२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

संकटमा जयेन्दु सुधारगृह संकटमा क्षमता ७५ जना, बस्छन् २०२ जना

बालबालिकालाई सुधार गर्ने उद्देश्यले स्थापना गरिएका यस्ता केन्द्रहरू आफैं अमानवीय बन्दै गएको आरोप सरोकारवालाहरूले लगाएका छन् । सुधारगृहभित्र न्यूनतम सरसफाइ, स्वास्थ्य सुविधा र खानपानको समेत उचित व्यवस्था हुन नसकेको गुनासो छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार देशभरका विभिन्न सुधारगृहमा करिब एक हजार बालबालिका रहेका छन् । तीमध्ये धेरैजसो सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका राखिएको अवस्था छ ।

 

नेपालगन्ज, वैशाख ५  बाँकेको नौबस्तास्थित जयेन्दु बाल सुधारगृह अहिले गम्भीर व्यवस्थापन संकटको सामना गरिरहेको छ । ७५ जनाको क्षमता रहेको उक्त सुधारगृहमा हाल २०२ जना बाल बिज्याइँकर्ता राखिएको अवस्था छ । क्षमता भन्दा झन्डै तीन गुणा बढी बालबालिका राखिँदा यहाँको दैनिक जीवन, सुरक्षा व्यवस्थापन र सुधार प्रक्रियामै चुनौती थपिएको छ । गत २४ भदौको राति सुधारगृहभित्र भएको हिंसात्मक घटनाले यसको कमजोर अवस्थालाई थप उजागर गरिदिएको थियो । बाल बिज्याइँकर्ताहरू भाग्न खोज्दा प्रहरीले गोली चलाउँदा पाँचजनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए । उक्त घटनामा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय विनेश घर्ती मगर, बाँके खजुराका २० वर्षीय समीर थापा, कैलालीका १९ वर्षीय जगत देउवा र दैलेखका २१ वर्षीय भूपेन्द्र खत्रीको मृत्यु भएको थियो ।

त्यही घटनाको क्रममा सुधारगृहबाट ११५ जना भागेका थिए । तीमध्ये करिब ५० जना अझैसम्म सम्पर्कमा आएका छैनन् । यसले सुधारगृहको सुरक्षा र व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।
सुधारगृह प्रमुख किशोर शर्माका अनुसार झगडा र असुरक्षाको जोखिमलाई ध्यानमा राख्दै १८ वर्षभन्दा माथिका ९ जनालाई नौवस्ता कारागारमा सारिएको छ । उनीहरूलाई कारागारभित्र छुट्टै ब्लक बनाएर राखिएको छ । ‘सुधारगृहमा हुने अधिकांश झडपमा ती व्यक्तिहरू नै संलग्न हुने गरेका थिए, त्यसैले छुट्टै व्यवस्थापन गरिएको हो,’ शर्माले भने, ‘अहिले सुधारगृहभित्र स्थिति केही शान्त छ ।’ तर मानवअधिकारकर्मीहरू भने यसलाई दीर्घकालीन समाधान मान्न तयार छैनन् । बाँकेका मानवअधिकारकर्मी भोला महतका अनुसार १८ वर्षमुनिका र माथिका बालबालिकालाई एउटै स्थानमा राख्दा मनोवैज्ञानिक र व्यवहारिक समस्या बढ्ने गरेको छ । ‘बाल सुधारगृहको मूल उद्देश्य सुधार हो, तर यस्तो अव्यवस्थित व्यवस्थाले झनै हिंसा र तनाव बढाउँछ,’ उनले भने ।

उनका अनुसार बाल बिज्याइँसम्बन्धी मुद्दा छिटो फैसला नहुँदा धेरैजसो बालबालिका १८ वर्ष नाघेपछि पनि सुधारगृहमै बस्न बाध्य हुन्छन् । यसले साना बालबालिकामाथि नकारात्मक प्रभाव पार्ने गरेको छ । जयेन्दु बाल सुधारगृह देशकै ठूलो सुधारगृह मानिन्छ । तर यहाँको भौतिक अवस्था भने निकै कमजोर छ । साँघुरा कोठा, पर्याप्त सुत्ने ठाउँको अभाव, शौचालय प्रयोगका लागि लामो लाइन, र सामान्य खेलकुद अभ्यास गर्नसमेत नपाइने अवस्था यहाँको दैनिकी बनेको छ ।

बालबालिकालाई सुधार गर्ने उद्देश्यले स्थापना गरिएका यस्ता केन्द्रहरू आफैं अमानवीय बन्दै गएको आरोप सरोकारवालाहरूले लगाएका छन् । सुधारगृहभित्र न्यूनतम सरसफाइ, स्वास्थ्य सुविधा र खानपानको समेत उचित व्यवस्था हुन नसकेको गुनासो छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार देशभरका विभिन्न सुधारगृहमा करिब एक हजार बालबालिका रहेका छन् । तीमध्ये धेरैजसो सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका राखिएको अवस्था छ । संघीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले २०८१ साल साउनमा कोशी, मधेश र लुम्बिनी प्रदेशका सुधारगृहहरूको स्थलगत अनुगमन गरेको थियो । उक्त अनुगमनपछि तयार गरिएको प्रतिवेदनले सुधारगृहहरूको अवस्था अत्यन्त दयनीय रहेको निष्कर्ष निकालेको थियो । प्रतिवेदनमा सुधारगृहहरूमा क्षमताभन्दा चार गुणासम्म बढी बालबालिका राखिएको, जसका कारण सरसफाइ, स्वास्थ्य र खानपानको न्यूनतम मापदण्डसमेत पालना हुन नसकेको उल्लेख गरिएको छ । त्यस्तै १८ वर्षभन्दा माथिका र साना बालबालिकालाई एउटै स्थानमा राख्दा सुरक्षा चुनौती र आन्तरिक झैझगडा बढेको पनि प्रतिवेदनले औंल्याएको छ ।

समितिले उमेर र कसुरको प्रकृतिअनुसार बालबालिकालाई छुट्टाछुट्टै राख्ने व्यवस्था गर्न, भौतिक पूर्वाधार सुधार गर्न, र सुधारगृहभित्र गुणस्तरीय शिक्षा, खेलकुद तथा मनोसामाजिक परामर्शको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको थियो । बालबालिकासम्बन्धी ऐन, २०७५ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुधारगृहलाई वास्तविक अर्थमा ‘सुधार केन्द्र’ का रूपमा विकास गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको थियो । साथै, कर्मचारीहरूको व्यवहार सुधार्न र बालमैत्री वातावरण निर्माण गर्नसमेत निर्देशन दिइएको थियो । तर ती सुझावहरू कार्यान्वयनमा आउन सकेका छैनन् । जयेन्दु बाल सुधारगृहकै उदाहरणले सरकारी प्रतिबद्धता र कार्यान्वयनबीचको दूरी स्पष्ट देखाउँछ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने सुधारगृह व्यवस्थापन सुधारका लागि पहल भइरहेको दाबी गरेका छन् । ‘क्षमताभन्दा बढी रहेका सुधारगृहबाट बाल बिज्याइँकर्तालाई अन्यत्र सार्ने प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘गम्भीर अपराधबाहेकका मुद्दामा सजाय घटाउने गरी ऐन संशोधनको काम पनि भइरहेको छ ।’

यद्यपि, व्यवहारमा देखिएको समस्या भने तत्काल समाधान हुने संकेत देखिँदैन । सुधारगृहभित्रको भीड, अपर्याप्त पूर्वाधार र कमजोर व्यवस्थापनका कारण बालबालिकाको भविष्य नै जोखिममा परेको छ । बाल अधिकारको दृष्टिले हेर्दा सुधारगृह सुधारको ठाउँ हुनुपर्ने हो । तर अहिलेको अवस्थामा ती स्थानहरू सजाय केन्द्र जस्तै बन्दै गएका छन् । यसले बालबालिकाको मानसिक, शारीरिक र सामाजिक विकासमा गम्भीर असर पारिरहेको सरोकारवालाहरू बताउँछन् ।  जयेन्दु बाल सुधारगृहको अवस्था एउटा उदाहरण मात्र हो । देशभरका सुधारगृहहरूमा देखिएको यस्तै समस्या समाधान नगरेसम्म बाल न्याय प्रणाली प्रभावकारी बन्ने सम्भावना कम देखिन्छ । यसकारण सुधारगृहहरूको सुधार संरचना विस्तारको विषय मात्र नभई नीति, व्यवस्थापन र मानवीय व्यवहारमा व्यापक परिवर्तन आवश्यक भएको स्पष्ट देखिन्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।