राप्तीसोनारी, असार ११ राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९२ करोड ४२ लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारुले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताइन् ।
प्रस्तुत बजेटमध्ये चालुतर्फ ६१ करोड ६७ लाख ४२ हजार रुपैयाँ र पूँजीगततर्फ ३० करोड ७४ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँट र आन्तरिक स्रोतलाई आधार बनाइएको गाउँपालिकाले जनाएको छ । विषयगत शाखामध्ये शिक्षा क्षेत्रले सबैभन्दा ठूलो हिस्सा पाएको छ । शिक्षाका लागि ४० करोड ४४ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ, जसबाट प्रविधिमैत्री, गुणस्तरीय, समावेशी तथा रोजगारमुखी शिक्षा प्रणाली विकास गर्ने लक्ष्य लिइएको छ । स्वास्थ्य क्षेत्रका लागि ११ करोड ३ लाख २२ हजार रुपैयाँ छुट्याइएको छ ।
कृषि तथा पशुपन्छी क्षेत्रलाई प्राथमिकता दिँदै २ करोड ९८ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । यसबाट कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, उन्नत बीउबिजन प्रयोग, पशु स्वास्थ्य सेवा तथा महामारी नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । यस्तै रोजगार प्रवद्र्धनका लागि १ करोड १ लाख ४४ हजार रुपैयाँ, वन, वातावरण, खानेपानी तथा विपद् व्यवस्थापनका लागि १ करोड २५ लाख रुपैयाँ, महिला, बालबालिका तथा समावेशीकरण कार्यक्रमका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राख्दै पूर्वाधार योजना तथा एकीकृत सेवा विकास कार्यक्रमका लागि ३ करोड रुपैयाँ, सूचना प्रविधि तथा डिजिटल पूर्वाधारका लागि ५० लाख रुपैयाँ, साझेदारी प्रवद्र्धन, सामाजिक विकास, स्वास्थ्य उपचार तथा मर्मत सम्भार कोषका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरिएको छ ।
विषयगत शाखाअनुसार बजेट
– शिक्षा : ४० करोड ४४ लाख ८६ हजार रुपैयाँ
– स्वास्थ्य : ११ करोड ३ लाख २२ हजार रुपैयाँ
– कृषि : १ करोड ८२ लाख ४० हजार रुपैयाँ
– पशु सेवा : १ करोड १६ लाख रुपैयाँ
– महिला तथा समावेशीकरण : ५० लाख रुपैयाँ
– खानेपानी : ३० लाख रुपैयाँ
– सहकारी/संघसंस्था : १० लाख रुपैयाँ
– वन तथा वातावरण : १५ लाख रुपैयाँ
– विपद् व्यवस्थापन : ८० लाख रुपैयाँ
– राजस्व : ५ लाख रुपैयाँ
– पञ्जीकरण – १५ लाख ५० हजार रुपैयाँ
– रोजगार सेवा केन्द्र : १ करोड १ लाख ४४ हजार रुपैयाँ
– उद्यम विकास : १२ लाख रुपैयाँ
– कानून शाखा : १० लाख रुपैयाँ
– प्रशासन, भूमि तथा सहकारी : ७० लाख रुपैयाँ
– पूर्वाधार योजना तथा एकीकृत व्यवस्थापन : ३ करोड रुपैयाँ
– साझेदारी प्रवद्र्धन कोष : २० लाख
– सूचना प्रविधि तथा डिजिटल पूर्वाधार : ५० लाख
– स्वास्थ्य उपचार कोष : १० लाख
– सामाजिक विकास प्रवद्र्धन कोष : १० लाख
– मर्मत सम्भार कोष : १५ लाख
वडागत बजेट
गाउँपालिकाका नौवटै वडालाई समान रूपमा ९५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ । यसअनुसार वडा नं. १ देखि वडा नं. ९ सम्म प्रत्येक वडाले ९५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । वडागत कुल बजेट ८ करोड ५५ लाख रुपैयाँ रहेको छ । उपाध्यक्ष सिंहले प्रस्तुत बजेटले आर्थिक तथा सामाजिक विकास, पूर्वाधार विस्तार, वातावरण संरक्षण, विपद् व्यवस्थापन र सुशासन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै बजेट कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् ।















