२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

राप्तीसोनारीमा आधुनिक कृषि यान्त्रिकीकरण सामग्री वितरण

राप्तीसोनारी, वैशाख १५  राप्तीसोनारी गाउँपालिका र साकार कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा मकै पकेट कार्यक्रमअन्तर्गत सार्वजनिक सुनुवाइ तथा कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका वडा नम्बर ५ चिलरियास्थित गोदाम घरमा आयोजित उक्त कार्यक्रममा कृषकलाई उत्पादन वृद्धि तथा आधुनिक कृषि यान्त्रिकीकरणतर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न कृषि उपकरणहरू वितरण गरिएको हो ।

कार्यक्रममा मकै खेतीलाई व्यावसायिक बनाउन र लागत घटाउँदै उत्पादन वृद्धि गर्न आवश्यक पर्ने आधुनिक उपकरणहरू वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सो अवसरमा ९ हर्ष पावरका १० वटा मिनी टेलर, २ हर्ष पावरका १५ वटा मोटर, ४ हर्ष पावरको १ वटा मोटर वितरण गरिएको छ । यस्तै ठूलो आकारको मकै छोडाउने मेसिन १ वटा, मकै रोप्ने मेसिन ५ वटा, स्प्रे टंकी १० वटा, केही थान त्रिपाल तथा १०० केपी डेलिभरी पाइप पनि कृषक समूहलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रमलाई संयुक्त लागत साझेदारी मोडेलमा सञ्चालन गरिएको हो । गाउँपालिकाको तर्फबाट १० लाख रुपैयाँ र कृषक समूहको तर्फबाट ५० लाख रुपैयाँ लगानी गरिएको जानकारी दिइएको छ । स्थानीयस्तरमा कृषि यान्त्रीकरण विस्तार गरी उत्पादन लागत घटाउने र कृषकको आम्दानी वृद्धि गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताइएको छ । कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले कृषकलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले भने, ‘गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । मकै पकेट कार्यक्रममार्फत कृषकलाई आवश्यक उपकरण उपलब्ध गराएर उत्पादन वृद्धि र श्रम लागत घटाउने हाम्रो उद्देश्य हो । अब कृषकले परम्परागत शैलीबाट बाहिर निस्केर आधुनिक प्रविधिमा आधारित खेती गर्नुपर्छ ।’

अध्यक्ष पौडेलले कृषि उत्पादन बढेमा स्थानीय अर्थतन्त्र मजबुत हुने उल्लेख गर्दै सहकारी तथा कृषक समूहलाई पारदर्शिता र प्रभावकारी उपयोगमा ध्यान दिन आग्रह गरे । उनले वितरण गरिएका उपकरणको सही प्रयोग भएमा उत्पादनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे । त्यसैगरी कृषि शाखा प्रमुख महेन्द्र खड्काले कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया र आगामी योजनाबारे जानकारी दिएका थिए । उनले मकै पकेट कार्यक्रमले स्थानीय कृषकलाई प्रविधिमैत्री बनाउँदै उत्पादन लागत घटाउन सहयोग पुर्‍याउने बताए ।

खड्काले भने, ‘हामीले कृषकलाई केवल उपकरण मात्र वितरण गरेका छैनौँ, यसको प्रयोग, मर्मत र दीर्घकालीन उपयोगबारे पनि तालिम दिने योजना छ । यसले उत्पादनमा गुणात्मक सुधार ल्याउनेछ र कृषकलाई आत्मनिर्भर बनाउन मद्दत गर्नेछ ।’ सार्वजनिक सुनुवाइका क्रममा कृषकहरूले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै अझ धेरै प्राविधिक सहयोग र तालिमको आवश्यकता रहेको बताएका थिए । कार्यक्रमले स्थानीयस्तरमा कृषि आधुनिकीकरणतर्फ महत्वपूर्ण कदम भएको सहभागीहरूको धारणा थियो । राप्तीसोनारी गाउँपालिकाले आगामी दिनमा पनि कृषि क्षेत्रलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।