पानी उद्योग महासंघले वाणिज्य विभागलाई पत्र लेखी अन्तर्राष्ट्रिय युद्ध र कच्चापदार्थको चरम अभावका कारण उद्योग सञ्चालनमै गम्भीर चुनौती थपिएको जनाएको छ ।
काठमाडौँ चैत १० गते नेपालका पानी उद्योगहरूले उत्पादन लागत अत्यधिक बढेको भन्दै जार तथा बोतलको पानीको मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन्। नेपाल पानी उद्योग महासंघ ले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा ज्ञापनपत्र बुझाउँदै अन्तर्राष्ट्रिय परिस्थितिका कारण उद्योग सञ्चालनमै गम्भीर संकट देखिएको जनाएको हो।
महासंघका अनुसार पछिल्ला महिनाहरूमा विश्व बजारमा देखिएको अस्थिरता, कच्चापदार्थको अभाव तथा आयात प्रक्रियामा आएको अवरोधले पानी उद्योगहरू प्रत्यक्ष प्रभावित भएका छन्। महासंघका अध्यक्ष विक्रम लिम्बू चेम्जोङ ले हस्ताक्षर गरेको पत्रमा तीन महिनादेखि प्रतीतपत्र (एलसी) नखुलेको र आवश्यक कच्चापदार्थको मौज्दात सकिन लागेको उल्लेख छ। तत्काल एलसी खोल्न र आयात सहजीकरण गरिदिन सरकारलाई आग्रह गरिएको छ।
महासंघले प्रस्तुत गरेको विवरणअनुसार फागुन दोस्रो सातादेखि अमेरिका–इजरायल र इरानबीचको तनावले पश्चिम एसियामा अस्थिरता बढाएको छ। यसको असर विश्व बजारमा कच्चा तेल (क्रुड पेट्रोलियम) आपूर्तिमा परेको छ। विशेषगरी स्ट्रेट अफ होर्मुज जस्तो महत्वपूर्ण समुद्री मार्ग प्रभावित हुँदा ओमान, इरान र यूएईबाट हुने आपूर्ति अवरुद्ध भएको उद्योगीहरूको भनाइ छ। यसले नेपालमा पानी प्याकिङका लागि आवश्यक कच्चापदार्थको अभाव निम्त्याएको छ।
पानी उद्योगका लागि आवश्यक बोतल, बिर्को (क्याप), लेबल, प्लास्टिक रोल र दानाजस्ता सामग्री आयातमा पूर्ण रूपमा समस्या देखिएको छ। महासंघका अनुसार देशका सातवटै प्रदेशमा कच्चापदार्थको मौज्दात अत्यन्त न्यून अवस्थामा पुगेको छ। एलसी नखुल्दा उद्योगहरू सञ्चालनमै समस्या आएको र कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको जनाइएको छ।
लागत विवरण हेर्दा उद्योगहरू अहिले घाटामा सञ्चालन भइरहेको देखिन्छ। महासंघले दिएको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा हाल एक लिटर प्रशोधित पानीको खुद्रा मूल्य १६ रुपैयाँ कायम भए पनि उत्पादन लागत नै सोभन्दा बढी पर्न थालेको छ। एक लिटर पानी उत्पादन गर्दा खाली बोतलमा ६ रुपैयाँ ८० पैसा, बिर्कोमा ८० पैसा, सिल र लेबलमा १ रुपैयाँ २० पैसा, प्याकिङ प्लास्टिकमा १ रुपैयाँ ३० पैसा खर्च हुन्छ। यसबाहेक बिजुली, कर्मचारी खर्च, मेसिनको मूल्यह्रास र क्षति जोड्दा कुल उत्पादन लागत १३ रुपैयाँ ८० पैसा पुग्ने देखिएको छ।
यसमा न्यूनतम नाफा, भ्याट र आयकरसमेत जोड्दा एक बोतल पानीको वास्तविक लागत १७ रुपैयाँ ४५ पैसा पुग्ने महासंघको दाबी छ। तर बजारमा १६ रुपैयाँमै बिक्री गर्नुपर्ने बाध्यताले उद्योगहरू निरन्तर घाटामा गएको उल्लेख गरिएको छ। “लागतभन्दा कम मूल्यमा बेच्नुपर्दा उद्योग टिकाउनै कठिन भएको छ,” महासंघले जनाएको छ।
त्यसैगरी २० लिटरको जार पानीको लागत पनि उल्लेखनीय रूपमा बढेको छ। महासंघका अनुसार एक जार पानी उत्पादनदेखि बजारसम्म पुर्याउँदा कुल लागत ५५ रुपैयाँ ६६ पैसा पुग्ने गरेको छ। जारको ह्रासकट्टी, बिर्को, लेबल, कर्मचारी खर्च, भाडा, बिजुली, मेसिन मर्मत तथा ल्याब खर्च जोड्दा उत्पादनमै २१ रुपैयाँ ५५ पैसा खर्च हुन्छ। त्यसपछि ढुवानी, गाडी ह्रासकट्टी र विक्रेताको नाफा जोड्दा लागत अझै बढ्ने गरेको छ।
उद्योगीहरूका अनुसार काठमाडौं उपत्यकामा आयातित कच्चापदार्थ केन्द्रित हुने भएकाले उपत्यका बाहिरका क्षेत्रमा दोहोरो ढुवानी खर्च थपिन्छ। यसले उपत्यका बाहिर पानीको लागत झन् महँगो पर्ने अवस्था सिर्जना भएको छ।
बढ्दो महँगी, इन्धन मूल्यवृद्धि र आपूर्ति शृङ्खलामा आएको अवरोधलाई मध्यनजर गर्दै महासंघले मूल्य समायोजनको प्रस्ताव अघि सारेको छ। प्रस्ताव अनुसार एक लिटर बोतलको पानीको खुद्रा मूल्य काठमाडौं उपत्यकाभित्र २० रुपैयाँ र उपत्यका बाहिर २५ रुपैयाँ कायम गर्नुपर्ने माग गरिएको छ। त्यसैगरी २० लिटरको जार पानीको मूल्य उपत्यकाभित्र ६० रुपैयाँ र बाहिर ८० रुपैयाँ निर्धारण गर्नुपर्ने सुझाव दिइएको छ।
महासंघले यस्तो मूल्य समायोजन नगरे उद्योगको दिगोपन नै संकटमा पर्ने चेतावनी दिएको छ। “उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आयो भने उपभोक्तालाई नियमित, सुरक्षित र गुणस्तरीय पिउने पानी आपूर्ति प्रभावित हुन्छ,” महासंघले पत्रमा उल्लेख गरेको छ।
उद्योगीहरूले सरकारसँग तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन्। एलसी खोल्ने प्रक्रिया सहज बनाउने, कच्चापदार्थ आयातमा सहजीकरण गर्ने तथा बजारअनुसार मूल्य समायोजन गर्न अनुमति दिने जस्ता उपाय तत्काल लागू गर्नुपर्ने माग गरिएको छ।
सरकारले समयमै उचित निर्णय नगरे देशभरका पानी उद्योगहरू बन्द हुने जोखिम बढ्ने र त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने उद्योगीहरूको चेतावनी छ। अहिलेको अवस्थामा उद्योग टिकाइराख्न मूल्य समायोजन अपरिहार्य भएको महासंघको निष्कर्ष छ।



















