२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

बुलबुले–काँक्रेविहारमा पानी व्यवस्थापन र पर्यटन विकास सुरु

सुर्खेत, चैत ३०  वीरेन्द्रनगरमा रहेको पर्यटकीय क्षेत्रको संरक्षण र सौन्दर्यकरणलाई लक्षित गर्दै बुलबुले तालदेखि काँक्रेविहारको जंगल क्षेत्रसम्म बग्ने इत्राम खोलाको पानीलाई व्यवस्थित गर्ने काम सुरु गरिएको छ । प्रदेश राजधानी संरक्षण योजनाअन्तर्गत अघि बढाइएको यो परियोजनाले बस्ती सुरक्षा, पर्यावरणीय सन्तुलन र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

वीरेन्द्रनगरस्थित यस परियोजनाको कुल लागत १७ करोड १५ लाख ६७ हजार २० रुपैयाँ रहेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार जलजला जेटी अग्नेश इन्फ्रा जेभीबीच २०८२ पुस ३० गते सम्झौता भई काम औपचारिक रूपमा सुरु गरिएको हो । परियोजनाअन्तर्गत करिब दुई किलोमिटर क्षेत्रमा पिलर उठाएर १५ मिटर चौडाइको संरचना निर्माण गरिनेछ । इत्राम खोलाबाट बग्ने पानीलाई व्यवस्थित ढंगले निकास दिने उद्देश्यले यो काम अघि बढाइएको हो । वर्षायाममा अनियन्त्रित रूपमा बग्ने पानीले आसपासका बस्ती तथा खेतीयोग्य जमिनमा समस्या सिर्जना गर्दै आएको थियो । अब भने त्यसलाई नियन्त्रण गर्दै सुरक्षित निकास सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

बुलबुले ताल क्षेत्रलाई अझ आकर्षक बनाउन ताल विस्तारसँगै सौन्दर्यकरणका काम पनि तीव्र गतिमा भइरहेका छन् । हाल तालको क्षेत्रफल १२ हजार वर्ग मिटरबाट बढाएर २८ हजार पाँच सय वर्ग मिटर बनाइएको छ । यहाँ दुईवटा मोटरबोट सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयले बताएका छन् । त्यसैगरी ताल छेउमा चराचुरुङ्गीका लागि छुट्टै सानो ताल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ, जसको लागत १ करोड १२ लाख ३६ हजार ८६३ रुपैयाँ रहेको छ । यो संरचना पूरा भएपछि जैविक विविधता संरक्षणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

काँक्रीबिहार क्षेत्रसँग जोडिएको यो सम्पूर्ण पर्यटकीय करिडोरलाई एकीकृत रूपमा विकास गर्ने सरकारी योजना छ । काँक्रेविहारको ऐतिहासिक मन्दिर, संरक्षित जंगल र बुलबुले ताललाई जोडेर पर्यटकलाई आकर्षित गर्ने उद्देश्य राखिएको छ । बिदाको दिन यहाँ दैनिक पाँच सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । स्थानीय तथा बाह्य पर्यटकको संख्या बढाउन पूर्वाधार विस्तार र सेवा सुधार आवश्यक रहेको सरोकारवालाले बताएका छन् । परियोजना पूरा भएपछि बुलबुले–काँक्रेविहार क्षेत्र कर्णाली प्रदेशकै प्रमुख पर्यटन गन्तव्यका रूपमा अझ सशक्त हुने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।