कोहलपुर, चैत २९ पाँच वर्षदेखि लुम्बिनी क्षेत्रमा प्रयोगविहीन अवस्थामा थन्किएका विद्युतीय बसहरूलाई अब मुलुकका अन्य विमानस्थलमा सञ्चालन गर्ने तयारी गरिएको छ । पर्यटन मन्त्रालयको हालैको सचिवस्तरीय निर्णयअनुसार ती बसहरूलाई नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा, सुर्खेत, नेपालगन्ज र धनगढी विमानस्थलमा पठाइने भएको हो ।
लुम्बिनी भ्रमणमा आउने पर्यटकका लागि प्रयोग गर्ने उद्देश्यले एसियाली विकास बैंकको अनुदानमा प्राप्त पाँच वटा विद्युतीय बस र १४ वटा भ्यान करिब पाँच वर्षअघि ल्याइएको थियो । बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदूषणमुक्त क्षेत्रका रूपमा विकास गर्ने योजनाअनुसार ल्याइएका ती सवारीसाधन उचित सञ्चालन कार्यविधि, व्यवस्थापन र मर्मत अभावका कारण लामो समयसम्म खुला आकाशमै थन्किएका थिए ।
हालैको निर्णयपछि ती बसहरूलाई लुम्बिनी विकास कोषले भैरहवास्थित न्बगतब द्यगममजब क्ष्लतभचलबतष्यलब िब्ष्चउयचत मा स्थानान्तरण गरेको छ । कोषका अनुसार अब पाँचमध्ये दुई वटा बस उक्त विमानस्थलमा शटल सेवाका रूपमा सञ्चालन गरिनेछ भने बाँकी बसहरू पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी विमानस्थलमा एक–एक वटा गरी पठाइने तयारी छ ।
तर, भैरहवा विमानस्थलका अधिकारीहरूले भने उक्त बसहरूलाई स्थानीय रूपमा नै प्रयोग गर्नुपर्ने तर्क गरेका छन् । विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार विमानस्थलमै शटल सेवाका रूपमा कम्तीमा दुई वटा बस सञ्चालन गर्नु उपयुक्त हुने सुझाव दिइए पनि सबै बस बाहिर पठाउने निर्णय भएको हो । यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै शटल सेवा सञ्चालन गर्ने प्रस्तावसमेत आएको थियो । तर मन्त्रालयले अन्य विमानस्थललाई प्राथमिकता दिँदै निर्णय गरेपछि स्थानीय तहमा असन्तुष्टि देखिएको छ ।
लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन र प्रदूषण न्यूनीकरणका लागि ल्याइएका यी सवारीसाधन पाँच वर्षसम्म प्रयोगविहीन रहँदा करिब १३ करोड रुपैयाँ बराबरको लगानी निष्क्रिय बनेको छ । कोषका अनुसार लामो समय घाम–पानीमा थन्किँदा अधिकांश बसका एसी प्रणाली र अन्य महत्त्वपूर्ण पार्टपूर्जा बिग्रिएका छन् । मर्मतका लागि मात्रै करिब एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । केही भ्यानहरू पनि खराब अवस्थामा ग्यारेजमै थन्किएका छन् भने केही भ्यानहरू कोषका कर्मचारी तथा पदाधिकारीले प्रयोग गर्दै आएको भन्दै दुरुपयोगको आलोचना समेत भइरहेको छ ।
सरकारी अनुदानबाट खरिद गरिएका अत्याधुनिक विद्युतीय सवारीसाधन उचित व्यवस्थापन अभावका कारण अलपत्र पर्नु र अहिले पुनः स्थानान्तरण गरिनु योजनागत कमजोरीको उदाहरण बनेको सरोकारवालाहरूको टिप्पणी छ ।





















