युटर, बायोमेट्रिक उपकरण लगायत सामग्री तत्काल उपलब्ध गराउन स्थानीयवासीले माग गरेका छन् । सेवा सुचारु नहुँदा नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर परेको भन्दै सरोकारवालाहरूले छिटो पहल गर्न सरकारसँग आग्रह गरेका छन् । यसबीच स्थानीय प्रशासनले क्षतिग्रस्त संरचना पुनःनिर्माण र उपकरण व्यवस्थापनका लागि पहल जारी राखेको जनाएको छ । तर आवश्यक सामग्री केन्द्रबाट उपलब्ध नभएसम्म सेवा पूर्ण रूपमा सुचारु हुने सम्भावना न्यून देखिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।