बाँके । कोहलपुरमा जेठ १ गतेदेखि प्रथम प्रदेश सभा कपअन्तर्गत ‘बाँके क्षेत्र नं. १ (ख) अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ । सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा तथा नेपाल शिक्षक महासङ्घ कोहलपुर र राप्तीसोनारीको व्यवस्थापनमा जेठ १ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय बाँकेका उपसचिव ऋषिराज शर्माले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै विद्यालयस्तरीय खेलकुद प्रवर्द्धन तथा विद्यार्थी प्रतिभा विकासका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगिता कोहलपुरस्थित कृष्ण माध्यमिक विद्यालय कौशिलानगर र गोर्खा युनाइटेड पब्लिक स्कुलको खेल मैदानमा सञ्चालन हुनेछ ।
आयोजक समितिका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले पाँच लाख, द्वितीय हुने टोलीले तीन लाख र तृतीय हुने टोलीले दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । हालसम्म प्रतियोगितामा सहभागिताका लागि ३६ विद्यालयले नाम दर्ता गराइसकेको जनाइएको छ ।
प्रतियोगिताको उद्घाटन तथा समापन लुम्बिनी प्रदेश सभा सदस्य माननीय दुर्गा चौधरीले जेठ १ गते दिउँसो ३ बजे कृष्ण माध्यमिक विद्यालय कौशिलानगरमा गर्ने नेपाल शिक्षक महासङ्घ कोहलपुरले जनाएको छ ।

प्रतियोगितामा १३ वर्षभन्दा माथि र १६ वर्षभन्दा मुनिका विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । आयोजकका अनुसार खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगिता अवधिभर प्रत्येक खेलाडीका लागि एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।
विद्यालयस्तरमै खेल प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त प्रतियोगिताले स्थानीय तहमा खेलकुद संस्कृतिको विकाससँगै विद्यार्थीहरूलाई अनुशासन, टीमवर्क र प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
















